अखिलको झगडा देशभरि छताछुल्ल

अखिलको झगडा देशभरि छताछुल्ल

शुभ बिहानी सम्पूर्णमा,
बिहान आँखा खोलेको, फेसबुक भरी बधाई देखेँ
खै के के आयो सर्कुलर, हामीलाई पनि पठाउनुभएको भए राम्रो हुन्थ्यो ।

                                       – अञ्जना शिवाकोटी, उपाध्यक्ष, अनेरास्ववियु

सर्कुलर मैले पनि पाइन, आएको हो त...?
मनलाग्दी गर्न पाइन्छ ?
कसैको बिर्ता हो अखिल ?
लाज शरम छैन ?

                                         – विकास श्रेष्ठ, उपाध्यक्ष, अनेरास्ववियु

यी भनाइ अनेरास्ववियुका उपाध्यक्षहरूको हो । श्रावण १६ गते सर्कुलर जारी गरिएपछि असन्तुष्ट केही नेता–कार्यकर्ताले बजार तताएका छन् । 

अखिलका कार्यकर्ताले ग्रुपमा भएका कुराकानीको स्क्रिनसट गरेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि, अनेरास्ववियुको गतिविधि नजिकबाट नियालिरहेका एक पूर्वनेता भन्छन्, ‘अहिलेका नेता–कार्यकर्ता निकै आलोकाँचा र केटाकेटी भए, कम्तीमा पनि के बाहिर (न) ल्याउने र के गोप्य राख्ने भन्ने बुझ्नुपथ्र्यो । प्रशिक्षण पुगेको देखिएन, यो विषयमा संगठनले तत्कालै एक्सन लिनुपर्ने भयो ।’ 

एमालेको भ्रातृ संगठनले २४ औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकद्वारा तय कार्ययोजना र नयाँ कमिटीको सचिवालय तथा प्रदेश, जिल्ला र विभिन्न विश्वविद्यालय, क्याम्पस इञ्चार्ज, जिल्ला संयोजक तथा क्याम्पस कमिटीका अध्यक्षहरू (३२ वर्षभन्दा तलकालाई) तोकेको छ ।गत जेठ ३१ गते केन्द्रीय कमिटी र असार (१४–१६) सचिवालयको बैठक बसेपछि सर्कुलर जारी गर्न ठ्याक्कै १ महिना लागेको हो । 

धुलिखेलको पहिलो सचिवालय बैठकले महाधिवेशनबाट निर्वाचित सचिवालय सदस्यहरूको कार्यविभाजन गर्न नसकेपछि पदाधिकारीहरु औपचारिक–अनौपचारिक रूपमा पटकपटक बसे । श्रावण ३ गते शनिबार केन्द्रीय कार्यालय रातोघर, भृकुटीमण्डपमा बसेको पदाधिकारीको तेश्रो पूर्ण बैठकले अध्यक्ष र महासचिवलाई यसको सम्पूण अधिकार दिएछ ।एक सचिवालय सदस्य भन्छन्, ‘आफूले नसकेर अध्यक्ष र महासचिवलाई जिम्मा दिने अनि उपाध्यक्षलगायतले रोइलो गर्ने ?’

समिक शून्य, नरेशका मान्छे कर्नरमा

नयाँ टिमको पदाधिकारीमा निवर्तमान अध्यक्ष समिक बडालले आफ्ना एक जनालाई पनि ठाउँ मिलाउन सकेनन् । नयाँ टिमले जारी गरेको सर्कुलरमा नरेश रोकायानिकट भनेर चिनिएका कार्यकर्तासमेत कर्नरमा परेका छन्् । एक पदाधिकारीका अनुसार नरेशले ‘मैले बनाएको अध्यक्ष सुजनले मेरो कुरा मान्छ, अबको १÷२ दिनमै सर्कुलर जारी हुन्छ, मेरा भाइहरूले महत्वपूर्ण जिम्मेवारी पाउँदै छन्’ भनेर बागमती करिडोरमा गफ दिने गरेका थिए । तर, सर्कुलर आउँदा तिनले ढिम्किन नपाएपछि अहिले नरेश डा. सुजन कडरियासँग क्रुद्ध भएका छन् । स्रोतका अनुसार नरेशले उपाध्यक्ष विकास श्रेष्ठलाई प्रयोग गरेर सर्कुलर पठाउन ढिलाइ गर्ने, महासचिवले पठाउने सर्कुलरमा अध्यक्षलाई सही गराउन हदैसम्म कोसिस गरेका थिए ।

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन सकिएको लगभग २ महिना हुन लाग्यो । बर्गर हाउस शंखमूल, डाउन एण्ड डक्स, सामुराई स्पा (बानेश्वर) या कुनै कफी सपमा अखिल नेता तथा कार्यकर्ता भेट हुनासाथ चर्चा भैहाल्ने एउटा विषय छ, त्यो हो गत जेठमा डा. सुजन कडरिया ७ मतले मात्र विजयी हुनु ।

भानुभक्त ढकालले बन्दसत्र हलबाट सर्वसम्मतको घोषणा नगरी निर्वाचन प्रक्रिया शुरु भयो भनेर ढ्वाङ थापेको भए डाक्टरले १०० भन्दा धेरै मतान्तरले जित्ने दाबी गर्छन् एकथरी । हार्ने पक्षचाहिँ जम्मा चार जना तान्न सकिएन भन्दै थकथकी मानिरहेका छन् ।

निवर्तमान नेत्रीहरु

१०/११ बजेतिर एमाले मुख्यालय च्यासल आउने, नेतालाई अंकल र दाइ भन्ने, चमेनागृहमा बस्ने, गोलघर आसपास फोटो खिच्ने र फेसबुकमा पोस्ट गरिहाल्ने । बेलाबेलामा टिकटकसमेत बनाउने । फलानो त हाम्रो विपक्षमा लेख्छ, फोटोमा लाइक–कमेन्ट नै गर्दैन र खासमा तिनले हाम्रो टिमलाई पछि सहयोग नै गर्दैनन् ।

यी र यस्तै खाले विषयवस्तुमा ट्याक्स र भ्याट थपेर चुक्ली लगाउने, नेतासँग टाँसिएर बस्ने, फाटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने खेल निकै मौलाएको छ अहिले । तीमध्ये कोही महाधिवेशनमा पराजित भएकाहरू र कोहीचाहिँ ३२ वर्षको उमेर हदपछि अनिवार्य अवकाशमा परेकाहरू छन् । 

यसमा बढीचाहिँ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश स्थायी घर भएकाहरू छन् ।

(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू