जेलमा भेट्दा दुर्गाजी ठोक्ने हो भन्नुहुन्थ्याे
नेकपा एमालेतिरझैं राप्रपामा पनि ‘कोतपर्व’ जारी छ । पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङ्देनले गृहजिल्लावासी केपीकै शैली पच्छ्याउँदै विरोधीहरूलाई धमाधम ठेगान लगाइरहेका छन् । महामन्त्री धवलसमशेरबाट संगठनको विभागको जिम्मेवारी खोसिएको छ भने उपाध्यक्ष मुकुन्दश्याम गिरी त बर्खास्तै भए । धवल खेमानिकट मानिएका प्रवक्ता सगुनसुन्दर लावती जिम्मेवारीबाट हटाइएका छन् भने बयोबृद्ध नवराज सुवेदी लठ्ठी टेकेर न्याय खोज्न बहादुर भवन पुगेका छन् । तर, यी घटनाक्रमलाई ठूलो इस्यु मान्दैनन्, दीपक सिंह । भन्छन्, ‘कांग्रेस, एमाले, माओवादीलगायत शीर्षस्थ दलभित्र देखिएको अन्तरकलहको अगाडि राप्रपाको विवाद केही होइन, दुर्ई–चार घण्टा मन माझ्ने हो भने सहजै समस्या समाधान हुन्छ । सिंह अघिल्लो निर्वाचनमा सूर्य चिह्नबाट लडेका कमल थापा र गठबन्धनकी डिना उपाध्यायलाई पराजित गरेर मकवानपुर–१ बाट पहिलो पटक संसदीय राजनीतिमा पसेका हुन् । २५ वर्षसम्म पटक पटक निर्वाचन लडेर पराजित भए पनि राजनीतिमा हार नखाएका उनी २४ वर्षको उमेरमा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष थिए । प्रचण्डको प्रधानमन्त्रीत्वकालमा राजेन्द्र लिङ्देन ऊर्जामन्त्री हुँदा राज्यमन्त्री चलाएका उनी अहिले संसदको विकास तथा पूर्वाधार समितिमा सभापति छन् ।
– हरि गजुरेल
० राप्रपा विवादको जड के हो ?
– यो आगामी मंसिरमा हुने अधिवेशनका लागि देखाइएको स्टण्ट हो । अनुशासन समिति नवराज सुवेदी आफैंले छोडेपछि उहाँको ठाउँमा अर्काेलाई नियुक्ति गर्दा उत्पन्न भएको विवाद हो । अध्यक्षले नियुक्त गरेको व्यक्तिले काममा ढिलाइ गर्न र अध्यक्षलाई नै अप्ठ्यारोमा पार्ने देखिएपछि केही पदाधिकारीलाई विधानले दिएको अधिकारअनुसार नै निष्कासन गर्नुपरेको हो ।
० धमाधम संस्थापनइतरका नेताहरूलाई कारवाहीको डण्डा हान्नुलाई स्वाभाविक र अध्यक्षको अधिकार भनेर उम्किन मिल्ला र ?
– महामन्त्री धवलसमशेरको पद खोसिएको धेरै पहिले हो । उहाँ संगठनको विभागको प्रमुख त हो तर क्यान्सरजस्तो नराम्रो रोगले गाँजेको । संगठनलाई चुस्त, दुरुस्त बनाउने सिलसिलामा उहाँलाई आराम दिनै पर्यो । विधानअनुसार, पद विभाजनको अधिकार अध्यक्षसँगै हुन्छ, त्यस कारण उहाँलाई हटाएर बुद्धिमान तामाङलाई राखिएको छ । कार्यसम्पादन समितिमा यही कारण ठूलो विवाद पनि भयो । लावतीको बिषयमा उहाँको नियुक्ति अध्यक्षले नै गर्नुभएको हो । उहाँ पार्टी अध्यक्ष र ट्रयाकभन्दा बाहिर गएको कारणले निकालिएको हो । गिरी पनि केन्द्रीय सदस्य हुँदै उपाध्यक्षमा अध्यक्षले नियुक्त गर्नुभएको हो । अध्यक्षको विरोधमा मिडियाबाजी गरेपछि निकालिभएको हो ।
० तपाईंहरूको मंसिरमा हुने महाधिवेशन लक्ष्यित गरी विरोधीहरूलाई ठेगान लगाउन खोजिएको त होइन ?
– यदि, पार्टी अध्यक्षले गलत कुरा गरेको भए महाधिवेशनमा त्यसको भारी बोक्नुपथ्र्याे । मिडियाबाजी गर्दै निर्वाचन आयोग धाउनु जरुरी थिएन ।
० नवराज सुवेदी लठ्ठी टेकेरै निर्वाचन आयोग पुग्नुपर्ने अवस्था किन आयो त ?
– पूर्वअध्यक्षद्वय पशुपतिसमशेर र डा. प्रकाशचन्द्र लोहनीकै अगाडि नवराज सुवेदीले बोल्नुभएको छ कि ‘म पार्टीको साधारण सदस्य पनि बस्दिन’ त्यसपछि नै माननीय रोशन कार्कीलाई कार्यवाहक तोकिएको हो । अहिले के कति कारणले हो नवराजजी अन्याय भयो, पुन : नियुक्ति पाउनुपर्छ भनेर निर्वाचन आयोग जानुभएको ? घरझगडामा बैरीलाई खेल्न दिएपछि के हुन्छ ? निर्वाचन आयोग जानुपूर्व कार्यसम्पादन समितिमा बसेर छलफल गर्न सकिन्थ्यो । यसमा नवराज एक्लैको भूमिका छ भन्ने लाग्दैन । डाक्टर लोहनी जो निर्देशन समितिको संयोजक पनि हुनुहुन्छ । उहाँले घरभित्रको समस्या घरैमा सामाधान गर्नुपर्नेमा किन सिधै निर्वाचन आयोगमा लगेको ? मतलब, यो भित्र केही न केही खिचडी पाक्दै छ ।
० डा. प्रकाशचन्द्र लोहनीकै कारण अन्तर कलह निस्किएको हो त ?
– जब यो पार्टी अलि अलि सुध्रिन्छ, ट्रयाकमा हिँड्न थाल्छ तब तब टुक्र्याउने खेल हुने गरेको छ ।
० तर, महामन्त्री धवलसमशेरले जनआस्थासँग भनेका छन् कि ६/६ पटकसम्म अध्यक्षको घरमा जाँदा पनि सुनुवाइ भएन ?
– महामन्त्रीजस्तो मान्छेले पार्टीको मिटिङ्ग राखेर पो कुरा छिनोफानो गर्नुपर्ने होला नि ! दश पटक अध्यक्ष निवासमा पुगेको भए छिनोफानो गर्ने ठाउँ त त्यो होइन होला नि !
० यो विवादले राप्रपालाई विभाजनकै डिलमा पुर्याउने त होइन ?
– यो कुनै ठूलो विवाद होइन । कांग्रेस, एमाले, माओवादीमा पो के हुन बाँकी छ र ?
० एकै पटक एमाले, कांग्रेस, माओवादी, समाजवादी, नाउपादेखि राप्रपाभित्रको कलह छरपष्ट हुनु के को संकेत हो ?
– सत्ता आफूले हत्याउन चलिरहेको शक्ति संघर्ष । एउटाले अर्काेलाई पछारेर आफ्नो बाहुल्य कायम राख्ने । अन्य दलमा हेर्नुहोस् त तँ यो पक्ष, म ऊ पक्ष, ऊ चीनको, म भारतीय पक्षको भन्नेमा कित्ताकाट र लडाइँ छ ।
० राजसंस्था पुनःस्थापनाको आन्दोलनमा नवराज सुवेदीलाई उभ्याउने योजना तपाईंहरूकै हो कि पर्दापछाडि अरू कोही थियो ?
– राप्रपा नेपाल स्थापना भएदेखि हामीले बोकेर हिँडेको मुद्दा हो यो । हाम्रा कतिपय कार्यकर्ता मारिए, काटिए, जिल्ला जिल्लाबाट पलायन भए, केही विदेश पुगे । त्यति हुँदा पनि हामी एक इञ्च तल–माथि भएनौं । अहिले त राप्रपा नेपाल र राप्रपा एकढिक्का भएका छौँ ।
० तपाईंहरूको यो व्यवस्था उल्टाउने आन्दोलन तुहियो हैन त ?
– ढाँटेर कुरा गर्नुहुँदैन, हाम्रा पनि केही कमीकमजोरी रहे । जुन तरिकाबाट आन्दोलन गर्नुपर्दथ्यो त्यो गर्न सकिएन । त्यसलाई करेक्सन गरेर चाडबाडपछि अन्तिम आन्दोलनको तयारीमा छौँ ।
० राप्रपाजस्तो ठूलो शक्ति दुर्गा प्रसाईंको पछि लाग्दा आन्दोलनै तुहिने स्थिति किन बन्यो होला ?
– राप्रपाले बोकेको मुद्दा प्रचण्डले बोक्छ भने हामी उनलाई मान्छौँ । दुर्गाजीले बोक्दा सहयोग नगर्ने प्रश्न उठ्दैन । हिजो हामीले यो मुद्दा बोक्दा औँलामा गन्न मिल्ने मान्छे मात्र थिए । आज बहुदलवादीसहित गणतन्त्रवादी र अन्य शक्तिलाई सडकमा उतार्न सकेका छौँ । मैले कारागारमा गएर भेट्दा दुर्गाजीलाई रात पार्ने फटाहाहरूलाई सभ्य तरिकाले बोल्दा पच्दैन, ठोक्नुपर्छ भन्नुहुन्छ भन्छन् ।
० अघिल्लो पटक सूर्य चिह्न लिएर तपाईंविरुद्ध निर्वाचनमा होमिएका कमल थापालाई राप्रपामा भित्र्याउने पक्षमा हुनुहुन्छ ?
– हिजो हामीलाई गोली हान्ने माओवादी साथीहरूलाई सिन्दुर, माला, खादा लगाएर पार्टीमा ल्याएका भने कमल थापाजीलाई मात्रै ढोका थुन्ने त प्रश्नै छैन ।
० मुसा आउने जाने गर्दा जोगिएला ?
– यो मुलुकमा कुनचाहिँ शीर्ष नेताको चरित्रमाथि प्रश्न उठेको छैन र ? हेर्नुहोस् त चाहे क्रिकेट हेर्न जाँदा होस् वा फुटबल हेर्न – जता गयो उतै चोर आयो भन्छन् । कसलाई बाँकी राखेका छन् त भन्न ? अनि यी नेताहरूले के मात्र बाँकी राखेका छन् र खान ? अब अरु बिषयमा अल्झने समय पनि छैन ।
० मशानघाटमा पुगेको राजा र राजतन्त्र फर्काउन सकिन्छ भनेर कसैले भन्छ भने त्यो व्यापार मात्रै हो भन्नेहरूलाई के जवाफ दिनुहुन्छ ?
– जसले मशानघाटमा राजा भन्छ उसको दिमाग र मति सकिइसकेको छ, भन्नुपर्छ । के आज कांग्रेस, एमाले, माओवादीले राम्रो गरेका छन् ? जनताका बीचमा गरिएका वाचा बन्धनहरू के कति पूरा गरेका छन् ? ती देशका सपुत हुन् कि कपुत ? भुक्यो भन्दैमा हात्तीले कुकुरलाई कहिले पनि लखेट्दैन ।
० विकास समितिको सभापतिका हैसियतमा १५ चैतको घटनापछि खोसिएको पिएसओ फिर्ता पाउनुभयो ?
– मलाई कुनै पिएसओको जरुरी छैन । म जहाँ बस्छु सशस्त्रपट्टिको सुरक्षाकर्मी पाउँछु तर मैले लिएको छैन । जिल्ला जिल्लामा जाँदाखेरि मात्र पिएसओ बोक्ने हुँ । अहिले मकवानपुरमा छु । मैले कालो खाएको छैन ।
० बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने लफडालाई कसरी लिनुभएको छ ?
– म र मेरो पार्टीले पटक–पटक प्रदेश संरचना खारेज गर्नुपर्छ भन्दै आएको छ । यो करप्सनको इपिसेन्टर हो । यस्ता संरचना खारेज गरेर अधिकार जति स्थानीय निकायलाइ दिनुपर्छ । कार्यकर्ता भर्ती र उपभोक्ता समितिका नाममा मच्चाइएको अर्ब अर्व रकमको लुट स्वास्थ्य, शिक्षा र रोजगारीमा लगाउनुपर्छ । निःशुल्क शिक्षा, स्वास्थ्य गरिनुपर्छ ।
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू