विद्या–केपी विवादमा अरूको विमर्श
आइतबार पोखरामा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी, गण्डकी प्रदेशको विशेष विस्तारित बैठकमा केही रोचक परिदृश्य देखा परे । शुरुमै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य साथीहरूसँग भरे छुट्टै बसौँला । अहिले यहाँ कुनै विवादका वा अन्य कुरा नगरौँ, यो बैठकलाई पूरापुर महाधिवेशनमा केन्द्रित गरौँ ’ भन्ने प्रस्ताव राखे । त्यसो भएपछि बैठकमा धेरै कुरा चलेनन् । गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले बैठकमा भएका कुरा मोबाइलमा रेकर्ड नगर्न र भिडियो नखिच्न निर्देशन दिए । यसरी कम्युनिष्टहरूको बैठकभन्दा बढी फलामे अनुशासनमा बसेर छलफल गर्नुपर्ने अवस्थामा पूर्वपञ्चहरू पुगे ।
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चरम विवाद छ । राजेन्द्र लिङदेन, धवलसमशेर र उनको गुटका केही नेतालाई पार्टीबाट लगभग हटाउने मनस्थितिमा पुगिसकेको समाचार स्रोतको दावी छ । राति ११ बजे फेसबुक स्टाटस लेख्नुको अर्थ त्यही हो भनेर राप्रपाका नेता–कार्यकर्ताहरू विश्लेषण गरिरहेका छन् । त्यति मात्र होइन काठमाडौँको बत्तिसपुतलीस्थित होटल तपसमा उनले आफ्ना निकटस्थहरू मात्रै राखेर छुट्टै भेलासमेत गरे । त्यो भेला पार्टी कार्यालयमै बोलाएको भए अर्थ बेग्लै लाग्थ्यो । तर, स्वयं राजेन्द्र लिङदेनले नै कार्यालय बाहिर भेला बोलाएर नयाँ खालको सन्देश प्रवाह गरिरहेका छन् ।
उता रूपन्देहीको चुनावमा समेत अनौठो प्रतिस्पर्धा देखिएको छ । दीपक बोहराको दुई श्रीमतीका छोराहरूबीचको प्रतिस्पर्धा एकातिर छ भने स्वयं बोहराले चाहिँ तेस्रो व्यक्तिलाई समर्थन गरेका थिए । जेठीतर्फका छोरा गौरव काठमाडौँमै बस्ने र बारम्बार रूपन्देही गइरहनेमा पर्छन् । अर्कै पट्टिका छोरा प्रजल अमेरिकामा बसेका हुन् । फर्केपछि राजनीति नै गर्ने भनेर हिँडेका छन् । समाचार स्रोत भन्छ, ‘तर दीपक बोहराले अगाडि बढाउन खोजेको पात्रचाहिँ स्वाती थापा हुन् । साइनोमा दीपक थापाकी नातिनी पर्छिन् ।’
स्वातीलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मा दिएका छन्, राजेन्द्र लिङ्देनले । उनी पार्टीको केन्द्रीय सदस्यसमेत हुन् । यसरी हेर्दा स्वातीलाई राप्रपाले आफ्नै ढंगले ग्रुम गरिरहेको देखिन्छ । त्यसो त दीपक बोहरालाई श्रीमतीहरूले छोरालाई केन्द्रीय सदस्य बनाउनुप¥यो भनेर दबाब दिएको पहिलेदेखि नै राप्रपाका नेताहरूले बताउँदै आएका छन् ।
गत निर्वाचनमा एमालेसँगको सहकार्यमा परेका तीन नेता राजेन्द्र लिङ्देन, धवलसमशेर र दीपक बोहरा थिए । एमालेले यिनलाई छोडिदिएबापत अन्य धेरै ठाउँबाट राप्रपाको मत लिएको थियो । यसरी केपी ओलीसँग सम्बन्ध बनाएर चुनावी लाभ लिएका लिङ्देनको अहिले उनीसँग बढेको दूरीलाई समेत नेताहरूले नक्कली भन्ने गरेका छन् । राप्रपाका एक नेताले जनआस्थासँग भने, ‘जसरी केपी ओली र विद्या भण्डारीको अहिलेको विवाद नक्कली हो । त्यसैगरी राजेन्द्र लिङ्देन र केपी ओलीबीचको लफडा पनि नक्कली नै हो ।’ केपी र विद्याको संघर्षलाई नक्कली भन्ने ठम्याइको आधार के हो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘भारत र पश्चिमलाई बेवकुफ बनाउन झगडा गरेजस्तो गरेका हुन् ।
चिनियाँहरूको बलियो कम्युनिष्ट पार्टी बनोस् भन्ने इच्छा छ । प्रचण्ड भरपर्दो मान्छे हुन सकेनन् । ओली झन् भरपर्दा भएनन् । विद्या भए भरपर्दो हुन्थिन् भन्ने उनीहरूको ठहर छ रे ! त्यसो हुनाले अहिले नै उनीहरू मिलेको देख्दा भारत र कांग्रेस दुवै बिच्किने हुँदा झगडा गरेजस्तो देखाएका हुन् ।’ राप्रपा नेताहरूका अनुसार भोलि पार्टीको चरम विवादमा पुगेजस्तो देखाएर फेरि अब के गरौं भन्दा सबैले विद्यालाई जिम्मा दिऊँ भन्ने र त्यो रायलाई केपी ओलीले शिरोधार्य गरेझैँ गरी चुनावको मुखमा पार्टीलाई फेरि पुनर्जागृत गर्ने सिर्जनाअन्तर्गत खेल चलिरहेको हो ।
उनीहरूको के पनि बुझाइ छ भने त्यसपछि केपी ओली राष्ट्रपति बन्नेछन् र विद्याले पार्टी चलाउने छिन् । तिनै नेताहरूको विश्लेषण के छ भने चीनले कतिपय मुलुकमा सत्ता परिवर्तन गरे पनि टिकाउन नसकेको अनुभवबाट पाठ सिकेको छ । उनीहरू श्रीलंकामा सत्ता परिवर्तन गरेर टिकाउन नसकेको, त्यसैगरी माल्दिभ्समा पनि आफ्नो अनुकूलतामा राख्न नसकेको जस्ता उदाहरण पेश गर्छन् ।
(जनआस्था साप्ताहिकको साउन २८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू