देउवामाथि ‘कू’ हुन लागेकै हो ?
कांग्रेसभित्र शेरबहादुर देउवाविरुद्ध रचिएको एउटा अर्को ‘कू’ को प्रयास किन र कसरी असफल भयो भन्ने प्रश्नको जवाफ खोजिँदै छ । समाचार स्रोतका अनुसार देउवालाई संसदीय दलको नेताबाट हटाउने र प्रकारान्तरमा केपी ओलीलाई विस्थापित गर्दै शेखर कोइराला प्रधानमन्त्री बन्ने एउटा योजना थियो ।
त्यसमा साथ दिएर सफल पारेबापत गगन थापालाई पार्टीको सभापति बन्ने अवसर मिल्थ्यो । तर, दोस्रो पटकको प्रयासमा समेत त्यो सफल हुन सकेन । विशेषगरी गगन थापाले चासो नदिएपछि कार्यान्वयनमा आउन नपाएको त्यो योजना किन र कसको बलमा तुहियो भन्ने प्रश्न नै अहिले कांग्रेसको इतर खेमाबीच खोजीको विषय बनेको छ । त्यसो त यसअघि पनि देउवालाई किनारा लगाउने गरी ठूलै योजना तयार भएको थियो । त्यो काम सत्ता समीकरणमा आएको फेरबदलसँगै बिथोलिएपछि लगभग डेढ महिनाअघि गरिएको अर्को प्रयत्न पनि असफल बनेको हो ।
किन यसरी अन्तिम अवस्थामा योजना कार्यान्वयनमा आउन सकेन ? जनआस्थाले नेपाली कांग्रेसका एक इत्तरपक्षीय नेतालाई गरेको प्रश्नको जवाफमा उनले भने, ‘जम्मा चारजना सांसदको मात्र अभाव थियो । त्यो सजिलै पु¥याउन सकिन्थ्यो । तर, भयो के भने शेखर कोइरालासँग गगन थापाले केही कुराको सुनिश्चितता खोजे । संसदीय दलको नेता बनेपछि शेखरले आगामी महाधिवेशनमा मलाई नै पार्टी सभापति बनाउने कुराको ग्यारेन्टी के ? त्यसबेला पार्टी सभापति समेत आफैँ बन्ने गरी अगाडि आउँदैनन् भनेर कसरी निश्चिन्त बन्ने ? यो प्रश्नको चित्तबुझ्दो जवाफ नभेटेपछि गगन योजनाबाट पछि हटेका हुन् ।’ उनका अनुसार संसदीय दलको नेता बन्ने प्रक्रियादेखि नै भावी सभापति गगन हुन् र मेरो उनलाई समर्थन रहन्छ भन्ने कुरा सार्वजनिक रूपमा शेखर कोइरालाले भन्नुपर्ने हुन्थ्यो । त्यसैगरी उनले बीचमा धोका दिने छैन भनेर लिखित ज्ञारेन्टीसमेत दिनुपर्ने हुन्थ्यो । ती दुवै शर्तमा कोइराला उदासीन देखिएपछि गगनले पनि सत्ता समीकरण र पार्टी नेतृत्व बदल्ने कुरामा आफ्नो सक्रियता कम गरेका हुन् ।
यसरी अचानक एउटा योजना कार्यान्वयनमा नआएको देखेपछि त्यसमा सहभागी र समर्थन गर्ने नेता भने कहाँबाट खेल बिग्रियो भन्ने कुरा बुझ्न लागि परेका छन्् । शेखर कोइराला र प्रचण्डको पछिल्लो भेटको सूचना सार्वजनिक गरिनुलाई पनि यसैअनुरूपको खेलको एउटा अङ्गका रूपमा उनीहरूले विश्लेषण गर्दै छन् । कांग्रेसकै एक नेताका अनुसार शेखर र प्रचण्डबीचको भेटघाट अनि शेखर र विद्या भण्डारीसँगको कुराकानीका विषय सार्वजनिक भएका वा चुहिएका होइनन् ।
यी त्यस्ता खबर हुन् जुन नेपाली कांग्रेसको इतरपक्षले योजनाबद्ध ढंगबाट बाहिर ल्याएको थियो । यसरी बाहिर ल्याइनुको कारण खोल्दै एक नेताले भने, ‘खेल रोकिएको छैन भन्ने संकेत मात्र दिइएको हो । तर, सफल हुने सुनिश्चितता भने पहिलेभन्दा धेरै घटिसकेको छ ।’ फेरि पनि खोजीको मुख्य विषयचाहिँ गगन र शेखरबीच के के कुरामा मत मिलेन अनि दूरी कसले कसरी बढाइदियो भन्ने नै हो ।
(जनआस्था साप्ताहिकको साउन ७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू