रविका कार्यवाहकको अर्को काण्ड

रविका कार्यवाहकको अर्को काण्ड

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र सरकारमाथि खनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरु आफ्ना कार्यवाहक सभापति डिपी अर्यालको संलग्नताबारे प्रश्न उठेपछि केही हच्किएकोमा उनै अर्यालले १२ वर्षअघि जापानमा बदमासी गरेको कागजात फेला परेको छ । जापान मनी एक्सप्रेसको टोक्योस्थित सिरोकानेदाई, मिनाटो जेन्ट क्षेत्रमा एजेन्टको इजाजत लिएका अर्याललाई सन् २०१३ जनवरी १८ मा कान्टो लोकल फाइनान्स ब्युरो,ट्रेजरी विभाग,फाइनान्स सुपरभिजन डिभिजन नम्बर ५ ले तोकिएको शर्तविपरित रकम डिपोजिट गरेको अभियोगमा कारबाही गरेको थियो । 

प्राप्त विवरणअनुसार अर्यालको एजेन्ट कम्पनीले हरेक दिन तोकिएको सीमाभन्दा बढी रकम कारोबार गरेको,आवश्यक जमानत रकमभन्दा कम राखेको र सन् २०१० देखि २०१२ सम्म बुझाइएका त्रैमासिक प्रतिवेदनहरूमा नक्कली तथ्याङ्क समावेश गरेको थियो । ती सबै कार्यमा कम्पनीका मुख्य व्यक्ति (प्रतिनिधि) डोलप्रसाद आर्यालको प्रत्यक्ष संलग्नता देखिएको रिपोर्टमा प्रष्ट उल्लेख छ । 

यसबाहेक,डोलराजको कम्पनीले जापानबाट इण्डोनेसियातर्फ पठाउने रेमिट्यान्सका लागि ग्राहक दर्ता र परिचय प्रमाणीकरण जस्ता कुनै पनि कार्य नगरेको,आन्तरिक स्वीकृति नलिएको र हचुवाको भरमा अर्को एजेन्टलाई काम दिएर तोकिएको शर्त तोडेको पाइयो  । अर्यालले जिम्मेवारी दिएका सेवा प्रदायक हराएपछि जापान मनी एक्सप्रेस कम्पनीले इण्डोनेसियातर्फका सबै रेमिट्यान्स सेवा रोक्नु परेको थियो भने ग्राहक विवरण अभिलेखहरू समेत हराएको विषय पछि पत्ता लागेको थियो ।

त्यस्ता गम्भीर लापरवाहीपूर्ण काम गरेपछि डोलराजको कम्पनीको रेमिट्यान्स सेवा २०१३ जनवरी १८ देखि फेब्रुअरी १७ सम्म बन्द गरिएको रिपोर्टमा उल्लेख छ । कारबाहीसँगै जापानको रेमिट्यान्ससम्बन्धी कानुनी पालना सुनिश्चित गर्न अर्याललाई विस्तृत सुधार योजना सोही वर्षको २०१३ फेब्रुअरी १५ भित्र पेश गर्न निर्देशन दिइएको थियो ।

जापानी उक्त फाइनान्स ब्युरोले अर्याललाई विगतका कमजोरी नदोहोर्याउन र सुधार योजनामा सात वटा बुँदा समावेश गर्न निर्देशन दिएको थियो । जसमा कानुनी पालनाप्रति व्यवस्थापनको स्पष्ट प्रतिबद्धता,आन्तरिक नियन्त्रण र लेखापरीक्षण प्रणालीको सुदृढीकरण,बाँकी दायित्वको सुरक्षा र पारदर्शी लेखा प्रणाली,आउटसोर्सिङमा निगरानी, केवाईसी र डेटा व्यवस्थापनमा सुधार एवम् ग्राहकको व्यक्तिगत जानकारीको सुरक्षा राख्नुपर्ने उल्लेख छ ।

सुधार कार्यमा उल्लेखनीय प्रगति नभएसम्म अर्याललाई साप्ताहिक रूपमा बाँकी दायित्वको रिपोर्ट पेश गर्न निर्देशन दिइएको थियो । उनले जापान मनी एक्सप्रेस कम्पनी लिमिटेडको एजेन्ट लाइसेन्स सन् २०१० जुलाई ३० मा लिएका थिए । 

यता नेपालमा पनि उनले ट्राभल एजेन्सीसँगै रेमिट्यान्स कम्पनी सञ्चालन गरेर विपरीत क्षेत्रका दुई व्यवसायमा सफल नेतृत्व दिएको सन् २०२१ मा एक अनलाइनलाई बताएका थिए । त्यतिबेला उनी इजिलिंक रेमिटेन्स प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत र सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लि. मा प्रबन्ध निर्देशक थिए । 

अर्यालले भनेका थिए,‘रेमिटेन्स र पर्यटन दुवै क्षेत्रमा एकसाथ व्यवसाय गर्नु निकै चुनौतीपूर्ण छ । तर मेरो प्रदर्शनप्रतिको लगाव र समर्पणले नै मलाई यी चुनौतीहरूसँग जुझ्न सक्षम बनाएको हो ।’ सुमिरे सन् २००१ मा खोल्दा सन् २०१० मा अर्यालले इजिलिंक रेमिटेन्सको व्यवस्थापन जिम्मेवारी लिएका थिए । ठमेल नजिकैको नयाँ बजारमा रहेको इजीलिंकले अहिले पनि जापान,दक्षिण कोरिया र साइप्रसमा रहेका नेपाली कामदारहरूलाई सेवा दिइरहेको जनाएको छ ।

यसरी रवि र उनको कोर टिम शुरुदेखि इजी मनीमा लालायित हुँदै अमेरिकादेखि जापान र नेपालसम्म कानुन तोड्नमा अब्बल देखिएको कैयौं प्रमाणबाट पुष्टि हुन आउँछ ।
 

टिप्पणीहरू