बालेनका दाहिने हातले देश छाडे
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको दाहिने हात भनेर चिनिने शहरी योजना आयोगका विज्ञ सदस्य शैलेन्द्र झा राजीनामा दिएर अमेरिका उडेका छन् । गत आइतबार साँझ प्रस्थान गरेका उनले ‘द हर्बट एच हम्फ्रे फेलोसिप प्रोग्राम’ अन्तर्गत १० महिनाको पूर्ण छात्रवृत्ति पाएको स्रोत बताउँछ ।
‘गत शुक्रबार उनले महानगरमा एउटा बैठक राखेका थिए । सबैलाई यसो–उसो गर्नुस् भनेर सुझाव दिए । आइतबार साँझको फ्लाइट थियो, स्रोतले भन्यो । आयोग प्रमुख धनबहादुर बस्नेतका अनुसार झाले केही समयअगावै राजीनामा दिएका थिए् । जनआस्थासँग भने, ‘उहाँ सम्पूर्ण प्रक्रिया पूरा गरेरै जानुभएको हो । स्वीकृत पनि भइसकेको होला ।’ बालेनको कोर टिममा रहेका झा विवादित पात्रमध्येमा पर्दछन् । शहरी योजना आयोगको विज्ञ भए पनि शिक्षा विभागका गतिविधिमा बढी चासो राख्थें ।
सीप मेलाका नाममा ठूलो रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । बेरोजगार युवायुवतीलाई सीप सिकाएर कुनै रोजगारीमा आबद्ध गराउने भन्दै महानगरले यसवर्ष पनि सीप मेला आयोजना ग¥यो । अघिल्लो वर्षझैं यसवर्ष पनि उनलाई नै व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । गत वर्षको जेठ ७ गतेदेखि टुँडिखेलमा भएको सीप मेलाबाट ३५ सय बढीले सिकेको महानगरको दावी छ ।
तर, तिनीहरूले त्यहाँ सिकेर के–के गरे ? कहाँ रोजगारी गरिरहेका छन् ? कतिले आफ्नै व्यवसाय थाले ? यसको जवाफ छैन । सीप सिकाउने भन्दै महानगरबासीले तिरे करको दुरूपयोग गर्ने क्रम चलिरहेको छ । सीप मेलाको लागि गत वर्ष १० करोड विनियोजन गरिएको थियो । सो मेलाको हर्ताकर्ता झा नै हुन् । त्यहाँ कसरी खर्च गरियो ? कुन–कुन शीर्षकमा कति खर्च भयो ? कुनै लेखाजोखा नै छैन । करोडौं काम कोटेशनमार्फत दिएको भन्दै त्यतिबेलै चर्को विरोधसमेत भएको थियो । त्यो कार्यक्रम गर्दा उनको अमेरिकी राजदूतलगायतसँग राम्रो चिनजान भयो । त्यसैले फुल स्कलरसिपमा अमेरिका जाने मौका पाए’, स्रोतले भन्यो ।
महानगरभित्रका सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान गर्ने आइडिया उनकै हो । करोडौंको बोर्ड खरिद गर्ने प्रक्रिया अगाडि बढाइएकोमा अख्तियारमा मुद्दा परेको हो । मुद्दाका कारण बोर्ड खरिद स्थगित भएको शिक्षा विभाग प्रमुख इन्द्रप्रसाद दाहालले बताए । भन्छन्, ‘खरिद प्रक्रियाको विषयलाई लिएर अख्तियारमा उजुर प¥यो । त्यसपछि त्यो स्थगित छ ।’ आफूलाई शिक्षा विज्ञसमेत भनेर चिनाउँदै आएका उनकै योजनामा एजुकेशन फेस्टसमेत गरिएको थियो ।
त्यसबाट केही उपलब्धि नभए पनि महानगरको ढुकुटीबाट करोडौं रूपैयाँ स्वाहा भएको छ । यता, उनी महानगरको फौज लिएर अनुगमनमा पनि हिँड्थे । जबकि, विज्ञ सदस्यको काम अनुगमन होइन ।
झाको दादागिरी
महानगरको कार्ड भिरेर बजार अनुगमनमा निस्किने झाको केही समयअगाडि एक स्कूलका प्रिन्सिपलसँग ‘तँ तँ र म म’ नै चलेको थियो । बसुन्धरास्थित मोर्गन कलेज गएका उनले प्रिन्सिपललाई दुव्र्यवहार गरे । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अन्यले झगडालाई मत्थर पार्न खोजिरहँदा उनी ‘आगोमा घ्यु’ थप्ने काम गरिरहेका थिए । उनले औंला ठड्याएर ‘तपाईँ फटार्इं काम गर्न बन्द गर्नुस्’ भन्दै थर्काए । त्यसैगरी, प्रिन्सिपल दिपेन्द्र भण्डारीलाई ‘क्रिमिनल’ लगायत अशिष्ट भाषा प्रयोग गरे । त्यसपछि दिपेन्द्रले पनि ‘तैंले कति पढ्या छस् ?’ भनेर प्रश्न गरेको सुनिन्छ । अनुगमनमा महानगरका अवैध प्रमुख एसएसपी राजुनाथ पाण्डेलगायतको टोली थियो ।
टिप्पणीहरू