सक्किने कि सच्चिने ? तपाइँकै मर्जी शीरोपर
पहिले केही उदाहरण लिऊँ । प्रचण्डमाथि जनार्दनको प्रश्न, एस पार्टीभित्र झाँक्री, झलनाथहरूको सवाल र एमालेमा चर्केको विद्या प्रकरण, राप्रपाको लफडा र नाउपाको घरायसी विवाद । झट्ट सुन्दा यस खाले विवाद हुनु राजनीतिको स्वाभाविक पक्ष हो । सजिलै भनिदिने हो भने, राजनीतिमा बेलाबेला यस्तो भइरहन्छ । तर अहिले नै किन यस्तो ? सवाल योचाहिँ हो ।
यसो विचार गरौँ त । माधवकुमार नेपालले झलनाथ खनालललाई पार्टी छाडेर गए हुन्छ सजिलै कसरी भनिदिए ? केपी ओलीले विद्या भण्डारीको सदस्यता नै किन गायव पारिदिए ? राजेन्द्र लिङ्देनले धवलसमशेरहरूमाथि के सोचेर कारवाहीको डण्डा बर्साए ? यस्ता तर्कको कारण खोतल्ने हो भने मनोज बोगटीको त्यही विचारनेर पुगिन्छ । र, भन्न बाध्य भइन्छ कि यहाँ विचारभन्दा आचारलाई प्राथमिकता दिइन्छ र चटपटे, फुइयाँ अनि ढुंग्रीको स्वादमा रमाइन्छ । दार्जिलिङका लेखक मनोज बोगटीले भनेका छन्, ...राजनीति, जो पोखरीको हिलोपानीमा जमेर बसेको छ । यस हेराइबाट हेर्दा देखिन्छ अलिक भिन्न । छक्कापञ्जा ३ की नायिका सिष्टम बदल्न त्यही सिष्टमभित्र पस्छिन् । उनले भनेकी छन्, ...सिष्टमसँग लड्न बाहिर बसेर सम्भव छैन । सिष्टमभित्रै पस्नुपर्छ । सिके प्रसाईंंले आजको सरल राजनीतिमा लेखेका छन्, ...राजनीति आठ आना मात्र हो । तर यहाँ राजनीतिले यसरी गाँज्यो कि न हिलोपानी सफा भयो, न सिष्टम नै बस्यो । आठ आना राजनीतिले सोह्रै आना राज गर्यो । अनि नेतृत्व तानाशाह जस्तै बन्दै गयो र आफूभन्दा परक मत राख्नेलाई भन्यो, बस्न मन नलागे छाडेर गए हुन्छ ।
पुष्पकमल दाहाल अझै अर्क क्रान्ति गर्ने पक्षमा छन् । केपी ओलीका जुँगा काला भएर आएको निकै भइसक्यो । शेरबहादुरको सात पटक प्रधानमन्त्री बन्ने जोग छ । उनले आफ्नी श्रीमती जोगाउनै एमालेसँग मिल्नुपर्ने भो । शेखर कोइराला र कृष्ण सिटौला अनि गगन थापा र विश्वप्रकाशहरू हेरेको हेर्यै । भ्रष्टाचारको मुद्दा लाग्दा पनि माधवकुमार नेपालले नेतृत्व छाडेनन् । न त्यतिबेला रामकुमारीहरू प्रभारी भए, न वामदेव गौतमले केही गर्न सक्छन् । माओवादीभित्र नेतृत्व हस्तान्तरणको बहस सेलाउँदै गयो । विद्या भण्डारी फ्याक्टरले एमालेमा कति हलचल ल्याउँछ, हेर्न बाँकी छ । राजेन्द्र लिङ्देनमाथि उर्लिएका पूर्वपञ्चहरूले अब के गर्लान् ? यस्ता प्रश्न गर्तकै रूपमा छन् । तर यसखाले प्रश्न तीर बनेर ठाडिएको दिन कसरी आउला ? त्यतिञ्जेल त्यो फोहोर राजनीतिको पोखरीमा लेउ लागिरहला कि सफा पनि बन्ला ?
जसले प्रधानमन्त्री पद त्यागे, उनै गणेशमानका पुत्रको त्यो लालसा, क्या गजव छ ! माओवादीमा जनार्दन शर्माहरू सुरक्षित रहलान् ? बिन्दा पाण्डे, उषाकिरण र कर्ण थापाहरूले त्यो नवीन सोच कहिलेसम्म बोक्लान् ?
आजको यो अलमलले एक हदसम्म सही दिशा नलिएसम्म यस्तै हो । हरेक खराबीका पछाडि असल पक्ष लुकेको हुन्छ । रातहरू सधैँ त्यत्तिकै रहँदैनन्, उसलाई चिर्न उज्यालो आउँछ । यो आजको तरल राजनीतिको चित्र हो, जहाँ नेतृत्वले आफूलाई भयंकर ठान्छ । हुन त हात्तीले आफूलाई मुसो ठानेको छ र ? न सिंहले जंगलको राजा नभएको बहाना गर्छ । त्यही भएर केपी पक्षधरले विद्या भण्डारीलाई रोके । राप्रपामा असली राजतन्त्रवादी किनारामा छन् । माओवादीमा बहस छैन, हस् मात्र रह्यो । समाजवादी अब एस मात्र भयो । किनभने राजनीति, फोहोर पोखरीमा हिलो बनेर बसेको छ । कांग्रेसमा महाधिवेशनको बहस छ । एमालेभित्र त्यसको रडाको छ । दुबैलाई सत्ता टिकाउनै पर्ने बाध्यता छ । किनभने सत्ता बाहिर बसेर महाधिवेशन गर्दा त्यहाँ परिणाम अर्को आउँछ । त्यो परिणामले सत्तालाई उलटफेर पार्छ । शासन र प्रशासनको जग हल्लिन्छ ।
गणेशमान पुत्रले एक ठाउँमा भनेछन्, ...म यहाँसम्म आइपुगेँ । अब पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्न चाहन्छु । राम्रो तर्क हो यो तर मूल्यहीन । मूल्यबिनाको वस्तु र आचरण बिनाको राजनीतिको कुनै अर्थ हुँदैन । जसले प्रधानमन्त्री पद त्यागे, उनै गणेशमानका पुत्रको त्यो लालसा, क्या गजव छ ! जब माओवादीमा जनार्दन शर्माहरूले फरक विचार राखे, के उनीहरू त्यहाँ सुरक्षित रहलान् ? यस्तै सोच राख्ने घनश्यामहरू एमालेमा अटाएनन् । अहिले पनि त्यहाँ बहस छ । बिन्दा पाण्डे, उषाकिरण र कर्ण थापाहरूले त्यो नवीन सोच कहिलेसम्म बोक्लान् ? दश भैयाहरू मौकाको प्रतीक्षामा देखिन्छन् । भीम रावल बन्न को चाहला र त्यहाँ ?
नेता बूढा भए । अब उनीहरूलाई बिदा गरौं भन्ने तर्क व्यापक छ । ठीक छ, उमेरले विचार र राजनीतिलाई छेक्दैन । सोच र चिन्तन गर्न अझ परिपक्व बनेकै राम्रो । अनुभव र ज्ञान ढिलै आउँछ । हरेक फूल फक्रेपछि नै फुल्छ । पाकेर खाएकै फल मीठो हुन्छ । तर, यसो भन्दैमा त्यो फलको मिठास र फूलको सुन्दरतामाथि नजर लगाउनुपर्दैन ? एकपटक मलायामा युद्ध लडेका भिसीहरूले फेरि त्यो युद्ध लड्न सक्लान् ? अहँ, गाह्रो छ । तैपनि यहाँ भनिन्छ, सकिन्छ ।
चीनमा दङ स्याओपिंग, मलेसियामा महाथिर मोहम्मद, सिंगापुरमा लि क्वान युले रचेको इतिहास यहाँ रचिएला ? भनिन्छ, उनीहरू पनि बूढै थिए । म भन्छु, मान्छे बुढो हुनु एउटा प्रक्रिया हो तर विचार र योजना ठूलो हुन्छ । हामीले यस अवधिमा न असल विचार बोक्यौं, न असल नेता । त्यही चुनावदेखि चुनावसम्मको रटान लगायौं । परनिर्भरता बढायौं । देशलाई संसारकै कमजोर आर्थिक अवस्था भएको ठाउँमा पुर्यायौं । अनि फेरि उनै बफादार कार्यकर्ता भन्छन्, देशमा धेरै विकास भएको छ । त्यही तर्क प्रधानमन्त्रीको छ, अब यो देश विकासशील देशको सूचीमा जाँदै छ । देश विकासशील भएर के फरक पर्छ, जनतालाई ? त्यसो हुँदैमा नेपालमा पूर्वपश्चिम रेलमार्ग बन्छ ? कुस्मामा रेल स्टेशन होला ? दमकको टावरमा बजार लाग्ला कि त्यो टिकट काटेर रतुवाको बगर हेर्ने ठाउँ मात्र रहला ?
घण्टी पार्टीले २५ लाख हस्ताक्षर गराएछ । त्यो एउटा विद्रोह नै हो । जनताले यी खराव शासक र बिग्रेको शासन प्रणालीबिरुद्ध आवाज पोख्ने ठाउँ भयो त्यो । आजको मान्छेले बन्दुक उठाएर विद्रोह गर्न सक्दैन । विवेकशील मान्छेले अभिव्यक्त गरेका कतिपय विचार अनेक शैलीबाट आउन सक्छन् । चाहे त्यो झलनाथको आक्रोश होस् या कर्ण थापाको अथवा जनार्दन शर्माको नै किन नहोस् । ती सबै समयका आवाजहरू हुन् । त्यो एउटा पोखरीमा जमेर बसेको हिलो पखाल्ने प्रक्रिया हो, जसले आजको राजनीतिलाई तरल बनाइदिएको छ ।
सिष्टममा बसेर कि हटेर, जसरी भए पनि त्यसमा सबै जानै पर्छ । त्यो पोखरीको हिलो पखाल्न अब नेपाली राजनीतिको दोश्रो, तेस्रो पुस्ताले आँट गर्नुपर्छ । जनार्दन शर्मा, रामकुमारी झाँक्री र कर्ण थापाहरूको प्रयास त्यही हो भन्ने मेरो मत छ । उनीहरूले आजको पुस्ताको आवाज बोलेका हुन् । आजको राजनीति सरल रेखामा बगेको छैन । सक्किने कि सच्चिने ? आगे तपाईंं नेताकै मर्जी !
टिप्पणीहरू