एक किसिमको अपराध घटेको मोरङमा अर्कोथरी बढ्दै
मोरङमा जघन्य अपराध घट्दा आर्थिक अपराध दोब्बरले बढेको छ । मानव बेचबिखन, हत्या, बलात्कार, चोरी र झगडामा कमी आउँदा बैंकिङ्ग कसुर र ठगीका मुद्दामा वृद्धि भएको छ ।
जिल्ला प्रहरीका कार्यालय मोरङका अनुसार गत आर्थिक वर्षमा बैंकिङ्ग कसुरका ४४८ वटा मुद्दा दर्ता भएको थियो । लेनदेन र ठगीका ६३ वटा मुद्दा दायर भएको थियो । जबकि, आर्थिक वर्ष २०८०–०८१ मा बैंकिङ्ग कसुरका २६० वटा र ठगीका ४९ वटा मुद्दा दायर भएको अभिलेख छ ।
गत वर्ष हत्याका १३, ज्यान मार्ने उद्योगका ३५, चोरीका ११८, बलात्कारका ९६ र मानव बेचबिखनका चार वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमा हत्याका २०, बलात्कारका ९९ र चोरीका २३८ वटा मुद्दा परेको थियो । प्रहरीको बढदो सक्रियता (प्रो–एक्टिभ पुलिसिङ) ले गर्दा जघन्य अपराधमा कमी आउन थालेको बताइन्छ ।
अझैपनि सो अभियान कमजोर रहेको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए । त्यसलाई बलियो बनाउन सकेमा आर्थिक अपराधमा कमी आउने उनको भनाइ छ । कानुन बनेपनि अझै धेरैजना चेक अनादर (चेक बाउन्स) को कसुरमा पर्ने गरेका छन् । केहीले सहकारी, बैंक तथा वित्तिय संस्थालाई ठगेको एसपी चिमोरियाले जानकारी दिए ।
त्यसैगरी, आपसी लेनदेनदेखि विभिन्न विश्वासमा पारेर आर्थिक ठगी गर्नेहरु पनि बढन थालेका छन । कूलमा हेर्दा मुद्दाको संख्या बढिरहेको देखिन्छ । गत वर्ष मोरङमा कूल दुई हजार ६६ वटा मुद्दा दायर भएको छ । जबकि, आर्थिक वर्ष २०८०–०८१ मा दुई हजार ४४ वटा मुद्दा मात्र दर्ता भएको थियो ।
बलात्कार घट्दै, बाल यौनशोषण बढ्दै
मोरङमा बहुविवाह, मानव बेचबिखन र बलात्कारका अपराधमा कमी आउन थालेको छ । तर, बाल यौनशोषणको अपराध भने बढेको देखिन्छ । मोरङमा गत वर्ष २६ वटा र अघिल्लो वर्ष १८ वटा बाल यौनशोषणका मुद्दा दर्ता भएका थिए । मानव बेचबिखनको घटना चारबाट तीनमा झरेको छ । बहुविवाह पनि ४१ बाट १४ मा झरेको देखिन्छ । त्यसैगरी, बोक्सी आरोप दुईबाट शून्यमा पुगेको छ । बलात्कार उद्योग पनि २२ बाट १३ मा खुम्चिएको छ ।
घटेन आत्महत्या
आत्महत्याका घटनामा भने अझै कमी आउन सकेको छैन । गत आर्थिक वर्षमा मोरङमा ८२ जना महिला, ३१० जना पुरुष र २३ जना बालबालिकाले आत्महत्या गरेका छन । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा मोरङमा १२० जना महिला, १८६ जना पुरुष र २० जना बालबालिकाले आत्महत्या गरेका थिए ।
टिप्पणीहरू