जर्नेल झुण्डियपछि बल्ल छर्लङ्ग
मुलुकको कानुनले बहुविवाहलाई पूर्णतः निषेध गरेको छ । तैपनि, लुकीछिपी एउटी हुँदाहुँदै अर्की ल्याउने कार्यमा पूर्णविराम लाग्न सकेको छैन । कानुन बुझेकाहरूले नै बहुविवाह गरिरहेको अवस्था छ । तीनतारे जर्नेल बलदेव महत, जो पूर्वराष्ट्रपति रामवरण यादवको एडिसीसमेत भए, उनले बहुविवाह गरेका थिए । घरमा पत्नी हुँदाहुँदै अर्कीलाई लुकाएर राखे । तर, आफू जीवित हुञ्जेल यो कुरालाई लुकाएरै राखे ।
पह्रार उनले आत्महत्या गरेपछि मात्रै सो कुरा बाहिरिएको थियो । कान्छीपट्टिबाट जन्मिएका एउटा छोरालाई उनले सेनामा भर्तीसमेत गरिसकेका थिए । यता, धादिङमा एउटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र कक्षा १२ पढाउने शिक्षिकाबीच प्रेम बस्यो । दुुवैले विवाह गरेर बच्चा जन्मिएपछि मात्र पहिलो श्रीमतीले थाहा पाइन् । त्यसपछि अदालतको ढोका ढक्ढक्याउन पुगेकी उनलाई होस्टाइल गराइयो । बहुविवाह गर्ने ती शिक्षकले अदालतबाट सफाइ पाए ।
यी त नमुना मात्र हुन् । घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने र परपुरुषसँग रमाउनेहरू प्रशस्तै छन् । तर, उनीहरू कानुनको हातबाट जोगिएको विडम्बनापूर्ण अवस्था छ । ठूलाबडाहरूले बहुविवाह गरेर पनि उन्मुक्ति पाइरहेका छन् । कारण हो–फितलो कानुन । हाल त्यही कानुनलाई पनि संशोधन गरेर झनै फितलो बनाउन खोजिएको छ । जसको चर्को विरोध भइरहेको छ । सरकारले दोस्रो विवाह सहज हुने गरी कानुन बनाउँदैछ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ मा संशोधन गरी शर्तसहित विवाहित पुरुषलाई दोस्रो विवाहको अनुमति दिनेगरी मस्यौदा तयार पारेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय आलोचनाको घेरामा परेको छ । र, महिलालाई समेत कस्नेतर्फ कानुन संशोधन हुने क्रममा छ ।
एउटी श्रीमती हुँदाहुँदै अर्को श्रीमती ल्याउनु बहुविवाह हो । पुरुषले बहुविवाह गरेमा कानुन आकर्षित हुन्छ । तर, महिलाले श्रीमान्लाई छोडेर अर्को विवाह गरेमा सितिमिती मुद्दा लाग्दैन । महिलाहरूले दोस्रो विवाह गर्दा बालबच्चाको बिचल्ली भएका धेरै उदाहरण छन् । पुरुष होस् या महिला, विना जायज कारण बहुविवाह कसैका पनि हकमा स्वीकार्य हुनुहुँदैन । दोस्रो विवाह गर्ने महिलालाई पनि पुरुषसरह कारबाही हुन जरुरी छ ।
नेपाल पुरुषप्रधान मानसिकता भएको देश हो । अहिलेपनि समाजमा त्यो सोच कायमै छ । त्यस्तो अवस्थामा बहुविवाहसम्बन्धी कानुन ल्याउनु सामान्य विषय होइन । आफ्नो अधिकारका लागि महिलाहरूले गरेको लामो प्रयासपछि बल्लतल्ल कानुन बनेको हो । बहुविवाहसम्बन्धी कानुनले महिलालाई केही राहत दिए पनि सो कानुन गोलमटोल छ ।
२०७५ भदौ १ गतेदेखि मुलुकमा बहुविवाह गर्न रोक लगाइयो । तैपनि विवाहेत्तर सम्बन्ध राख्ने क्रम भने रोकिएको छैन । दफा १७५ को उपदफा (१) ले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ । भनिएको छ,‘विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नुहुँदैन ।’ त्यसो गरेमा एकदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।
त्यसलाई संशोधन गरेर विधेयकको मस्यौदामा ‘विवाहित पुरुष’ को साटो ‘कुनै पनि विवाहित व्यक्ति’ ले भन्ने राखिएको छ । त्यसैगरी, उपदफा २ मा भएको व्यवस्था खारेज गरिएको छ । पहिलो श्रीमती हुँदाहुँदै अर्को विवाह गरेमा दोस्रोसँगको सम्बन्ध स्वतः बदर हुने प्रावधान छ । हाल कार्यान्वयनमा रहेको सो कानुन एकदमै फितलो रहेको एक अधिवक्ताले बताइन् । उनका अनुसार बहुविवाहको मुद्दामा अदालतबाट बढीमा एक वर्ष कैद सजायँ गरिन्छ ।
एक वर्ष कैद सजायँ पाएकालाई छुट सुविधा छ । उनले भनिन्,‘बहुविवाहको केसमा एकदेखि पाँच वर्ष सजायँ हुने व्यवस्था छ । अधिकांशको हकमा एक वर्ष सजायँ हुन्छ । त्यो पनि छुट सुविधा लिन्छन्, जेल नै जाँदैनन् ।’ अधिकांश महिला श्रीमानले अर्को विवाह गरे पनि चुप लागेर बस्ने उनको जिकिर छ । घरबार बिग्रिने डरले उनीहरू आफूमाथि भएको अन्याय सहेरै बस्ने ती अधिवक्ता बताउँछिन् ।
भन्छिन्,‘मुद्दा हालेर के गर्नु, निस्किहाल्छन् । आफ्नै घर बिग्रिने हो भनेर धेरै मुद्दा हाल्न डराउँछन् । मुद्दा हालेपछि घरपरिवारले हेर्दैन, कहाँ जानु भन्ने हुन्छ । हालेपनि जाहेरवालीलाई होस्टाइल गरिन्छ । जसले गर्दा जाहेरवालीले मुद्दा फिर्ता लिन्छन् ।’ मुद्दा दायर गरेपछि श्रीमानको अंशमा जेठी श्रीमतीले दाबी गर्न पाउँदिनन् । यता, जेठी श्रीमतीलाई क्षतिपूर्ति पनि दिइँदैन ।
अदालतले विवाह बदर गरिदिए पनि श्रीमान् कान्छीसँगै गएर बस्ने भएकाले जेठी ‘घर न घाट’ को हुने उनको भनाइ छ । बहुविवाह गर्नेलाई हुने कैद सजायँ थप हुनुपर्ने उनी बताउँछिन् । तीनदेखि १० वर्ष बनाएमा मात्रै बहुविवाह गर्न डराउने उनको बुझाइ छ । ‘बहुविवाह गर्नेलाई केही हुँदैन । जेठी श्रीमती र सन्तान मात्रै मर्नु न बाँच्नुको स्थितिमा पुग्ने हुन् । जेठीले श्रीमानको सम्पत्तिमा दावी गर्न पाउँदिनन् । श्रीमान त कान्छीसँग बस्छ, मोजमस्ती गर्छ । बहुविवाह गर्नेलाई तीनदेखि १० वर्ष थुनामा राख्नेगरी कानुन बनाउनुपर्छ अनि मात्र डराउलान्’,उनले भनिन् ।
बाझिने कानुन
मुलुकी देवानी संहिता, २०७४ र मुलुकी अपराध संहिता, २०७४ मा भएको व्यवस्था बाझिने खालको छ । एउटाले बहुविवाह गर्न रोक लगाउँदा अर्कोले बहुविवाहबाट जन्मिएको बच्चालाई बुवाबाट प्राप्त हुने सम्पूर्ण अधिकार दिने व्यवस्था गरेको छ । देवानी संहिताको दफा ७४ को उपदफा (१) मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने उल्लेख छ । दफा ७५ ले विवाह बदर भए पनि जन्मिसकेको शिशुको कानुनबमोजिमको हक हुने व्यवस्था गरेको छ ।
लेखिएको छ,‘दफा ७२ बमोजिम विवाह बदर भएमा वा दफा ७३ बमोजिम विवाह बदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेको वा दफा ७४ को उपदफा (२) को अवस्थामा जन्मिएको शिशुको कानुनबमोजिमको हकमा कुनै असर पर्ने छैन ।’ त्यसको अर्थ बहुविवाहबाट जन्मिएको बच्चाको नागरिकता, अंशलगायतका कानुनी अधिकार बुवाको नाममा प्राप्त हुनु हो । यसले कानुनले बहुविवाह गर्न रोक लगाए पनि बच्चा जन्माउन भने छुट दिएको देखिन्छ ।
टिप्पणीहरू