अब उठ्दैन त कालापानीको कुरा ?
प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका बेला उनले जारी गरेको चुच्चे नक्सासम्बन्धी प्रश्नको कसरी सामना गर्ने भन्ने चिन्ता भारतीय पक्षमा उठेको देखिएको छ । संविधान संशोधनमार्फत संसदबाट लिपुलेक र कालापानीमाथि आफ्नो दावी प्रस्तुत गरेका उनै केपी ओलीले भारत भ्रमणमा गइछाड्ने रहर पोख्ने क्रममा त्यो विषय कमजोर बनाउनसमेत तयार बनेको समाचार स्रोतले जनाएको छ ।
जसका लागि दिल्लीबाट दुई मुलुकबीच कुनै दुश्मनी छैन, तथापि तपाईंले जारी गरेको चुच्चे नक्सा भ्रमणको निम्ता दिन नमिल्ने गरी अवरोधका रूपमा देखा परेको छ । त्यसलाई सहज बनाउने उपायमा सहमत हुनुहुन्छ त ?’ भनी सोधी पठाइएको श्रोतको दावी छ ।
भारतीय पक्षको भनाइ थियो, ‘तपाइँले भ्रमण गरिरहेका बेला यहाँका र स्वयं नेपालका मिडियाले पनि सोध्ने प्रश्न यही हुन्छ कि के लिपुलेक र कालापानी नेपालकै हो भन्ने दावीलाई तपाईंले समकक्षीसमक्ष औपचारिक रूपमा पेश गर्नुभयो ? यो विषयमा के प्रगति भइरहेको छ ? त्यसैगरी हामीलाई पनि मिडियाले यही प्रश्न दोहोर्याउँछन् । त्यसैले यथास्थितिमा तपाईंको भ्रमण सम्पन्न गर्दा दुवै पक्षलाई अप्ठ्यारो पर्छ ।’
समाचार स्रोतका अनुसार, यस्तो जानकारी गराइसकेपछि नयाँदिल्लीले फेरि यो विषयलाई सीमा समितिमा पठाएर त्यहीँ छलफल गर्ने कुरामा सहमत हो भने हामी निम्ता दिन सक्छौं भन्ने खबर पठाएको थियो । प्रधानमन्त्रीले यस्तो प्रस्तावमा सकारात्मक जवाफ दिएपछि नै निम्ता आएको हो । नेपालले पनि लिपुलेकको प्रसङ्ग उल्लेख नगरिकन लामो समयदेखि हुन नसकेको सीमा विवाद समाधानसम्बन्धी समितिको बैठक आयोजना गर्न आग्रह गरेको थियो । सोहीबमोजिम हालै त्यस्तो बैठक सम्पन्नसमेत भइसकेको छ । जानकारहरूका अनुसार लिपुलेक र कालापानीको नाम उल्लेख नगरे पनि सो समितिलाई फेरि सक्रिय बनाउने र विवादित क्षेत्रहरू माथि छलफल र विमर्श गर्ने भन्नेबित्तिकै त्यसमा स्वतः लिपुलेक र कालापानीको विषय पनि आउँछ ।
फेस सेभिङको एउटा विधि देखा परेपछि नेपालले पनि धेरैवटा विषयलाई छोडेर हत्तपत्त यस्तो समितिको बैठक सम्पन्न गरिहाल्ने हतारो देखाएको हो । त्यसलगत्तै सहसचिवस्तरीय एउटा टोली पठाएर बैठक सम्पन्न गर्न सहयोग पु¥याइयो । अनि दुवै पक्षले सीमासम्बन्धी विवाद समाधानका लागि फेरि समितिमा पठाउने निर्णय भयो भनेर विज्ञप्तिसमेत जारी गरिसकेको अवस्था छ । यसरी राष्ट्रवादको पर्याय बनेको चुच्चे नक्सामाथि फेरि सम्झौता गर्दै भारत भ्रमणको वातावरण बनाएको भनी धेरैले आलोचना शुरु गरिसकेका छन् ।
उता सत्तारुढ सर्वाधिक ठूलो दल नेपाली कांग्रेसभित्रको कलह केही मत्थरजस्तो देखिएको छ । सभापति शेरबहादुर देउवाविरुद्ध निकै खरो ढंगबाट प्रस्तुत हुँदै आएका शेखर कोइरालाको बोलीमा आएको नरमपनले यस्तो आभाष दिएको हो । निकट नेताहरूका अनुसार देउवासँग पार्टी सभापति वा प्रधानमन्त्री नै बनाउने कुनै व्यक्ति विकल्पका रूपमा छैन । त्यसैले पनि केपी ओलीपछि उनी स्वयं प्रधानमन्त्री बन्न लागिरहेका छन् । तर, सभापतिका हकमा भने उपयुक्त पात्र र भनेजस्तो अवस्था नहुँदा शेखर कोइरालालाई नै समेत सुम्पन सक्दछन् ।
समाचार स्रोतका अनुसार कांग्रेस पार्टी सिङ्गै देउवाको कब्जामा रहेका कारण उनको सदाशयता र समर्थनबिना सभापति बन्न सकिन्न भन्ने निश्कर्षमा शेखर कोइराला पनि पुगिसकेका छन् ।
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू