लिपुलेकबाट कैलाश यात्रा खुल्यो, व्यापार खुलेन

लिपुलेकबाट कैलाश यात्रा खुल्यो, व्यापार खुलेन

कैलाश–मानसरोवर छेउको नेपाल–चीन जोड्ने टिंकर नाका साउन ८ गतेबाट खुल्ने भएको छ । तिब्बतको ताक्लाकोटस्थित सरकारी अधिकारीहरूले दार्चुलाका स्थानीय व्यापारीलाई नाका खुल्नेबारे जानकारी पठाएका छन् । कोभिड महामारीका कारण चार वर्ष पूर्णतया बन्द रहेको यो नाका गत वर्ष असार २९ गतेदेखि खुलेको हो । हिउँदमा उच्च हिमपातका कारण नाका बन्द हुने गरेको छ भने बर्खायाममा खुल्ने गरेको छ । हरेक वर्ष असारदेखि कात्तिक–मंसिरसम्म नाका खुल्ने गरेको व्यास गाउँपालिका– १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । गत वर्ष करिब साढे ४ महिनासम्म नाका सञ्चालन भएको थियो । 

यो वर्ष जुलाई २३ मा नेपाली व्यापारीलाई चीनको सीमा प्रवेश गर्न खबर प्राप्त भएको वडाध्यक्ष बोहराले बताउनुभयो । ‘ताक्लाकोटस्थित सरकारी अधिकारीहरूले स्थानीय व्यापारीमार्फत नाका खुल्नेबारे जानकारी पठाएका छन्, व्यासक्षेत्रका ५० भन्दा बढी व्यापारीले ताक्लाकोट जाने तयारी थालेका छन्’, उहाँले भन्नुभयो । 

सदरमुकाम खलंगामा रहेका व्यापारी आइतवार र सोमबार व्यासतर्फ हिँडिसकेको स्थानीय नरेन्द्रसिंह बोहराले बताउनुभयो । असार ७ गते बिहानै छाङरु र तिंकर गाउँबाट हिँडेर १ नम्बर पिलर हुँदै व्यापारी चीन प्रवेश गर्नेछन् । हालसम्म परम्परागत नाकाको रूपमा टिंकर रहेको छ । कैलाश–मानसरोवरको आधार क्षेत्र रहेको ताक्लाकोट बजारमा दार्चुलाका स्थानीय व्यापारीले व्यापार गर्दै आएका छन् । नेपाली र भारतीय खाद्यान्न तथा सामग्री बिक्री हुने गर्छ भने ताक्लाकोटबाट कपडा र ऊनलगायत सामान ल्याउने गरिन्छ । 

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रका नागरिकलाई नेपाल–चीन प्रवेश अनुमतिपत्र दिने गर्छ । यसकै आधारमा ताक्लाकोट बजारसम्म नेपाली व्यापारीले प्रवेश पाउँछन् । यो वर्ष चीन प्रवेश अनुमतिपत्र बनाउने दार्चुलावासीको संख्या १ सय ५७ रहेको छ । व्यास गाउँपालिकाका १ सय ४६ स्थानीय र अन्य पालिकाका ११ जनाले अनुमतिपत्र बनाएको तथ्यांक छ । खलंगाबाट भारतको मोटरबाटो हुँदै व्यासको छाङरु पुग्ने र छाङरुबाट तिंकर गाउँ हुँदै ताक्लाकोटतर्फ यात्रा गर्नुपर्ने अवस्था छ । व्यासको छाङरुमा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छ भने तिंकरको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इप्रका सञ्चालनमा छन् ।

गत वर्ष एक महिनामा एक पटक मात्रै ताक्लाकोट प्रवेश गर्न दिइएको थियो । यो वर्ष पनि कडाइ गर्ने संकेत देखिएको व्यासक्षेत्रका बासिन्दा बताउँछन् । स्थानीयवासी र व्यापारीको मागबमोजिम कम्तीमा पनि एक हप्तामा एक पटक ताक्लाकोट प्रवेश गर्न दिनेबारे समन्वय गरिने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । ‘चिनियाँ पक्षसँग सम्पर्क हुँदा प्रस्ताव राख्छौं, उच्चस्तरको संयन्त्रमार्फत पनि यो माग अघि बढाइरहेका छौँ’, पौडेलले भन्नुभयो । 

कोभिड महामारीका कारण बन्द रहेको लिपुलेक नाकाबाट यो वर्ष कैलाश–मानसरोवर यात्रा सुचारु गरिएको छ । तर, भारतीय व्यापारीलाई लिपुलेक नाका हुँदै परम्परागत रूपमा ताक्लाकोटसम्म व्यापार गर्न दिइएको छैन । कोभिडअघिसम्म भारतीय व्यापारीले पनि ताक्लाकोटमा व्यापार गर्दथे । दुई देशबीच यसबारे सहमति भइनसकेकोले यो वर्ष लिपुलेकबाट व्यापार हुने सम्भावना नरहेको ताक्लाकोटस्थित नेपाली व्यापारी विमलकुमार बोहराले बताउनुभयो । हालसम्म ५०–५० जनाको ३ वटा टोली कैलाश दर्शनका लागि तिब्बती भूमि प्रवेश गरिसकेको छ । बाँकी दुइटा टोली अगस्त महिनामा कैलाश जाने तयारी छ । 
 

टिप्पणीहरू