सेनापतिको ज्यान बढोस्, ध्यान नघटोस्

सेनापतिको ज्यान बढोस्, ध्यान नघटोस्

मित्रताको रसायन जोड्न राजनीतिले छोडेको बेला सैन्य कूटनीतिले छिमेकी राष्ट्रहरूसँग सम्बन्ध नवीकरणमा सघाउने गरेको उदाहरण पछिल्लो भारतीय नाकाबन्दीताका देखिएकै हो । तीनतारे जर्नेल हुँदा फुर्सदिला र टिमिक्क शरीर मिलेका प्रधानसेनापति अशोक सिग्देलको ज्यान पुटुक्क बढ्न थालेपछि यस्तो चर्चा सुरु भएको छ । पोहोर भदौ तेस्रो सातासम्म अलिक फुर्सदिला थिए र शारीरिक अभ्यासमा पनि समय दिन भ्याए । तर, जिम्मेवारी थपिएपछि टेबल वर्कको चाप बढ्यो, सरुवा बढुवालगायतका कामको उल्झन आइलाग्यो, मोटाउँदै जान थाले । यसैकारण सुधारका अन्य काममा खासै ध्यान दिन नपाए पनि सैन्य कूटनीतितर्फ लाग्नुपर्ने सुझाव दिन थालिएको छ । 

शीर्ष नेतृत्वको विदेश भ्रमण पातलिएका कारण सैनिक कूटनीतिमा अलिक कम महत्व दिइएको हो कि भन्ने भान परेको एक सुरक्षा विश्लेषकले बताए । त्यसो त बंगलादेशमा भएको आन्तरिक सत्ता परिवर्तनका कारण त्यताको यात्रा रद्द हुन पुगेको वास्तविकता भने हुँदै हो । जेसुकै भए पनि सैनिक कूटनीति सञ्चालनको निरन्तरतातर्फ विशेष ध्यान दिनुपर्ने राय पूर्वरक्षासचिवको छ । भन्छन् ‘सत्ता परिवर्तन भए पनि चीन, भारत, अमेरिका, बेलायत, पाकिस्तान र बंगलादेश जान छोड्नु हुँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट निम्तो नपाए पनि स्वतन्त्र देशको हैसियतमा सिग्देलले उता गएर आवश्यक उपकरण जोडजाडका लागि वार्ता सकाइसकेका छन् ।

नेपाली सेनाले कतिपय लजिस्टिक सामग्री सैनिक कूटनीतिकै कारण प्राप्त गरेको अवस्था छ भने हातहतियार मात्रै किन्दै आएको छ । अहिले आएर सवारी साधनहरूको पनि अभाव हुँदै गएको छ । स्केलअनुसार महासेनानीदेखि नै सबैलाई सवारी साधन उपलब्ध गराउनुपर्ने हुन्छ । यस्ता साधनहरू पुराना हुँदै जाँदा नयाँ आपूर्ति निरन्तर रूपमा गर्नुपर्ने हुन्छ । सेनाको निम्ति गोलीगठ्ठा मात्रै सबैथोक होइन । यी चिजहरूको आपूर्ति राष्ट्रको आर्थिक अवस्थाअनुसार निर्धारण हुने गर्दछन् । चीनबाट करोडौं पर्ने सिग्नलका सामग्रीहरू ल्याउन सकिएको छैन । सेनापति सिग्देल जानेबित्तिकै त्यस्ता सञ्चार उपकरणलगायत सामग्री पाइने अवस्था भएको स्रोतको दावी छ । 
 

टिप्पणीहरू