टंकको प्रेममा त्यो जायज

टंकको प्रेममा त्यो जायज

प्रेममा सबै जायज हुन्छ भन्ने उक्ति पछिल्लो समय फेल हुन थालेका छन् । प्रेममा त्याग, समर्पण, बलिदान हुन छाडेर स्वार्थ, बार्गेनिङ र असुली धन्दा फस्टाउन थालेका छन् । उमेरमा गरिने प्रेम सम्बन्धमा बदलिन थालेका छन् । शारीरिक सम्वन्ध नहुँदा प्रेम नै नहुनेजस्तो गरी युवायुवती प्रेममा फस्न थालेका छन् । 

कम उमेर, अभिभावकको अरुचि, पारिवारिक अवस्था तथा जातीय र क्षेत्रीयताका कारण युवायुवतीले साँचो प्रेम गरेको भए पनि अभिभावकले उनीहरूको सम्बन्ध छुटाउने उद्देश्यले जबर्जस्ती करणी, अपहरण, शरीर बन्धकजस्ता गम्भीर अपराधमा उजुरी दर्ता गर्ने क्रम बढेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रेम गर्ने, सहमतिमा सम्बन्ध राख्ने र असहमति हुँदा जबर्जस्ती करणीमा मुद्दा दर्ता गर्ने घटनालाई निस्तेज पार्ने गरी अभियोगमा संलग्न व्यक्तिलाई सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले २०८१ भदौ ११ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा दर्ता गरेको अभियोगमा महाभारत गाउँपालिकाका टंक राना मगरलाई अभियोग दावी नपुग्ने ठहर गरेको हो । २०८२ जेठ २६ गते भएको उक्त आदेशपछि टंक राना मगरले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएका हुन् । घटना विवरणअनुसार बनेपा नगरपालिका–८ स्थित इँटाभट्टामा डेरा गरी बस्ने प्रतिवादी टंकबहादुर राना मगरले आफ्नी प्रेमिकालाई बनेपाको अरनिको राजमार्गसँगै टेलिकमचोकमा बोलाएर ललाई फकाई कोठामा पुर्‍याई जबर्जस्ती करणी गरेको जाहेरी दर्ता भएको थियो । 

प्रहरीले सोही जाहेरीका आधारमा टंक राना मगरलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । टंक राना मगरले आफू आइचर गाडी चलाउने क्रममा बालुवा तथा ढुंगा ओसारपसार गर्दा उनकै गाउँमा पुगेको बेला  शुरुमा चिनजान भएको बयान दिएका थिए । त्यसपछि लगातार फेसबुक, फोन, म्यासेजमार्फत तीन वर्षदेखि प्रेम गरिरहेका थिए । पीडितको उमेर सानै थियो । कक्षा १० मा अध्ययन गर्ने भएकाले विवाह र सम्बन्धका लागि समय नभएको भन्दै उनीहरूले एकअर्कालाई विश्वासमा प्रेम गरिरहने बताएका थिए । ०८१ साल असार १० गते बालिका कक्षा १० को ट्युसन अध्ययन गर्न बनेपा आइन् । त्यतिबेला तीन वर्ष लामो प्रेममा बसेको अवस्थामा भेटघाट गरौँ भन्ने कुराकानी भयो । सोही क्रममा २०८१ साउन ९ गते टंक र बालिकाको भेट भयो । पछि उनी मामाघर जाने भन्दै बिदा भइन् । केही दिनपछि उनले आफन्तको सहयोगमा टंकविरुद्ध जर्बजस्ती करणीमा जाहेरी दिइन् । 

एक वर्ष लामो अनुसन्धानपछि टंक राना मगरले सफाइ पाए । बालिकाले २०८१ सालको एसईई दिएकी छन् । जिल्लामा पछिल्लो समय प्रेम गर्ने अनि अभिभावकले थाहा पाएपछि जोगिनलाई करणीमा उजुरी दिने क्रम बढिरहेको छ । जिल्ला अदालतले यस्ता घटनामा तथ्य र प्रमाणका आधारमा मुद्दा फैसला गरेको छ । यसअघि पनि यस्ता अभियोगमा पीडकहरूले सफाइ पाएका छन् । 

टिप्पणीहरू