विद्याको बाटोमा अबको विकल्प
‘उपाध्यक्ष भइसकेको मान्छे पार्टीमा अध्यक्षकै लागि आउने त होला, त्यो थाहा भएकै कुरा हैन र ! तर, अध्यक्ष त मैले बनाइदिने होला नि ! – केन्द्रीय समितिबाट पूर्व राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवन्ध लगाउने निर्णय गराउनुअघि एउटा आन्तरिक भेटमा अध्यक्ष केपी शर्मा ओली यसरी कड्किए– ‘अनि मलाई नै केही नभनिकन बाहिर बाहिर हल्ला गर्दै हिंड्ने ?’
विद्यालाई राजनीतिमा फर्काउन भूमिका खेल्दै आएका आनन्द पोख्रेल, सरिता न्यौपाने, दीपक निरौलाहरू मदन भण्डारी पार्कका लागि जग्गाको विषयमा कुरा गर्न असारमै अध्यक्षकहाँ पुगेका थिए । एमाले पंक्तिमा ‘हटकेट’ बनिरहेको पूर्व राष्ट्रपतिको राजनीतिक पुनरागमनको विषयले त्यहाँ चर्चा नपाउने कुनै भएन । सार्वजनिक सभा–समारोहदेखि पार्टीका बैठक अनि आन्तरिक भेटघाटमा प्रवचनात्मक शैलीमा लामो मन्तव्य राख्ने ओलीको स्वभाव नै हो, निश्चित विषयमा बाँधिएर नबोल्ने । त्यसदिन पनि आफैँले विद्या भण्डारीको कुरा निकालेका उनी हप्कीदप्कीको शैलीमा प्रस्तुत भए ।
‘उहाँको मुख्य असन्तुष्टि चैं मलाई नसोधी बाहिर–बाहिर अध्यक्ष हुन्छु भनेर हल्ला गर्दै हिँड्ने ? भन्ने रहेछ’, सरिताहरूले आफ्नो सर्कलमा भनेको कुरा स्रोतले सुनायो । त्यसो त, सार्वजनिक रूपमै ‘विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय गर्यो’ भनेका ओलीले आफ्नो नेतृत्वमाथि चुनौती दिनेलाई पार्टीमा ठाउँ नहुने स्पष्ट सन्देश दिइसकेका छन् । विदेशीको बुइ चढेर उचालिएको, महाधिवेशनको मिति नतोकिंदै अध्यक्षको दाबी गरेर पार्टीमा विवादको बिउ रोपेको आरोप पनि लगाइएको छ । पूर्व राष्ट्रपतिलाई बाह्य शक्तिले उकासेको भन्दै अध्यक्षले कुनै देशको नाम नलिई बेस्कन आक्रोश पोखेको स्रोत बताउँछ ।
विद्या पार्टीमा आए अध्यक्षमा उठ्ने र यसबाट आफूलाई चुनौती हुने ओलीलाई राम्रोसँग थाहा छ । अध्यक्षमा च्यालेञ्ज नगर्ने विश्वासिलो आधार दिए सदस्यता नवीकरण हुने स्थिति देखेरै विद्याको पछिल्लो पत्रकार सम्मेलनमा नरम भाषा प्रस्तुत भएको थियो । निकै तामझामका साथ आयोजित पत्रकार सम्मेलनमा विद्याले दुई पेजको लिखित मन्तव्य सार्वजनिक गर्दा आवेग, उत्तेजना र आक्रोश केही थिएन । नरम ढंगले आफ्नो सदस्यताको वकालत गरेकी उनले आफू पदको आकांक्षी नरहेको र पार्टीमा आवद्ध हुनमात्रै चाहेको सन्देश दिएकी थिइन् । राष्ट्रपतिबाट अवकाशपछि पहिलोपल्ट पूर्व उपाध्यक्षको रूपमा सार्वजनिक भएकी उनले ओलीसँग वारपार गर्नेभन्दा पनि तत्कालका लागि सदस्यता जोगाउने कुरालाई प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । तर अन्तरपार्टी निर्देशनमार्फत् ओलीले त्यही एउटा झिनो सम्भावना पनि तुहाइदिएका छन् ।
पछिल्लो कालमा गोकुल बाँस्कोटाजस्ता विद्यालाई शुरुदेखि नै राजनीतिमा फर्काउन लागेकाहरू नै केन्द्रीय कमिटीमा खुलेर बोल्न सकेनन् । पछिल्लो समय सामाजिक सञ्जालमासमेत तौलिएर स्टाटस लेख्न थालेका गोकुललाई मन्त्रीको आश्वासन दिएर मुख बन्द गराइएको बताइन्छ । सचिवालयमा अहिले विद्याका पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे छन् । तर, केन्द्रीय कमिटी बैठकको निर्णयमा फरक मत नलेखेका ईश्वरको भूमिकाप्रति शंका व्यक्त हुन थालेको छ । स्थायी कमिटीमा कर्णबहादुर थापा छन् । विनोद ढकाल, सीता पौडेल, सरिता न्यौपाने, कृष्णप्रसाद दाहाल, रमेश पौडेललगायत दुई दर्जनजति प्रष्ट खुलेका छन् । विद्याको पत्रकार सम्मेलनमा पनि उनीहरू कार्की ब्याँक्वेट पुगेका थिए ।
विद्याले सदस्यतामा बन्देज लगाए पनि राजनीतिबाट भने कुनै हालतमा पछि नहट्ने प्रष्ट पारेकी छन् । ओलीसँग च्यासलमा भएको भेटमा आफू धेरै अगाडि बढिसकेकाले पछाडि फर्किने ठाउँ बाँकी नरहेको स्पष्ट शब्दमा भनेकी उनले पत्रकार सम्मेलनमा पनि पूर्व उपाध्यक्षको हैसियतमा प्रस्तुत हुँदै थप प्रष्ट पारेकी हुन् । तर, अध्यक्ष ओलीले कुनै हालतमा सदस्यता नवीकरण नगर्ने अन्तिम फैसला सुनाएपछि अब कुन हैसियतमा राजनीतिमा सक्रिय रहलिन् भन्ने प्रश्न छ । माधव नेपाल १५ वर्ष महासचिव भएका बेला मदन भण्डारी फाउण्डेसनमार्फत देशव्यापी गतिविधि गरी विद्याले नै ओलीलाई मूलधारको राजनीतिमा स्थापित गरेकी थिइन् । झण्डै साढे दुई दशक पार्टीभित्र स्थायी प्रतिपक्षको भूमिकामा रहेका ओली फाउण्डेसनको स्रोत साधन प्रयोग गर्दै त्यसैको बलमा नवौँ महाधिवेशनपछि नेतृत्वमा आएका हुन् । विद्यासँग अहिले पनि त्यो संयन्त्र छँदैछ । त्यसकारण सदस्यता रोकेर राखिए पनि फाउन्डेसनका नाममा देशव्यापी अभियानमा जानबाट उनलाई कसैले रोक्न सक्ने अवस्था छैन ।
विद्यालाई सदस्यबाट निरन्तर बञ्चित गराएपछि ओलीविरुद्ध ईश्वर वा सुरेन्द्र पाण्डेलाई अघि सार्नुपर्ने मत विद्या निकटहरूको छ । सत्ता र शक्तिको प्रभावले केन्द्रीय स्तरका नेताहरू बोल्न नसके पनि तल्लो तहमा ओलीको नेतृत्वप्रति ठूलो बितृष्णा रहेकाले महाधिवेशनमा त्यसको प्रभाव पर्ने र परिणाम आफ्नो पक्षमा आउने हिसाब उनीहरूले निकालेका छन् ।
यो स्थितिमा पार्टी सदस्यता फर्काउन अब विद्यासामु दुई वटा उपाय देखिन्छ– एक, अध्यक्षमा नउठ्ने लिखित प्रतिवध्दता जनाएर ओलीको विश्वास जित्ने । दोस्रो, तलबाट कार्यकर्ताको दबाब बढाएर निर्णय फेर्न बाध्य बनाउने । अहिलेको अवस्थामा कार्यकर्ताको दबावले मात्रै ओलीको मुड फेराउनसक्ने सम्भावना न्यून देखिन्छ । यो सबै परिस्थितिलाई नजिकबाट नियालिरहेका स्वतन्त्र वाम विश्लेषकहरू भन्छन्– विद्याका बारेमा केन्द्रीय समितिले जुन निर्णय ग¥यो, अहिले ओली प्रधानमन्त्री नभएको भए आधाभन्दा बढी सदस्य त्यसको विपक्षमा रहन्थे । उनीहरूलाई सत्ता र शक्तिको प्रभाव, डर त्रास र लोभ देखाएर ओलीको विकल्प छैन भन्न बाध्य पारिएको हो ।
(जनआस्था साप्ताहिकको साउन १४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू