भैरहवा कम्पोस्ट बीनमा समेत अनियमितता

भैरहवा कम्पोस्ट बीनमा समेत अनियमितता

रूपन्देही सदरमुकाम भैरहवा सिद्धार्थ नगरमा बेथितिको चाङ लागेको छ । महालेखा परीक्षकले तिज, कृषि कार्यक्रममा अनियमितता भएको लेखे पनि नगरपालिकाले त्यसलाई बेवास्ता गरेको छ । २ वर्षयता आन्तरिक लेखा परीक्षणसमेत नगराएको नगरपालिकाले केही वर्षयता सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणसमेत गराएको छैन । 

कृषि शाखाको एउटा कम्पोस्ट बिन खरिदमा ५० प्रतिशतभन्दा बढी अनियमितता भएको देखिएको छ । कौसी खेतीलाई प्रवद्र्धन गर्नेगरी ल्याइएको उक्त कार्यक्रममा ब्यापक अनियमितता भएको गुनासो छ । प्रत्येक बिनको मूल्य ४,२९४ रूपैयाँ देखाइएको छ । सोहीअनुसार भुक्तानी पनि भैकेको छ ।  तर बजारमा सोही वस्तु २,०५० रूपैयाँमा सजिलै पाइन्छ । उक्त कम्पोस्ट बिन खरिदका लागि १०९ किसानले आवेदन दिएका थिए ।

तर, बजेट अभाव देखाउँदै जम्मा ६९ जनालाई मात्रै वितरण गरिएको थियो । एकातिर बजार मूल्यभन्दा डबल तिरेर खरिद अर्कोतिर आवेदन दिएका भन्दा ५० प्रतिशत कमलाई मात्रै वितरण ।

नगरपालिकाले आफ्नोतर्फबाट प्रतिकम्पोस्ट बिनमा ३,२२० रूपैयाँ ५० पैसा लगानी गरेको देखाइएको छ । तर, किसानबाट उठाइएको नगद रकम पालिकाको खातामा नराखी खरिदकर्ता—ओमसतिया गाउँपालिका–२, पड्सरीस्थित न्यु मिलन इम्पेक्सलाई बुझाइएको पालिकाका केही कर्मचारीले बताए ।

टिप्पणीहरू