यौनकाण्डमा ५ वर्षको ठप्पा

यौनकाण्डमा ५ वर्षको ठप्पा

सशस्त्र प्रहरीका एक जना हाकिमको पाँच वर्षका लागि बढुवा रोक्का गरिएको छ । यसरी करिअरमै नराम्रो आघात पुग्ने गरी उनीमाथि भएको कारबाहीको कारण हो, यौनदुव्र्यवहार । समाचार स्रोतका अनुसार सुडान शान्ति मिशनमा खटिएका उनले नर्वेजियन अफिसरलाई खाना खान बोलाएर अभद्र व्यवहार गरेपछि युएनमा उजुरी परेको थियो । त्यसको छानबिन गर्ने क्रममा दोषी ठहरिएपछि रविन कर्णजित नामक एसएसपीलाई जागिरबाटै बर्खास्ती गर्नेसम्मको तयारीमा सशस्त्र प्रहरी बल अघि बढेको थियो । 

स्रोतका अनुसार उनले लगातार इन्कारी बयान दिएका थिए । सिनियर अफिसरहरुलाई समेत उनका साना बालबच्चा र परिवारको माया लाग्यो अनि पाँच वर्षलाई बढुवा रोक्का भएको हो । यसबारे टिप्पणी गर्दै केही डिआइजी भन्छन्, ‘फौजमा पाँच वर्ष बढुवा रोकिनु र जागिरबाट बर्खास्ती हुनु उस्तै–उस्तै हो । न अब उनको डिआइजीसम्म बन्ने सपना पूरा हुन्छ न त जागिर खाइराख्ने वातावरण नै बन्छ ।’ 

आरोप के छ भने उनले ती विदेशी महिलालाई सँगै बस्दा तिघ्रा सुम्सुम्याउनेदेखि मोबाइल, फेसबुक, ह्वाट्सएपलगायतबाट विभिन्न म्यासेज पठाउने गरेका थिए । पटक–पटक मलाई नजिस्क्याऊ भनेर अनुरोध गर्दासमेत रेष्टुरेण्टमा बोलाएर फेरि त्यस्तै हर्कत देखाएपछि भने समस्यामा परेका हुन् । संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति कार्यमा खटिएका बेला उनले गरेका यस्ता हर्कतले नेपालको छवि नै धमिलिने भन्दै कारबाही गरिएको गृहको उच्च स्रोतले जानकारी दिएको छ । 

उनलाई यसप्रकारको कारबाही गरिएको जानकारी संयुक्त राष्ट्रसंघलाई समेत पठाइसकिएको छ । उनीसँग लामो समय सँगै काम गरेका केही अधिकृत भने ती व्यक्तिले कसरी यस्तो हर्कत गरे होलान् भनेर अचम्म मानिरहेका छन् । विभिन्न स्थानमा महत्वपूर्ण जिम्मेवारीसहित पोस्टिङ हुँदा उनले निपुणतासाथ र अत्यन्तै चुस्त/दुरुस्त ढंगले काम गरेको स्मरण उनीहरू गर्छन् । सशस्त्रमा जागिर खानुअघि निजी विद्यालयमा प्रिन्सिपल थिए । त्यहाँ पनि निकै कुशलतापूर्वक काम गरेको रेकर्ड छ । यसअघि लाइबेरियामा पनि निकै राम्रोसँग काम गरेको सहकर्मीहरू स्मरण गर्छन् ।
 

टिप्पणीहरू