काठमाडौं महानगरको दुई वटा बैठक एकैदिन
संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट पेश गर्न नसकेपछि विवादमा तानिएको काठमाडौं महानगरपालिका बजेटको तयारीमा जुटेको छ । भोलि बिहान ११ बजे बजेटको स्रोत तथा सीमा निर्धारण समितिको बैठक बोलाइएको छ ।
त्यसका लागि नगर कार्यपालिका सदस्यहरुलाई पत्राचार गरिसकिएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए । त्यसैगरी, भोलि नै कार्यपालिका बैठक बोलाउनेगरी छलफल भइरहेको उनले जानकारी दिए ।
कार्यपालिका बैठकको समय तय भइनसकेको उनको जिकिर छ । जनआस्थासँग उनले भने,‘समितिको बैठक ११ बजे राखिएको छ । सोहीअनुसार सबै कार्यपालिका सदस्यलाई पत्राचार गरिसकिएको छ । कार्यपालिका बैठक पनि भोलि नै बस्ने भन्ने छ । दिउँसो २ बजे बैठक बोलाउनेगरी छलफल भइरहेको छ ।’
उनका अनुसार असार मसान्तभित्र बजेट आइसक्छ । महानगरको कार्यपालिकाको बैठक बस्न नसकेको झण्डै छ महिना भइसकेको छ । मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादले गर्दा गत पुस ८ गते यता बैठक बसेको छैन । उपमेयर सुनिता डंगोलसहित वडाध्यक्षहरुले बैठक बोलाउन आग्रह गरेपनि बालेनले बेवास्ता गर्दै आएका थिए ।
बजेटमाथि छलफल गर्न गत असार ४ गते बोलाइएको स्रोत समितिको बैठकबारे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई जानकारी नै नदिइएपछि अन्तिम समयमा स्थगित गर्नुपरेको थियो । यता, उपमेयरले त्यसप्रति आपत्ति जनाउँदै मेयरलाई उत्तेजनामा नआउन सुझाव दिँदै सामाजिक सञ्जालमा स्ट्याट्स लेखेकी थिइन् ।
टिप्पणीहरू