सेनापतिपिच्छेका सूत्र
७ दिने सूचनामार्फत् उच्चपदस्थ सैन्य अधिकृतहरूको पद रिक्त हुन लाग्दा कसको ठाउँमा भन्ने मात्र जनाएर बढुवा सिफारिस गर्ने चलन फेरिएको छ । यो अभ्यासको पहिलो भाग्यमानी ब्रिगेडियर भोलामान थापा हुन पुगेका छन् । पद रिक्त नहुँदै सिफारिस भएका थापा जंगी असबाब महानिर्देशनालयमा कार्यरत छन् । हाकिमहरू पदावधि समाप्त हुनु १५ देखि एक महिना पहिल्यै बिदामा बस्ने चलन छ । निजामती सेवामा भने एक दिनअघि राजीनामा दिई पेन्सन बढाउने चलन छ ।
पहिले पहिले रिक्त पदमा बढुवा प्रक्रिया शुरु गर्दा प्रशासनिकलगायत विभिन्न कारणले २–३ महिना ढिलाइ हुने गथ्र्यो । यसले काममा अवरोध भएपछि पद रिक्त हुनुअगावै प्रक्रिया अघि बढाउन अग्रिम सिफारिसको चलन ल्याइएको हो । बेलैमा क्याबिनेट बैठक बस्न नसक्ने, राजनीति घुस्ने प्रधानमन्त्री र रक्षामन्त्रीको समय मिलाउन कठिन हुनेजस्ता समस्या पनि थियो । यसैकारण प्रथम श्रेणी वा सोसरहको पद खाली हुने समयावधि थाहा हुनेबित्तिकै ७ दिने सूचना निकाल्ने गरिन्थ्यो । तत्कालीन अवस्थामा बढुवा प्रक्रिया थाल्दानथाल्दै कतिपय घर जाने गरेका थिए । बेनामी उजुरी हाल्ने बाटो पनि यो सूचनाले छेकिदिएको थियो ।
यसबीच युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारी भदौ ४ गते म्याद सकिएर रिटायर्ड हुँदै छन् । ६ महिना पनि म्याद नरहेकाको कार्यावधि नथप्ने प्रचलनविपरीत ४ महिनाका निम्तिसमेत अवसर पाएका उनकै ठाउँमा बढुवा हुने गरी थापालाई सिफारिस गरिएको हो । अधिकारी साउन २० गतेदेखि बिदा बस्नुपर्ने भए पनि अफिस धाउँदै छन् । घर बस्ने सूचना उनका हकमा सकल दर्जाले पाएका छैनन् । उनकी धर्मपत्नीले पनि सेनाको कार्यक्रममा भाग लिइरहेकै छन् । पद रिक्त नहुँदै बढुवा सिफारिस गर्ने काम कानुनसम्मत नभएको पनि बताइन्छ । त्यसो त अधिकारीको जिम्मेवारीमा सुर्खेतस्थित पृतनापति अनुपजंग थापा आउने सम्भावना छ । अनिवार्य अवकाश हुनुअगावै नगरी नहुने काम बाँकी भए गैरसैनिक पोशाकमा गएर सहयोग गर्ने चलन भए पनि निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको पालामा प्रेम शाही अन्तिमसम्म बर्दीमै कार्यालय धाएका थिए । त्यसबापत उनलाई एकपटक हेडक्वार्टरमा ठिंग्याइएको दावी स्रोतको छ ।
दम्पती नै माथि
यसैबीच, एकतारे जर्नेल हिक्मत बिष्टको एक साताअघि मात्रै विदेशी मिसनमा रहेकै बेला दुई तारे जर्नेलमा बढुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चोकबहादुर ढकाल अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनलाई बढुवा दिएको हो । ढकाल स्टाफ कलेजका प्रमुख थिए ।
बढुवाको दज्र्यानी चिह्न लगाएका बिष्ट भदौ १ गते कार्यक्षेत्रतिर फर्किने बताइन्छ । उनकी अधिवक्ता पत्नी शर्मिला पनि गत हप्ता उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी छन् । शर्मिला पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको नातेदार रहेको बताइन्छ ।
टिप्पणीहरू