अर्काका छोराको बाउ खोज्दै मेयर
दार्चुलाको नौगाड गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको सरुवा माग गरिएपछि शैल्यशिखर नगरपालिकामा मेयर रहेका बुवा विजय सार्वजनिक रूपमै गालीगलौजमा उत्रिएका छन् । नौगाड गाउँपालिकाका केही स्थानीयले सोमबार दार्चुलाका प्रजिअ अनिल पौडेलमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग हाकिमको सरुवा माग्दै निवेदन दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा माग गरिएको समाचार शेयर गर्ने शैल्यशिखर नगरपालिकाका एक स्थानीयलाई मेयरले सामाजिक सञ्जाल फेसबुकमा गाली गरेका हुन् । गोपाल भट्ट नामक स्थानीयले मालिकार्जुन खवर डटकमको समाचार फेसबुकमा शेयर गरेका थिए । ‘तिमी आफ्नो बाउको छोरो होइनौ, कुनै अर्को जँड्याहाले राती जन्माएको मान्छे रहेछौ’ भन्दै मेयर धामीले कमेन्ट लेखेका छन् ।
त्यही दिन कांग्रेस र रास्वपाका कार्यकर्ताले हाकिम सरुवाको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । प्रशासकीय अधिकृत पुष्कर लामो समयदेखि एउटै पद र स्थानमा रहँदा सेवाप्रवाहमा समस्या भइरहेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । लोक सेवाबाट अधिकृत परीक्षा पास गरेपछि धामीले २०७८ चैत्रमा नौगाड गाउँपालिकामा नियुक्ति पाएका थिए ।
छिमेकी गाउँपालिकामा कार्यरत हाकिम छोरोको सरुवा माग भएपछि मेयर उत्तेजित बनेका देखिन्छन् । उनी नौवटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखमध्ये सबैभन्दा बढी उमेरका छन् । छैठौं दशकमा जीवन बिताइरहेका उनले बेलाबखत सामाजिक सञ्जालमार्फत् गाली र आक्रोश पोख्ने गरेका छन् । यसअघि आफ्नै नगरपालिका क्षेत्रमा ६५ प्रतिशत जनता मूर्ख रहेको स्टाटस राखेका थिए । नेकपा एमालेबाट निर्वाचित मेयर सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् ।
टिप्पणीहरू