शक्ति र नन्दबहादुर जनार्दनलाई घेर्ने हतियार

शक्ति र नन्दबहादुर जनार्दनलाई घेर्ने हतियार

करिब ४० वर्षदेखि नेकपा माओवादीमा एकछत्र राज छ पुष्पकमल दाहाल प्रचण्डको । पञ्चायतकालीन भूमिगतकाल, १० वर्षे सशस्त्र संघर्ष, २०६२÷६३ पछिको गणतन्त्र, २०७२ यताको नयाँ संविधानकाल– देश यी सबै कालखण्डबाट गुज्रिसक्दा पनि माओवादीमा नफेरिएको नाम हो प्रचण्ड । पञ्चायतकालीन भूमिगत समयदेखि नै आफूविरुद्ध दुई लाइन संघर्ष चर्काउने एकपछि अर्को नेतालाई गद्दार, धोकेबाज, क्रान्तिका बाधक आदि आदि नाम दिएर उनले पाखा लगाए । 

सशस्त्र संघर्षका सहयोद्धा डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लवसहितका नेता बाहिरिँदा पनि प्रचण्डलाई फरक परेको छैन । चाहे माओवादी २०६४ मा २२९ सिट जितेर अजंगको पहाडजस्तो होस् या २०७९ मा ३२ सिटमा खुम्चिएर मरिच चाउरिएजस्तो किन नहोस् । 

प्रचण्डले आफूलाई अनवरत माओवादीको सत्तामा टिकाइरहेका छन् । जतिसुकै ठूलो घेराबन्दी भए पनि नडग्मगाएका उनैलाई चार वर्षयता उपमहासचिव जनार्दन शर्मा प्रभाकरले कडा चुनौती दिइरहेका छन् । माओवादीभित्र अंकगणितीय हिसाबमा भलै जनार्दनले प्रचण्डलाई टक्कर दिन सक्दैनन् तर पछिल्लो समय पार्टीभित्रदेखि बाहिरका सार्वजनिक मञ्चमा समेत घेराबन्दी बढाउँदै लगेका छन् । आफूमात्रै प्रचण्डविरुद्ध उभिएका उनले पछिल्लो समय निकट नेताहरू सुदन किराती र शिवकुमार मण्डलसहितलाई पनि मुखर बनाएका छन् । 

माओवादीका भ्रातृसंगठन अखिल क्रान्तिकारी र वाईसीएलहरूमार्फत् प्रचण्डलाई कडा चुनौती दिइरहेका जनार्दनले २०७८ पुसको आठौं महाधिवेशनयता संस्थागत रुपमै असन्तुष्टि राख्दै आएका छन् । महासचिवका दाबेदार उनलाई प्रचण्डले गुट चलाएको आरोपमा उपमहासचिवमै खुम्च्याइदिएका छन्  । प्रचण्डले आफ्नो लाइनविरुद्ध जान नसक्ने देव गुरुङलाई महासचिव बनाएर पार्टीमा आफ्नो पकड राखिरहेका छन्  । यो अवस्थामा जनार्दनले ४ वर्षयता पार्टी बैठकको ‘माइन्युट’मै हस्ताक्षर नगरेर प्रचण्डप्रतिको असन्तुष्टिलाई निरन्तरता दिइरहेको पाइन्छ ।

आठौँ महाधिवेशनताका चीनमा उपचाररत वर्षमान पुनलाई महासचिव बनाउने प्रचण्डको योजनामा जनार्दन नै तगारो बनेका थिए । त्यसबेला शर्मालाई महासचिवमा रोक्दै वर्षमानलाई पर्खिन प्रचण्डले आफूबाहेकका पदाधिकारी नै चुनेनन् । वर्षमान चीनबाट आएपछि मात्रै अन्य पदाधिकारी चयन प्रक्रिया अघि बढाइयो । 

आठौं महाधिवेशनमा प्रचण्डले रोकेपछि जनार्दन मूल नेतृत्व नै फेर्नुपर्ने अभियानमा लागेका छन् । आफ्नो मन्त्रिपरिषदमा विश्वास गरेर गृह र अर्थमन्त्रीसमेत राखिएका शर्माको अभियानले प्रचण्ड उनीमाथि कारबाही र स्पष्टीकरणको तहसम्म पुग्ने अवस्थामा देखिन्छन् । गत शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा प्रचण्डले आफूनिकट केही नेता उतारेर जनार्दनमाथि दबाबसमेत बढाएका छन् । आठौँ महाधिवेशनपछि माइन्युटमासमेत हस्ताक्षर नगरेका शर्मालाई प्रचण्डले मनपरी गरिरहने भए पार्टी छाडेर जानसेमत चुनौती दिएको अवस्थामा आइतबारको स्थायी समिति बैठकमा वर्षमान पुन, शक्ति बस्नेत र नन्दबहादुर पुनमार्फत घेर्ने काम भयो । यो बैठकमा जनार्दनले समेत ३१ लाख मतदाताको साथ मिलेको पार्टीलाई ११ लाखमा खुम्च्याएकोमा नेतृत्व अर्थात् प्रचण्डले आत्मआलोचना गर्नुपर्ने कुरा उठाए । 

जनार्दनले घेरिरहँदा उपमहासचिव एवम् जाजरकोटी नेता शक्ति बस्नेत प्रचण्डको बचाउमा उत्रिए । स्थायी समिति बैठकमा बोलेका बस्नेतले जनार्दनलाई घेर्दै भनेको नमान्ने एकोहोरो नेताको संज्ञा दिए । ‘भनेको नमान्ने  ? आत्मआलोचना पनि नगर्ने, नेतृत्वको विरुद्ध बोल्ने ?’, प्रचण्डको बचाउ र छिमेकी रुकुमका जनार्दनलाई खुइल्याउने गरी उनले भने, ‘उहाँ कसबाट परिचालिन हुनुहुन्छ ? यसरी उचाल्ने स्रोत के हो ?’ प्रचण्डको योजनाअनुसार जनार्दनलाई घेर्न जाजरकोटका शक्ति बस्नेतपछि रोल्पाली नन्दबहादुर पुन पनि कस्सिए । 

‘जनयुद्धताका जस्ता प्रभाकर अहिले छैनन्’, पुनले भने, ‘त्यसबेला प्रभाकर कमरेड नेतृत्वको बचाउमा सबैभन्दा अग्रपंक्तिमा देखिनु हुन्थ्यो । पार्टी नेतृत्वविरुद्ध जानेहरूलाई तह लगाउनुपर्छ भन्नुहुन्थ्यो । अहिले आफैं नेतृत्वविरुद्ध लाग्नु भएको छ । उहाँ जनयुद्धमा जस्तो प्रतिरोधी नेता पनि रहनु भएन ।’ 

 

टिप्पणीहरू