अध्यागमन सुधार : प्रयास कि नौटंकी ?

अध्यागमन सुधार : प्रयास कि नौटंकी ?

मुलुकको सबैभन्दा पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय बद्नाम छ । भिजिट भिसाको आवरणमा मानव तस्करीदेखि कर्मचारीको रुखो व्यवहारसम्मले अध्यागमन बारम्बार विवादमा तानिने गरेको छ । 

अध्यागमनलाई मुलुकको ऐनाका रुपमा हेर्ने गरिन्छ । कुनै पनि देशको नागरिक अन्य मुलुक आउँदा त्यहाँको अध्यागमनले शुरुमा उसलाई प्रभावित पार्छ । अध्यागमनबाटै देश र त्यहाँको नागरिकबारे विदेशीले अड्कल गर्न थाल्छन् । 

तर, सेवा प्राप्तिका लागि घण्टौं लाइनमा बस्नुपर्ने, कर्मचारीको दुव्र्यवहार, नक्कली कागजात बनाएर विदेश पठाएकोजस्ता घटनाले त्रिवि अध्यागमन सधैं विवादमा तानिरहन्छ । पछिल्लो समय भने सुधारका निम्ति अध्यागमन कार्यालय तातिएको देखिएको छ । 

कर्मचारीको बोलीवचनमा मिठाससँगै जिम्मेवार, जवाफदेही बनाउन र विवाद, अनियमितता नियन्त्रण गर्न भन्दै अध्यागमन कार्यालयले विभिन्न नीतिनियम ल्याएको छ । यद्यपि, यो कार्यान्वयन हुनेमा आशंका छ । बद्नाम अध्यागमनमा साँच्चिकै सुधारको प्रयास हो कि नौटंकी मात्रै ? जनस्तरमा प्रश्न उब्जिएको छ । 

यसकारण थालियो सुधार

अध्यागमनमा सुधारको प्रयास थालिनुको प्रमुख कारण हो, भिजिट भिसा प्रकरण । गत जेठ पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि अध्यागमन कार्यालयमा छापा मार्यो । सो क्रममा बिचौलियासँग मिलेर भिजिट भिसाको आडमा मानव तस्करी गरिएको आशंकामा तत्कालीन अध्यागमन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइयो । 

उनलाई छोडिएपनि गृहमन्त्री रमेश लेखककै संलग्नतामा मानव तस्करी भएको भन्दै सदनदेखि सडकसम्म  राजीनामाको आवाज चर्कियो । यही विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई महिनादेखि सदन अवरोध गरिरहेको छ ।  

अहिले गृहमन्त्री लेखकको राजीनामाको आवाज सेलाएपनि अध्यागमनमाथि गम्भीर दाग लागेको छ । अध्यागमनप्रति बढ्दो अविश्वास र गुमेको साखसँगै सुधारका निम्ति गृहमन्त्री लेखकले गत असार पहिलो साता काम–कारबाही अघि बढाउन पनि निर्देशन दिएका थिए । सोहीअनुरुप अध्यागमन कार्यालयले विभिन्न नीतिनियम ल्याएको हो । 

यस्ता छन् सुधारका प्रयास 

अध्यागमनमा सुधारका निम्ति कार्यालयले नैतिक संहितादेखि एकीकृत जवाफदेहिता म्याट्रिक्स लागू गरेको छ । असार अन्तिमदेखि यो लागू लागिएको हो । जसमा कर्मचारीको आचरण, व्यवहारमा सुधारसँगै कारबाहीसम्मको व्यवस्था गरिएको छ । 

योसँगै विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ । कार्यालयले लागू गरेको नैतिक संहितामा अध्यागमनका कर्मचारीले विदेश प्रस्थान गर्ने यात्रुलाई ‘ह्याभ अ सेभ जर्नी’ र नेपाल प्रवेश गर्नेलाई ‘वेलकम इन नेपाल’ भन्नुपर्ने व्यवस्था गरिएको छ । 

थोरै र आवश्यक प्रश्न मात्र सोध्ने, रोजगारीका निम्ति विदेश जानेलाई सम्मानयुक्त शब्द बोल्नुपर्ने, रुखो व्यवहार नगर्ने, बोली वचनमा मिठासपना दिने, पर्यटकसँग बोलीवचन र हाउभाउले आत्मीयता प्रदान गर्नेजस्ता विषय पनि छन् । 

यस्तै, एकीकृत जवाफदेहिता म्याट्रिक्समा अध्यागमनबाट अवाञ्छनीय गतिविधि गरिएको पाइएमा कारबाही हुने व्यवस्था गरिएको छ । अध्यागमन प्रक्रियामा बारम्बार देखिने कमजोरी, विवाद र अनियमितता नियन्त्रण गर्न भन्दै लागू गरिएको म्याट्रिक्स तीन चरणमा विभाजित छ । 

जसमा कुनै त्रुटि वा समस्या देखिएमा कुन कर्मचारी प्राथमिक रुपमा जिम्मेवार हुने र अन्तिम जवाफदेही को हुने भनी स्पष्ट रुपमा किटान गरिएको छ । म्याट्रिक्सले नेपाली नागरिकको प्रस्थान, विदेशी नागरिकको आगमन तथा बसाइ र प्रक्रियागत त्रुटिहरुलाई मुख्य तीन खण्डमा बाँडेर हरेक अवस्थामा हुने कारबाहीको व्यवस्था गरेको छ ।

नेपाली नागरिकको प्रस्थान खण्डमा आवश्यक कागजात पूरा नभएका यात्रुले प्रस्थान अनुमति पाई फिर्ता भएमा, नक्कली वा फर्जी कागजातमार्फत यात्रा गरेको पाइएमा, प्रणालीबाट जाँच गर्न सकिने कागजात नजाँची प्रस्थान अनुमति दिएमा, यात्रामा प्रतिबन्धित यात्रुले यात्रा गरेको पाइएमा, एउटा उद्धेश्य देखाई गएको व्यक्ति विदेशमा अलपत्र परेमा सम्बन्धित कर्मचारी जवाफदेहीसँगै कारबाहीको भागिदार हुनुपर्छ । 

विदेशी नागरिकको आगमन तथा बसाई सम्बन्धमा नेपाल प्रवेश गर्न रोक लागेको व्यक्तिले भिसा अनुमति पाएमा सो जारी गर्ने अध्यागमन अधिकृतमाथि कारबाही अघि बढाइने छ भने भिसा नवीकरण नगरी लामो समय बसेमा देश निकाला हुनेछ । 

यसैगरी, प्रक्रियागत त्रुटीमा आगमन छाप नलगाई यात्रु बाहिर आएमा, यात्रुलाई धेरैबेर होल्डमा राखी उडान प्रभावित पारेमा, राहदानीमा छाप नलगाई प्रणालीमा मात्र प्रविष्टि गरेमा, भिसा शुल्क बैंकमा तिरेपनि बिना भिसा प्रवेश गराएमा, भिसामा केरमेट वा नबुझिने गरी स्ट्याम्प लगाएमा एक पटकका लागि सम्बन्धित कर्मचारीलाई सचेत गराउने र दोस्रो चोटिदेखि विभागीय कारबाही गरिनेछ । 

प्रक्रियागत त्रुटिअन्तर्गत नै कालोसूची वा इन्टरपोल हिटमा भएको व्यक्तिलाई प्रवेश–प्रस्थान अनुमति दिएमा, नक्कली वा चोरीको राहदानीमा भिसा दिएमा, गैरआवासी नेपालीको परिचयपत्र बिना निःशुल्क भिसा दिएमा, प्रणालीमा प्रविष्टि नगरी विदेशीलाई नेपाल भित्र्याएमा, वैध भिसा नभएकालाई प्रस्थान अनुमति दिएमा र शरणाथी हैसियतका यात्रा अनुमति पत्रवाहकलाई अन–अराइभल भिसा दिएमाजस्ता विषय समेटिएको छ । 

कार्यान्वयनमा शंका 

नक्कली पासपोर्टमा नक्कली भिसा, नक्कली कागजात देखाएर अध्यागमन पास, अध्यागमन अधिकारीको अभद्र व्यवहार, ढिलासुस्ती, आपराधिक पृष्ठभूमिका व्यक्तिको विमानस्थलमा सजिलै आउ–जाउजस्ता विषय त्रिवि अध्यागमनका लागि सामान्य हुन् । 

भिजिट भिसामा मानव तस्करी गराउने गिरोहलाई सघाउनेमा पनि अध्यागमनकै कर्मचारीको संलग्नता भेटिन्छ । तर, यस्ता गम्भीर र जघन्य अपराधमा संलग्न भएपनि राजनैतिक संरक्षण र पहुँचमा अध्यागमनका कर्मचारीहरुले उन्मुक्ति पाउँदै आएका छन् । 

यसले पछिल्लो समय अध्यागमन कार्यालयले सुधारका लागि ल्याएको नीतिनियम कार्यान्वयनमा शंका देखिन्छ । कार्यालयले देखावटका लागि मात्र नीति ल्याएको अधिकांशको ठम्याई छ । रत्नमणि अधिकारी भन्छन्, ‘पार्टीको झोले नभएको कर्मचारीले चाँहि उन्मुक्ति पाउँदै पाउँदैनन्, बाँकी अरु त देखिरहेकै हो ।’
त्यस्तै, अमृत लामाले ‘हात्ती आयो हात्ती आयो फुस्स’ भन्दै व्यग्ंय गरेका छन् । ‘होइन फेरि के को नौटंकी हो ? मानव तस्करको अखडा अध्यागमनमा यस्ता नीतिनियम ल्याउँदैमा सुधार सम्भव छैन । सुधार गर्ने नै हो भने शुरुमा नाइकेहरुलाई कारबाही गर्नुपर्छ,’ सामाजिक सञ्जालमै भेटिएको छ ।

गल्ती गर्ने जोकोही कर्मचारीमाथि कारबाही हुन्छः अध्यागमन 

अब गल्ती गर्ने जोकोही कर्मचारीमाथि कानूनबमोजिम आवश्यक कारबाही हुने दाबी अध्यागमन कार्यालयले गरेको छ । कार्यालयका सूचना अधिकारी वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपाने अध्यागमनमा सुधारकै निम्ति नैतिक संहिता र एकीकृत जवाफदेहीता म्याट्रिक्स ल्याइएकोले शतप्रतिशत कार्यान्वयन हुने बताउँछन् ।
 
उनले भने, ‘यो कानूनमै भएको व्यवस्था हो । त्यसलाई नयाँ रुपमा व्यवस्था गरेर मात्र ल्याइएको हो । पहिले पनि गल्ती गर्ने कर्मचारीमाथि कारबाही हुने गरेको थियो । अब झन् कडाई गरिएको छ ।’ नैतिक संहितापछि कर्मचारीहरुको आचरण, बोलीवचनमा सुधार आइरहेको पनि सूचना अधिकारी न्यौपानेले बताए । 

टिप्पणीहरू