विकासको लयमा तंग्रिँदै रोल्पा

विकासको लयमा तंग्रिँदै रोल्पा

०१९ सालमा पञ्चायती संविधान जारी भएसँगै रोल्पाले नयाँ जिल्लाको आकार ग्रहण गरेको हो । छिमेकी सल्यान, रुकुम, प्युठान र दाङ जिल्लाको रूपमा चिनिएका बेला रोल्पा भने अस्तित्वममै थिएन । छिमेकी जिल्लाका दुर्गम क्षेत्र कटाएर बल्ल जिल्ला बनेको हो । 

रोल्पालाई २०३३ सालमा पुनरसंरचना गरिएको थियो । पछिल्लो पटक भने रोल्पा तंग्रिन थालेको छ । सडक सञ्जाल सबै वडामा विस्तार भएको छ । विद्युत, खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रसमेत उक्सिँदै गएका छन् ।मध्यरोल्पालाई दाङको घोराहीसँग जोड्ने बाजावाङ खोला पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । पुल निर्माणसँगै रोल्पा सदरमुकामलाई दाङ सदरमुकामसँग जोड्ने सबभन्दा छोटो बाटो हुनेछ ।

लिवाङ सल्लिबोट धौलावाङ सडक खण्डमा पर्ने बाजावाङ खोला पुल रोल्पा नगरपालिका वडा नंं १ र ५ पर्छ । ४५ मीटर लम्बाईको उक्त पुल फुटपाथसहित १० मीटर चौडाईको रहेको छ । जानकी निर्माण सेवा सिर्प रोल्पासँग २०८० साल असार २० गते ठेक्का सम्झौता भएको थियो । २०८१ साल पुस १९ गते कार्यसम्पन्न हुनुपर्नेमा २०८२ असार १५ गते म्याद थपिएको थियो ।

भ्याटसहित आठ करोड ६२ लाख ४३ हजार ४ सय ६ रुपैयाँ लागतको उक्त आयोजनाको हालसम्म ८४ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति भइसकेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका कार्यालय प्रमुख इञ्जिनियर हेमन्त रोकाले जानकारी दिनुभयो । रोल्पालाई दाङसँग जोड्न तीन वटा घोरेटो निर्माण गरिएका थिए । कालान्तरमा मोटरबाटो बनाउने उद्देश्यसाथ बनेका ती घोरेटो बाटोमध्ये घोराही दुईखोली, राम्चे, उघा, लिवाङी आँप, कोछाप, बाजावाङ, कालिमाटी हुँदै सदरमुकाम लिवाङ जोड्ने घोरेटो थियो । यो बाटोले मध्यरोल्पालाई दाङसँग जोड्ने काम गरेको थियो ।

हाल सो सडकमा पुल निर्माण भइरहे पनि सडक निर्माणले भने गति लिन सकेको छैन । २०४२ सालदेखि ट्र्याक खोल्न शुरु गरिएको सो सडक निर्माण आरम्भ गरिएको करिव ४० वर्षपछि निर्माण सम्पन्न हुने आशामा रहेको स्थानीयवासी चुडामणी शर्माले बताउनुभयो । 

छिमेकी जिल्ला प्युठान, दाङ, सल्यानमा क्याम्पस खुलेको निकै लामो समयपछि मात्रै रोल्पामा स्नातक तहको क्याम्पस खुलेको हो । २०६१ सालमा जलजला बहुमुखी क्याम्पसको नाममा जिल्ला सदरमुकाम लिवाङमा खुलेको सो क्याम्पस हाल मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालित छ । विगतमा स्नातकोत्तर तह अध्ययन गरेका रोल्पाली विरलै भेट्न पाइन्थ्यो । अहिले यो संख्यामा उल्लेख्य वृद्धि भएको छ । दर्जनौँ रोल्पालीले विद्यावारिधिसमेत गरी सकेका छन् । 

अहिले रोल्पा जिल्लाका ९० प्रतिशत जनता टेलिफोनको पहुँचमा पुगिसकेको नेपाल टेलिकमका कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिनुभयो । २०५४ सालदेखि रोल्पामा विद्युत् सेवा सञ्चालन गरिएको छ । झिम्रुक जलविद्युत आयोजनाबाट वितरित विद्युत सेवा विस्तारसँगै रोल्पा झिलिमिली भएको हो । हाल रोल्पाका ८० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको विद्युत प्राधिकरणको भनाइ छ ।

मातृमृत्युदर, शिशुमृत्युदर विगतको तुलनामा निकै घटेको छ । संस्थागत सुत्केरी दरसमेत बढ्दै गएको छ । हाल रोल्पा जिल्लामा ५१ शैयाको जिल्ला अस्पताल छ ।

प्रायःजसो रोल्पाली कमाउन कालापहाड जाने गर्थे । पछिल्ला दिनमा भने दुबई, कतार, तथा अरब देशहरूमा जाने र लोकसेवा पास गरेर सरकारी सेवा गर्नेको संख्या पनि बढ्दै छ । हाल रोल्पा जिल्लाका आधा दर्जनभन्दा बढी सरकारी कार्यालयको प्रमुखमा रोल्पाली नै छन् ।

टिप्पणीहरू