देउवाको गृहजिल्लामा भयानक भ्रष्टाचार

देउवाको गृहजिल्लामा भयानक भ्रष्टाचार

विद्याको मन्दिरमा भ्रष्टाचार ! पटकपटक प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको कहानी हो यो । भागेश्वर गाउँपालिका–१, दुनालेखस्थित श्री खिट्केश्वर प्राथमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको पाइएको छ । 

पाँच कक्षासम्म अध्यापन हुने सो विद्यालयको एक तल्ले भवन निर्माणका लागि आर्थिक वर्ष २०८०–८१ मा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २१ लाख रूपैयाँ विनियोजन गर्दा प्रधानाध्यापक जयबहादुर थापामगरले मिलेमतोमा उपभोक्ता समितिमार्फत आफ्नै भाइ वीरबहादुरलाई ठेक्का दिलाए । 

दुईकोठे भवनका लागि १८ लाख रूपैयाँमा काम दिएको स्रोतले जनाएको छ । एक लाख रूपैयाँ आफ्नालागि र दुई लाख रूपैयाँ गाडी भाडा तथा अन्य खर्चका निम्ति छुट्याइएको छ । तर, निर्माण थालिएको दुई वर्ष बितिसक्दा पनि काम पुरा हुन सकेको छैन । 

पिलर ठड्याएर भवन अलपत्र

जग हाल्ने र पिलर ठड्याउनेबाहेक अन्य काम भएको छैन । गारो लगाउने काम शुरु भए पनि अधुरो छोडिएको छ । निर्माण सामग्री अलपत्र छ । निर्माण सामग्री थुपारेर राखिएको छ । भवन निर्माण छोडेर प्रधानाध्यापकका भाइ सुटुक्क युरोप पुगेका छन् । स्रोतका अनुसार मन्त्रालयले दुई किस्ताको भुक्तानी दिइसकेको छ । एक किस्ता भने रोकेर राखेको छ । पारिश्रमिक नपाउँदा मजदुरहरूको बिचल्ली छ । निर्माणमा झण्डै डेढ दर्जन मजदुर खटिएका थिए । उनीहरू सबै स्थानीय हुन् । नम्बर १ का वडाध्यक्ष मणिकराज भट्टले आधा पनि काम नभएको बताए । भवन निर्माण नसकिँदा विद्यार्थी मर्कामा परेको उनको जिकिर छ । सो विद्यालय निकै विकट ठाउँमा पर्छ । आफ्नै भवन छैन । दुई कोठे भवनमा २७ जना विद्यार्थी पढ्न बाध्य छन् । यसअघि ३३ जना विद्यार्थी थिए । ६ जना अर्कै विद्यालयमा भर्ना भएका छन् । त्यसैगरी, दुई शिक्षक र एक कार्यालय सहयोगीसहित तीन जना कर्मचारी छन् । भवन नहुँदा विद्यालयमा बालविकास कक्षा सञ्चालन गर्न सकिएको छैन ।

टिप्पणीहरू