दिनदिनै देउवाका दुःख

दिनदिनै देउवाका दुःख

ओली नेतृत्वको सरकार बदलेर नयाँ सरकार बनाउने प्रस्ताव माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालगायतका दलले पटकपटक राख्दासमेत कांग्रेस सभापति शेरबहादुर देउवाले त्यो विषयमा ध्यान दिएका छैनन् ।

उनले किन यी झिना मसिना दलहरूलाई बेवास्ता गरेका होलान् ? स्रोतका अनुसार किन त्यसो गरिरहेका छैनन् भने अहिले आरजु राणा ओली सरकारको महत्वपूर्ण हिस्सा बनेकी छन् । अनि केपी ओलीले पनि शेरबहादुर देउवाको बोली काटेर कुनै काम गरिरहेका छैनन् । यस्तोमा नेतृत्व फेरेर देउवाले खासै लाभ लिन सक्ने देखिँदैन । त्यत्ति हो– ओली हटाउँदा उनी अहिले नै प्रधानमन्त्री बन्छन् । तर, एउटै क्याबिनेटमा श्रीमान–श्रीमती बस्ने कुरा शोभनीय हुँदैन र आरजुले बाहिरिनुपर्ने हुन्छ । 

कांग्रेसका उच्च नेता के भन्छन् भने अहिले नै देउवा पत्नीलाई पार्टी सभापति दिइहाल्न सक्ने अवस्थामा छैनन् । त्यसैले आफू प्रधानमन्त्री बनेपछि त्यसको समेत प्रभावमा आरजुलाई महामन्त्री वा उपसभापतिमध्ये कुनै एक महत्वपूर्ण पदमा लैजाने तयारीमा छन् । त्यसैले पनि शेखर कोइरालासँग सम्बन्ध सुधारेर आरजुको पद सुरक्षित गर्ने योजनामा रहेको अनुमान छ । 

देउवाले आफ्नै गुटमा रहेका र विगतमा आफूलाई समर्थन गरेकालाई समेत गन्न छोडेका छन् । उनीहरूले असन्तुष्टिका बोली बोल्नुबाहेक केही गर्न नसक्ने र तिनलाई लत्याएर हिँड्दासमेत आफ्नो केही नबिग्रने निश्कर्षमा उनी पुगेको एक नेताले जनआस्थालाई बताए । विमलेन्द्र निधि, प्रकाशमान सिंह, सशांक कोइराला, गोपालमान सिंहजस्ता नेताको हैसियत शेरबहादुर देउवाका लागि सामान्य परिवारका सदस्यको जस्तै हो, जो केही गर्न सक्दैनन् र बेलाबेला घुक्र्याउँछन् । पार्टी राजनीतिमा यिनीहरूले केही बिगार्न सक्दैनन् र आफ्नो स्वार्थपूर्तिको लागि आत्मसमर्पण गर्नुबाहेक उनीहरूसँग अन्य विकल्प छैन भन्ने पनि देउवालाई राम्रैसँग थाहा छ । १४औं महाधिवेशनमा शेरबहादुरलाई समर्थन गरेकै दिन यी सबैको राजनीति समाप्त भएको हो ।

कृष्ण सिटौला पनि विपक्षमा उभिएकै हुन् । तर जसै उनीहरूले शेरबहादुरलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए, पछि लाग्ने कार्यकर्ताले अब यिनीहरुबाट राजनीतिक संरक्षण हुन सक्दैन भन्ने बुझे । उदाहरणको रूपमा लिनलाई विमलेन्द्र निधिको सबैभन्दा निकट पात्र हुन्, रामसरोज यादव ।

कुनै समय मधेसमा मुख्यमन्त्रीको दावेदार थिए । तर उनै अहिले बिमलेन्द्रलाई छाडिदिएर शेखर कोइरालाको गुटमा पुगे । ठीक यस्तै अवस्था प्रकाशमानको छ । अब काठमाडौँमा प्रकाशमानले फेरि चुनाव जित्न सक्ने अवस्था छैन । रवीन्द्र मिश्रले जित्न नसके पनि कुनै अर्को पात्रले बाटो छेक्ने लगभग निश्चितजस्तै छ । काठमाडौँका कांग्रेसको लागि प्रकाशमानसिंह अब बलियो स्तम्भ होइनन् । 

शेरबहादुरलाई नजिकबाट चिन्ने नेताहरु भन्छन्, ‘यिनी शरीरलाई निस्तेज गरेर चीर निन्द्रामा परेजस्तो अभिनय गर्नसमेत खप्पिस छन् । तर जब ब्रह्मनालमा पुर्‍याइन्छ तब यसरी उठ्छन् कि त्यसपछि उनका हरेक चालले सबैलाई ढाल्छ ।’ तर पछिल्लो समय उनी शेखरसँग मिलेर अघि बढ्ने र दुवैको जित हुने गरी नयाँ राजनीतिक खेल खेल्ने मानसिक तयारीमा रहेको निकटहरूले विश्लेषण गरिरहेका छन् । 

(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू