वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

आजबाट लागू हुनेगरी वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार साउनको तुलनामा औसत ब्याजदर घटेको छ । 

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ५.५८ प्रतिशतमा झरेको छ । जबकि साउन महिनामा यो ५.६० प्रतिशत थियो । 

त्यस्तै, साउनमा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत बिन्दुले ब्याज दिएका बैंकहरूको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत बिन्दुमा झरेको छ । 

एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्रभु बैंकको भने त्यस्तो ब्याजदर बढेको छ । 

साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्डले भदौमा अधिकतम ५.१३ प्रतिशत ब्याज दिँदैछ । प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको छ । 

व्यक्तिगत मुद्दती निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । यो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । 

यस्तो ब्याजदरलाई स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेण्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंक छन् । सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको अधिकतम ५ प्रतिशत रहेको छ । 

पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन बैकहरुलाई नीतिगत रुपमै दबाब दिँदै आएको छ । बजारमा लगानी बढाउन भन्दै केन्द्रीय बैंकले लिएको नीतिले पुँजी पलायनको खतरा बढिरहेको विज्ञहरुले बताउँदै आएका छन् । 

विकास बैंकहरुको ब्याजदर भने स्थिर देखिन्छ । अधिकांश त्यस्ता बैंकले साउनकै ब्याजदरलाई यो महिना पनि निरन्तरता दिएका छन् ।

गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिँदै छन् । साउनमा गरिमाले ६.११, मुक्तिनाथले ६.२५, कामना सेवाले ६.१५ र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका थिए । 

अन्य विकास बैंकले समेत साउनकै ब्याजदरलाई निरन्तरता दिने संकेत देखाएका छन् ।
 

टिप्पणीहरू