पुटिन–ट्रम्प बैठकअघि चिनियाँ राष्ट्रपतिसँग पुटिनको टेलिफोन वार्ता
चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । वार्ता पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्भावित शिखर बैठकको पूर्वसन्ध्यामा भएको जनाइएको छ ।
चिनियाँ टेलिभिजन सीसीटीभीले पुटिनले राष्ट्रपति सीलाई अमेरिका र रूसबीच हालै भएको संवादबारे जानकारी दिँदै चीनसँग घनिष्ठ समन्वय कायम राख्न रूस तयार रहेको जानकारी दिएकोबारे उल्लेख गरेको छ ।
प्रत्युत्तरमा राष्ट्रपति सीले अमेरिका–रुस संवादलाई स्वागत गर्दै दुई देशबीच हुने सम्बन्ध सुधारमा समर्थन जनाउनुभएको छ । युक्रेन संकटको राजनीतिक समाधानतर्फ प्रगति हुन आवश्यक रहेको भन्दै उक्त प्रक्रियामा सहकार्य जारी राख्न चीन प्रतिबद्ध रहेको टेलिफोनवार्तामा उल्लेख छ ।
सीले जटिल समस्याको समाधान सरल नहुने उल्लेख गर्दै क्षेत्रीय द्वन्द्व समाधानका लागि चीनले संवाद प्रक्रिया सहज बनाइरहने प्रतिबद्धता जनाउनुभएको छ ।
उता क्रेमलिनले हिजो दिएको जानकारीमा राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यसम्बन्धी छलफलका लागि केही दिनभित्र भेट गर्ने सहमति गरेको उल्लेख छ । ट्रम्प प्रशासनले रूसलाई युक्रेनमा युद्धविरामका लागि आजसम्मको समयसीमा दिँदै अन्यथा थप कडा प्रतिबन्ध लागु गरिने चेतावनी सार्वजनिक गरेको थियो ।
टिप्पणीहरू