प्रहरी बाठो हुँदा हत्यारामा परिणत

प्रहरी बाठो हुँदा हत्यारामा परिणत

फौजदारी न्यायको प्रचलित सिद्धान्त नै छ ‘दश अपराधी छुटुन् तर एक जना पनि निर्दोषले सजायँ नपाओस्’ यसका बाबजुद अनुसन्धान र सुरक्षा प्रदान गर्ने प्रहरीले गलत पर्फमेन्स देखाउन खोज्दा एक निर्दोष वृद्धले अनाहक जेल बस्नुपर्‍यो । दर्जनौं अपराधी समात्न असमर्थ प्रहरीले एक निर्दोष बृद्धलाई सजायँ गरेर बहादुरी जसरी प्रचार गर्‍यो ।

नाम मिलेकै आधारमा इलाम जिल्ला प्रहरीले सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनाका ७६ वर्षीय तिलबहादुर गुरुङलाई चिलको बेगमा पक्रेर कारागार हाल्यो । त्यो पनि एक महिना, एक वर्ष, दुई वर्ष होइन, १० वर्षका लागि । पक्राउ गर्नेबित्तिकै वृद्धको फोटोसहित लुकीछिपी बसेका हत्यारालाई जेल पठाएको विज्ञप्ति निकालियो । 

४४ वर्षअघि अर्थात् २०३८ साल जेठ १२ गते जिल्ला अदालतले हत्यामा संलग्न भएको भन्दै अर्कै व्यक्ति साविक माबु गाविस वडा नं. ४ का तिलबहादुर गुरुङलाई १० वर्ष कैद सजायँ तोकेको थियो । प्रहरीले भने घरैमा बसिरहेका जमुनाका ७६ वर्षीय गुरुङलाई पक्राउ गरेर बिना सोधपुछ कारागार पठायो । जमुना प्रहरी चौकीमार्फत असार १८ गते पक्राउ परेका वृद्ध उच्च अदालतको आदेशबाट साउन १ गते मात्र छुटेका छन् । 

खुट्टा दुख्ने बिरामी बृद्ध तिलबहादुर औषधि खाएर घरैमा बसिरहेका थिए । प्रहरी आए । बिरामी हुनुहुन्छ, भोलि ल्याइदिन्छौं भन्दा पनि नमानेको बुहारी सीता गुरुङले बताइन् । ‘पक्राउ परेको भोलिपल्ट अदालतमा उपस्थित गराएर १० वर्षका लागि कारागार चलान गर्दा त झन् हाम्रो होसहवास नै उड्यो’, उनले भनिन्, ‘बुबालाई लिन गएका छोरा त आत्तिएर कुनै कागजै नहेरी घर आइपुगेका थिए ।’ कुनै कसुरै नगरेका बुबालाई कैद गरेपछि छोराबुहारी चकित र त्रसित भए । बुबा निर्दोष भन्दै हार गुहार गरे । प्रहरीले कुरै सुनेन । वृद्धले पनि प्रहरीको हप्कीदप्कीबाट डराएर केही बोल्न सकेनन् । प्रहरीले अदालतको आदेशले पक्राउ गरेर कारागार पठाएको भने पनि वृद्धको परिवार उच्च अदालतको ढोका ढक्ढक्याउन पुग्यो ।

उच्च अदालत विराटनगरको इलाम इजलासले उनी निर्दोष भएको भन्दै कारागार मुक्त गर्न श्रावण १ गते आदेश जारी गरेपछि बल्ल छुटे । कारागार मुक्त त भए तर पाएको दुःख र आत्मसम्मानमा परेको चोटको क्षतिपूर्ति भने पाएका छैनन् । उच्च अदालत जाँदा, वकिलको शुल्क समेत ७० हजार खर्च भएको सीताले बताइन् । क्षतिपूर्तिका लागि फेरि मुद्दा लड्नुपर्छ भनेपछि फेरि पैसा मात्र सकिने रहेछ भनेर परिवार चुपचाप बसेको छ । 

अदालतले ४४ वर्षअघि कैद फैसला गरेको व्यक्तिको भने २०६६ सालमै मृत्यु भइसकेको छ । सन्दकपुर गाउँपालिका–४ साविक माबु गाविसमा लाग्ने राँके मेलामा झगडा हुँदा प्रहरीलाई खुकुरी प्रहार गरी भारत भासिएका उनको उतै मृत्यु भएको बताइन्छ । केही वर्षअगाडि पनि सोही ठाउँका नाम मिल्ने अर्का तिलबहादुर गुरुङलाई अदालतले कैद फैसला गरेको फरार व्यक्ति ठानी पक्राउ गरिएको थियो । स्थानीयले सो व्यक्ति उनी नभएको बताएपछि प्रहरीले बाटैबाट छोडिदियो ।

(जनआस्था साप्ताहिकको साउन ७ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू