श्रीमानहरु धमाधम ल्याउने सुर
सर्वाेच्च अदालतमा रिक्त एक जना न्यायाधीशको सिटमा साउन २० गतेभित्र पदपूर्ति हुने सम्भावना छ । न्याय परिषद्का सदस्य दामोदर खड्का दुई हप्ते निजी भ्रमणमा भियतनामबाट साउन १३ गते स्वदेश फर्केपछि बस्ने बैठकबाट प्रक्रिया शुरु हुन सक्छ ।
सो पदमा एमालेले आफ्नो कोटाबाट ईश्वरी भट्टराईलाई लैजाने संभावना छ । त्यसअघि माओवादी केन्द्रबाट दीनमणि पोखरेललाई लाने कुरा थियो । दुई सिट खाली भएमध्ये कांग्रेसले मेघराज पोखरेललाई वकिल पृष्ठभूमिबाट लगिसकेकाले अबको पालो एमालेको हो ।
न्यायाधीश कुमार चुँडाल आउँदो असोजमा घर जानेछन् । उनको स्थानमा कसलाई पदस्थापन गर्ने छैन । त्यसो त जिल्ला र उच्चका कतिपय न्यायाधीशको सरुवा रोकिएको पनि दुई वर्ष पुगेको अवस्था छ । प्रकाश ढुंगाना र शंकर खत्री उच्च जाने लाइनमा छन् । उच्चमा जिल्ला न्यायाधीश, सरकारी वकिल र कानुन मन्त्रालयका कर्मचारीबाट ल्याउने तयारी पनि भइरहेको छ ।
यसबीच, उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत न्यायाधीश भरत लम्सालले एक वर्ष पदावधी बाँकी हुँदै राजीनामा दिएका छन् । घरायसी स्वास्थ्य अवस्थाको कारण जनाए पनि वीरगञ्जमा हुँदा महिला कर्मचारीप्रति राख्ने नजर मुख्य कारण हुन सक्ने दावी स्रोतको छ । यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए । यसरी उच्च अदालतमा ३०–३१ वटा पद रिक्त छ ।
यसैबीच, मुख्य न्यायाधीश सरहको पद प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरेलाई लगिएको छ । सरकारी वकिल घिमिरेलाई एक/दुई दिनअघि राजीनामा दिन लगाएर सो पदमा नियुक्त गरिएको हो ।
टिप्पणीहरू