राेनाल्डाे र मेस्सी उत्पादन गर्ने काममा लागेको छु : प्रधानमन्त्री ओली

राेनाल्डाे र मेस्सी उत्पादन गर्ने काममा लागेको छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो, लिओनल मेस्सी र किलियन एमबाप्पेभन्दा महान खेलाडी नेपालले उत्पादन गर्ने बताउनुभएको छ । अहिले सरकार त्यही काममा लागेको उहाँको भनाइ छ । 

आज दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चाँडै नेपालबाट त्यो स्तरको खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

‘हामीले चर्चित खेलाडी पेलेदेखि लिएर अहिलेका रोनाल्डो वा मेस्सी भन्दा पनि राम्रा, एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएका छौँ’, ओली भन्नुहुन्छ, ‘हामीले त्यो स्तरका खेलाडी उत्पादन गर्नकै लागि वातावरण बनाइरहेका छौ, त्यसमा यस क्लासले थप सहयोग र योगदान पुर्याउने विश्वास लिएको छु ।’

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रमले अबको केही वर्षमै भक्तपुरको सूर्यविनायक नगरपालिकामा अत्याधुनिक रंगशाला देख्न पाइने पनि दाबी गर्नुभयो ।

‘अब छिट्टै, सायद केही वर्षभित्रै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अट्ने रङ्गशाला निर्माण गर्न लागिरहेका छौँ’, कार्यक्रममा उपस्थित बाल खेलाडीहरुलाई हेर्दै भन्नुभयो, ‘तिमीहरू हुर्किदासम्म, खेलाडी हुँदासम्म त्यो रंगशाला तयार भइसकेको हुनेछ ।’

तस्बिरहरु 

टिप्पणीहरू