कमरेडको सहकारीलाई सुम्पेको पैसामा किचलो
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पेशागत संगठनका पूर्वकेन्द्रीय अध्यक्ष भोला पोखरेलले रकम हिनामिना गरेको भन्दै गाइँगुइँ शुरु भएको छ । पोखरेल पेशागत महासंघ उपाध्यक्ष र अन्तर्राष्ट्रिय विभाग हेर्ने संयोजक पनि हुन् ।
स्रोतका अनुसार, पेशागत महासंघले आफ्नै स्रोतबाट पुष्पलाल कार्यकर्ता संरक्षण कोष र मदन भण्डारी पुरस्कार कोष स्थापना गरेको छ । दुई कोषको रकम ७८ लाख रुपैयाँ एमाले समर्थित कर्मचारीले चलाएको सूर्य शक्ति सहकारी संस्था लिमिटेड राखिएको छ । पेशागतले नै सञ्चालन गरेको सो सहकारी संस्थाको अध्यक्ष पनि पोखरेल नै छन् । सहकारी संस्थाको चालु पुँजी एक करोडभन्दा बढी रहेको बताइन्छ ।
अरू रकम भक्तपुरमा जग्गा किनेर प्लटिङमा गरी बेच्न खोजिएको स्रोतको दावी छ । जग्गा खरिदमा सभासद एलपी साँवा लिम्बू, केदार सञ्जेल, पूर्वबागमती प्रदेश सांसद योगेन्द्र संग्र्रौला र नारायण सिलवाललगायत थिए ।अहिले पेशागत महासंघलाई फिर्ता गर्ने रकम सो सहकारीसँग छैन । एमाले काठमाडौं जिल्ला कमिटीको ३० लाख रकम पनि हिनामिनाको दावी स्रोतको छ ।
संगठनको अध्यक्ष केदार सञ्जेल भएको बेला प्रज्ञा प्रतिष्ठान कमलादीमा बैठकका निम्ति उठाइएको रकमबाट हेलिकोप्टरमा मुस्ताङ घुम्न गएको दावी स्रोतको छ ।
सहकारीमा राखिएको रकम हिनामिना गर्ने वातावरणचाहिँ एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बन्नु रहेको बताइन्छ । पार्टी एकता भएपछि भ्रातृ संगठन पनि मर्ज हुने र दुःखले जोडेको रकममा माओवादीको पनि भाग लाग्ने भएकाले पैसा सूर्यशक्ति सहकारीमा निक्षेप गरिएको दावी स्रोतको छ ।
त्यसबेला जिल्ला कमिटीको बैठक बसेर सो रकम सहकारीमा लगी व्यवस्थापन गर्ने सहमति भएबमोजिम सूर्यशक्ति सहकारीमा राखिएको र त्यहाँबाट रमेश पाण्डे अध्यक्ष भएको कश्मिरा सहकारीमा लगिएको बताइन्छ ।
टिप्पणीहरू