डिएनए मिलेकाहरू नै दुईतिर....
विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कन्छु भनेपछि, एमालेमा ब्यापक ध्रुवीकरण शुरु हुन थालेको छ । गत वर्षको बागमती प्रदेश निर्वाचनमा विजयी र पराजित हुने कैलाश ढुंगेल र कृष्ण दाहाल, नवराज सिलवाल र हस्त पण्डितहरू एकै ठाउँमा उभिन आइपुगेका छन् ।
काठमाण्डौ, भक्तपुर र ललितपुरका अध्यक्षहरू, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य तथा युवासंघ र अखिलको अध्यक्षमा पराजित सुमन पुरी, प्रकाश पौडेल, प्रेस चौतारीमा उम्मेदवार बन्न नपाएका राजेश राईलगायत अधिकांश १० बुँदेसमेत विद्यालाई पार्टी नेतृत्वमा पुर्याउन सक्रिय भएर लागेका छन् । हस्त पण्डित मदन भण्डारी फाउण्डेशनको सचिव छन् । त्यति मात्र होइन, अखिल महाधिवेशनअघि ‘केपी ओलीसँग डिएनए मिल्छ’ भनेर अन्तर्वार्ता दिने र सामाजिक सञ्जालमा लेख्ने नरेश रोकायासमेत विद्या खेमामा पुगेका छन् ।
हेभिवेटहरु विद्यातिर
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलगायत पदाधिकारी, महेन्द्रबहादुर पाण्डे, विनोद ढकाल, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, अरुण नेपाल, गोकुल बाँस्कोटा, आनन्द पोखरेल, कर्ण थापा, रमेश पौडेल, झपट रावल, कृष्ण राई, बाग्मतीका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, अरबिन्द सिंह, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल र सचिव नवराज सिलवाल, कृष्ण दाहाल, हस्त पण्डित, शैलेश लामा, धादिङका अध्यक्ष भूमि त्रिपाठी, मिलन धरेल (उपत्यका विशेष प्रदेश सचिव), सुदर्शन शिवाकोटी, प्रकाश गौतम, पर्वत भण्डारी, सिद्धराज राई, मोती बिक, प्राडा उपेन्द्र कोइराला, उदयराज पाण्डे, नरेश रोकाया, खिम पन्थी, बचनबहादुर सिंह, गोबिन्द कलौनी, टेकेन्द्र बस्नेत, केशव पाण्डे, बद्री मैनाली, धनकुटाका सांसद राजेन्द्र राई, नारायण खतिवडा, बिन्दा पाण्डे, इन्द्रलाल सापकोटा, युवराज बाँस्कोटा, रचना खड्का, पार्वती रावललगायत विद्यातिर खुलेका छन् ।
पहिले ओली र विद्या एकैतिर हुँदा उतै रहेर अहिले मौन बसेका एक प्रभावशाली नेता भन्छन्– ‘खासमा अहिले केपी–विद्या विवादजस्तो देखिए पनि, उहाँहरू मिलेरै आउनुहुन्छ । हामी फलानो तिलानो भनेर पक्ष विपक्षमा लाग्नुको अर्थ नै छैन । अहिले उहाँहरू विभिन्न नेताको नाडी छाम्दै हुनुहुन्छ । भोलि दुई जना मिल्दा, अहिले पक्ष–विपक्षमा लाग्नेको हालत के होला ?’
विद्या च्यासल पुग्दा नोटिसवालाहरू बेपत्ता
कुरा आइतबारको हो । एमाले मुख्यालयमा पूर्वराष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी ओलीबीच दिउँसो ४ बजेलाई भेटघाट तय भएको थियो । पार्टी सरकारमा छ, बाह्रमासे कार्यकर्ता त पार्टी कार्यालयमा जम्मा हुने नै भए । त्यहीँमाथि नवौं केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन भीडभाड हुन्थ्यो नै । अझ विद्याले पहिलोचोटि केपीसँग भेट्ने ठाउँ च्यासल नै रोजेपछि एकैछिनमा खबर डढेलोसरि फैलिहाल्यो । पूर्वराष्ट्रपति विद्या भण्डारी सवा ३ तिर च्यासल आइपुगिन् । उनी आएको लगभग ३० मीनेटजतिमा केपी ओली आइपुगे । अरुलाई घण्टौं कुराउने ओलीले खासै ढिला नगरेको देखेर नेता तथा कार्यकर्ता दंग परे ।
विद्या भण्डारी सवा ३ तिर च्यासल आइपुगेको देख्नासाथ एमाले बागमती इञ्चार्ज डा. राजन भट्टराई र कार्यकर्तालाई नोटिस गरेको छु भनेर चर्चामा आएका भानुभक्त ढकाल कता हो कुदे । प्रत्यक्षदर्शी एक नेता भन्छन्, ‘उहाँहरू किन त्यसरी कुद्नुभएको होला ?’
टिप्पणीहरू