पूर्वराजाकी भतिजी झण्डै पक्राउ
चैत १५ को तीनकुने हिंसात्मक घटनाका आरोपितहरू आदालतको आदेश लिएर धमाधम छुटिरहँदा सोही घटनामा निर्मल निवासका एक सदस्य पक्राउ पर्नबाट बालबाल जोगिएको सूचना प्राप्त भएको छ । राजावादी आन्दोलनका लागि आर्थिक व्यवस्थापन गरेको तथ्य खुलेपछि पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजी सिताष्मा शाहलाई सोधपुछका लागि नियन्त्रणमा लिने तयारीबाट अन्तिम समयमा सरकार पछि हटेको जानकारी उच्च स्रोतले दिएको हो ।
एक पत्रकारसहित दुई जनाको ज्यान जानेगरी भएको तीनकुने हिंसामा निर्मल निवास संलग्नता रहेको आशंकामा सरकारले अनुसन्धान अघि बढाएको थियो । त्यस क्रममा पूर्वराजाको तर्फबाट सिताष्माले नै स्रोत व्यवस्थापन र परिचालन गरेको खुल्यो । स्रोतका अनुसार राप्रपा महामन्त्री धवलसमशेर राणाको कल डिटेल्सबाट उक्त तथ्य पत्ता लागेको हो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसबारे जानकारी गराइयो र सिताष्मालाई समात्ने योजना बन्यो ।
तर, पूर्वराजाको परिवारका सदस्यलाई पक्राउ गर्दा पर्नसक्ने प्रभावबारे छलफल हुँदै जाँदा शुरुमा ज्ञानेन्द्रका संवाद सचिव डा. फणिराज पाठकलाई सोधपुछमा झिकाउने निर्णय भयो । संविधानले नचिन्ने ‘श्री ५ महाराजाधिराज’ भनेर किन विज्ञप्ति निकालेको भन्दै असार २७ गते उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा उपस्थित गराइएको थियो । बिहान प्रहरी नियन्त्रणमा पुगेका उनी साँझ आइन्दा ‘श्री ५ महाराजधिराज’ नलेख्नेलगायत तीन बुँदे कागज गरेर छुटे । उप्रान्त फेसबुकबाट संविधानले नचिन्ने भाषामा म्यासेज सम्प्रेषण नगर्ने मात्र होइन, यसरी पोष्ट गरिएको सामग्री हटाउने शर्तसमेत मञ्जुर गरेर पाठक निस्कनुको कारण भने सिताष्मालाई पक्राउ पर्नबाट जोगाउनु थियो । किनभने प्रहरीसँग अड्डी कसेको भए शिताष्मा समातिने निश्चित थियो । उक्त सूचना पाएको निर्मल निवासबाट पाठकलाई हुकुम भयो– प्रहरीले जे–जे भन्छन् खुरुखुरु मान्नु अनि छुटेर आउनू ।
सिताष्मा पूर्वराजा ज्ञानेन्द्रका भाइ धीरेन्द्रकी माइली छोरी हुन् । उनका श्रीमान् अभिनेश शाह धेरै अगाडि बितिसके । दरबार हत्याकाण्डमा वीरेन्द्र र धीरेन्द्रको परिवारका अधिकांश सदस्य मारिँदा जोगिएकी यिनको ठूलो बुबा ज्ञानेन्द्रसँग राम्रो सम्बन्ध छ । ठूलोबाको विश्वास जितेकै कारण राजावादी आन्दोलनका लागि दरबारबाट पठाउने रकम परिचालन गर्ने र त्यसको हिसाब राख्ने जिम्मा उनैले पाएकी हुन् ।
‘धवलसमशेर र उनको कल डिटेलबाट त्यो देखिएपछि समाउने योजना थियो । त्यसअघि फणिलाई समातियो र ऊमार्फत सिताष्मालाई पनि अनुसन्धानमा तान्ने भएपछि पूर्वराजाको आदेशमा उनले प्रहरीले जे–जे भन्यो त्यसैमा कागज गरिदिए र उताको पनि प्रक्रिया रोकियो’, दरबारनिकट स्रोत भन्छ, ‘र, यहीअन्तर्गत आन्दोलनको ‘फिल्ड कमाण्डर’ बनाएर खटाइएका दुर्गा प्रसाईलाई पनि अदालतले सफ्ट कर्नर राखेर छोडिदियो ।’
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू