‘मर्निन’ रोबोटले लाखौं रोजगारीलाई संकटमा धकेल्ने चिन्ता

‘मर्निन’ रोबोटले लाखौं रोजगारीलाई संकटमा धकेल्ने चिन्ता

चीनको ख्यातिप्राप्त रोबोटिक्स कम्पनी AiMOFA Robotics द्वारा निर्माण गरिएको ह्युमानोइड रोबोट ‘मर्निन’ ले हालसालै दिएको प्रदर्शनबाट सबैलाई चकित पारेको छ।

उक्त रोबोटले मानव सहयोगबिनै कारको ढोका खोल्न सफल भएपछि प्राविधिक क्षेत्रका विज्ञहरूले यसलाई रोबोटिक्स क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा मूल्यांकन गरेका छन्।

सामान्य रूपमा मानिसका लागि यो कार्य सानो लागे पनि, स्वायत्त रोबोटका लागि यो अत्यन्तै जटिल प्रक्रिया हो।

‘मर्निन’ रोबोटले उन्नत सेन्सर प्रणाली र गति नियन्त्रण प्रविधिको प्रयोग गरी चीनको चेरी डिलरशिपमा कारको ढोका खोल्न सफल भएको जनाइएको छ। यसमा तीनवटा LiDAR, डेप्थ क्यामेरा र वाइड एंगल क्यामेराजस्ता अत्याधुनिक प्रविधिहरू जडान गरिएको छन्, जसको सहायताले रोबोटले ढोकाको स्थिति मूल्याङ्कन गर्न र खोल्ने तरिका थाहा पाउन सक्छ।

यो क्षमताको विकासमा Reinforcement Learning प्रविधिको प्रयोग गरिएको हो, जसले रोबोटलाई अभ्यासमार्फत सिक्न र आफैंले निर्णय लिन सक्ने बनाएको छ। मानव हस्तक्षेपबिना यो कार्य सफलतापूर्वक सम्पन्न भएकोले यसको स्वायत्तता र दक्षता प्रमाणित भएको छ।

तर, यस्तो प्रविधिको प्रगतिसँगै गम्भीर सामाजिक प्रश्नहरू पनि उठेका छन्—यदि भविष्यमा ‘मर्निन’ जस्ता रोबोटहरू अझ परिष्कृत हुँदै व्यापक रूपमा प्रयोगमा आउँछन् भने, यसले लाखौं मानिसको रोजगारीमा प्रतिकूल असर पार्न सक्छ।

विशेषतः गाडी पार्किङ, होटल सेवा, र अन्य ग्राहक सेवा क्षेत्रहरूमा कार्यरत कर्मचारीहरूको काम यस्ता रोबोटहरूले विस्थापित गर्ने सम्भावना देखिएको छ, जसले बेरोजगारीको समस्या थप गहिरिन सक्ने चिन्ता बढाएको छ।

यद्यपि, ‘मर्निन’ नयाँ युगको प्रविधिको प्रतीकका रूपमा समेत हेरिएको छ। यसलाई गृह उपयोग, स्वास्थ्य सेवा, शिक्षा लगायतका क्षेत्रमा मानव सहयोगीका रूपमा प्रयोग गर्ने उद्देश्यले डिजाइन गरिएको हो।

टिप्पणीहरू