राष्ट्रपति बनाइनबाट जब ईश्वर रोकिए

राष्ट्रपति बनाइनबाट जब ईश्वर रोकिए

केपी ओलीसँग बिच्किएर किन ईश्वर पोखरेल विद्या भण्डारीतिर लागेका होलान् ? खास कारण जान्ने इच्छा एमालेका धेरै कार्यकर्तामा छ । कतिपयले ईश्वर पोखरेल वैचारिक र सैद्धान्तिक रूपमै केपी ओलीसँग असन्तुष्ट रहेको तर्क गरेको पनि सुनिन्छ । 

ईश्वरलाई आदर्श मान्ने कार्यकर्ताहरू ओलीले पार्टी सक्ने चिन्ताले विद्या भण्डारीको समर्थनमा लागेको र पार्टी जोगाउने अभियानमा सरिक भएको भन्दै उनको बचाउ गर्छन् । तर, नजिकबाट चिन्नेहरू भन्छन्– पार्टीको चिन्ता, ओलीको भड्काव र विचलन अनि सैद्धान्तिक, वैचारिक भिन्नता केही पनि कारण होइन । जम्माजम्मी एउटै जड हो, ओलीले वचन दिएर पनि राष्ट्रपति नबनाउनु र पछिल्ला दिनमा शंकर पोखरेल, विष्णु रिमालसँग मात्रै परामर्श गरिरहनु । 

समाचार स्रोतका अनुसार ईश्वरलाई जसरी पनि राष्ट्रपति बनाउँछु भनेर केपी ओलीले वचन दिएका थिए । ईश्वर यतिसम्म ढुक्क थिए कि ओलीले आँटेपछि जसरी पनि गर्छन् र प्रचण्डलाई टक्कर दिनकै लागि भए पनि मलाई रोज्छन् भन्थे । त्यसमाथि प्रचण्डले ईश्वरको साँटो सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेपछि त झन् ओली आफ्नै पक्षमा डटेर लाग्नेमा कुनै शंका थिएन । ओलीले त्यसबेला ईश्वर पोखरेलसँग भनेकै थिए, ‘प्रचण्डले हाम्रा  साथीहरूसँग खेल्न थाले । म तपाईंलाई नै अघि बढाउँछु ।’ तर, परिवेश कस्तो बन्यो भने कम्युनिष्ट पार्टीबाट नभएर राष्ट्रपतिमा कांग्र्रेसले बाजी मार्‍यो । रामचन्द्र पौडेल शीतल निवास छिरे । 

पार्टी संगठनमा निरन्तर र क्रियाशील बनेर राजनीतिक यात्राको सहज अवतरण गर्ने कुरामा ढुक्क रहेका ईश्वरलाई यसबाट नराम्रो आघात प¥यो । त्यसपछि विस्तारै उनी ओलीसँग टाढिए । पछिल्लो समय त स्थिति कस्तो बन्यो भने वरिष्ठ उपाध्यक्ष रहेका उनलाई भेट्ने समयसमेत ओलीले दिन छोडे । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहेको बेला स–साना सरुवा, बढुवा र नियुक्तिका लागि समेत सिफारिस गर्न नसक्ने स्थितिमा पुगे । यसरी ओलीबाट टाढिएपछि मन बदलिनु अस्वाभाविक हुँदैन । तैपनि कुनै वैदेशिक भ्रमणबाट ओली फर्कँदा विमानस्थलमा स्वागत गर्न जान छाडेनन् । विदेश यात्रामा जाँदा पनि ओलीले कार्यवाहक अध्यक्षको जिम्मा उनैलाई दिने गर्छन् ।

तर, ओलीले देश छाड्दा पाइने सेरेमोनियल कार्यवाहकको के अर्थ ? सरकार सञ्चालनका कुनै निर्णय र प्रक्रियामा उनको सहभागिता छैन । पार्टीभित्र कुनै ठोस र प्रभावकारी जिम्मेवारी पनि छैन । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘त्यसैले बरु विद्या भण्डारीसँग हिँड्दा कुनै महत्वपूर्ण जिम्मेवारी पाइहालिन्छ कि भन्ने अपेक्षा नयाँ यात्राका लागि उत्प्रेरक विषय हुन् ।’
 

टिप्पणीहरू