धमाधम कमरेडहरु बस्न थाले माैन

धमाधम कमरेडहरु बस्न थाले माैन

विद्या भण्डारीलाई राजनीतिमा सक्रिय बन्न बन्देज लगाइएपछि अब एमालेभित्र फरक मत राख्नेहरूको अवस्था के होला ? के त्यहाँ विद्रोहको कुनै सम्भावना छैन ? विद्या भण्डारीले मदन भण्डारी फाउण्डेसनमार्फत समानान्तर पार्टी सञ्चालनको अभ्यास गर्लिन् ? वा, अब विद्या भण्डारी र उनका सहयोगीहरूको पार्टीमा नयाँ नेतृत्व स्थापित गर्ने चाहना मरिचझैँ चाउरिन बाध्य बनेको अवस्था हो ? सत्तारुढ एमालेको अन्तरपार्टी कलहबारे आम नागरिकमा उठेका जिज्ञासाहरूको सूची हो यो । 

एमालेभित्रकै केही नेता भन्छन्, ‘अब म्याडमको च्याप्टर क्लोज्ड भइसकेको छ । आसन्न विधान अधिवेशनमा कसै कसैले फ्लोरबाट यो घटनाबारे संकेत गर्दै मधुरो स्वरमा बोल्लान् । नत्र अब यसबारेको बहस नगर्दा नै समयको सही सदुपयोग हुन्छ ।’ विद्या भण्डारीको आगमन अनिवार्य छ भन्ने एक नेताले भने, ‘स्थिति जटिल बन्यो । 

पछिल्लो पार्टी निर्णय न्यायसंगत भएन भनेर सामाजिक सञ्जालमा लेख्नेहरूलाई समेत खोजीखोजी सचेत गराउन थालिएको छ । तपाईँ पार्टी निर्देशनलाई अवज्ञा नगर्नुस् भन्दै चेतावनीयुक्त शैलीमा नेताहरूबाट फोन आउने गर्छ ।’ यसरी फरक मतलाई गला नै निमोठ्न मिल्ला र ? भन्ने जनआस्थाको जिज्ञासामा अध्यक्ष निकट एक नेताले भने, ‘हेर्नुस्, हाम्रो पार्टी कम्युनिष्ट पार्टी हो । जतिसुकै लोकतान्त्रिक भनिए पनि यो पार्टीमा माथिको निर्णय मान्नुपर्छ, मान्दिन भन्नेलाई जुनसुकै बेला कारबाही हुन सक्छ ।’ 

पछिल्लो प्रकरणले केचाहिँ प्रष्ट पार्यो भने केपी ओली र विद्या भण्डारी एकअर्काका परिपूरक हुन् भन्ने पार्टी पंक्तिमा स्थापित भाष्य मिथ्या साबित भएको छ । एमालेमा केपी ओली र विद्या भण्डारी दुवैलाई एउटै पसलबाट दुई प्याकेट लड्डु किनेर बुझाउन जाने अनि म त हजुरकै मान्छे हुँ भन्दै विश्वास दिलाउन खोज्ने नेता–कार्यकर्ताको निकै ठूलो पंक्ति छ । अहिले विद्या भण्डारीको निर्णय कमजोर साबित भएसँगै त्यस्ता नेताहरूले ओलीको भक्तिगान गाउन थालेको देखिएको छ । 

त्यसो त यसअघि मन्त्री बनेका धेरैले ‘बा र आमा’ दुवैलाई अलगअलग ढोग्ने गरेकै थिए । ओली निकट नेताहरूको भनाइ छ कि यदि विद्या भण्डारीले अध्यक्षमै उठ्छु नभनिहालेको भए उनलाई सम्मानित पद दिएर सहकार्य गर्न केपी ओली तयार थिए । तर, अब भने परिस्थिति पूरै फेरिएको छ । यसको अर्थ केपी ओली अझ कठोर बन्ने देखिएको छ । 

त्यसो त ओलीको रौद्र रूप देखेपछि ईश्वर पोखरेलको नै स्वर बदलिएको छ । उनले पूर्व राष्ट्रपतिको सदस्यता सखाप पार्ने निर्णयमा नोट अफ डिसेन्टसमेत लेखेनन् । ईश्वर पोखरेल अहिले ‘के सोचें मैले, के भयो अहिले’ भन्ने अवस्थामा पुगेको भन्दै ओली निकट नेताहरू खुच्चिङ गरिरहेका छन् । यदि अब पनि कर्ण थापा चुप लागेनन् भने केपी ओलीले उनलाई पक्कै पनि कारबाही गरेर बदला लिन्छन् भन्नेमा नेताहरू निश्चिन्त छन् । अहिले नै कारबाही गर्दा विद्यालाई साथ दिएका कारण कारवाही गरिएको सन्देश जान्छ भनेर मात्र रोकिएको अवस्था छ । सायद त्यही संकेत पाएर होला कर्ण थापा धेरै नरम बनिसकेका छन् । 

धेरै नै मुखरित बनेका ठूला नेता मात्र होइन आनन्द पोखरेल, गोकुल बाँस्कोटाले पनि घुमाउरो पारामा बोल्न र लेख्न थालेका छन् । ओली पक्षधरहरूको अर्को ठम्याइ के पनि छ भने विद्या विलक्षण प्रतिभाशाली व्यक्ति होइनन् र उनले आएर नेतृत्व सम्हाल्दैमा पार्टीको छवि अर्कै बन्ने वा संगठनिक राजनीतिको कायापलट नै हुने कुनै सम्भावना छैन । तर, उनी अध्ययनशील रहेकोमा चाहिँ बहुसंख्यक नेताहरू सहमत छन् । नेपालको विकासदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषणसम्मका क्षेत्रमा जमेर बहस गर्न सक्छिन् । 
उनले मदन भण्डारी फाउण्डेसनलाई प्रयोग गरेर समानान्तर संरचना कायम राख्ने सम्भावनासमेत अब दह्रो नरहेको ओली निकट नेताहरूको विश्लेषण छ । यसबीच कतिपय एमाले नेताले कुरा फेर्न थालिसकेका छन् । हालै गठित स्टेरिङ कमिटीमा आफूलाई नसोधी राखिएको हुनाले नबस्ने भन्दै असहमति जनाउनेमध्ये एक हुन्, भक्तपुरका अध्यक्ष वचन देउजा । ईश्वर पोखरेलका सहयोगी दिपेन्द्र श्रेष्ठले लेखमार्फत् फाउण्डेसनमा नरहेको जनाएका छन् । त्यसो त विद्याभण्डारी एमालेका एकथरि नेताहरूको पिर बिसाउने चौतारीचाहिँ अवश्य पनि रहिरहने छिन् ।

यी सबै तथ्यका बाबजुद कार्यकर्ता, समर्थक र शुभेच्छुकको डर यत्ति हो कि यसरी पार्टी नै लगभग दुई चिरा पर्ने गरी प्रकट भएको विद्या भण्डारी प्रकरणले सिङ्गो एमाले विभाजित बन्दा आगामी निर्वाचनमा त्यसले क्षति पु¥याउने पक्का छ । एमालेकै एक थरि नेताले चुनावमा अर्का थरिलाई हराउन भूमिका निर्वाह गर्नेमा त झन् शंकै छैन ।

(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू