रविपछि शंकास्पद धन्दामा रास्वपाका कार्यवाहक सभापति

रविपछि शंकास्पद धन्दामा रास्वपाका कार्यवाहक सभापति

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरेर निरन्तर संसद अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोही विवादमा तानिएको छ ।

सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा सभापति रवि लामिछाने जेलमा रहेपछि कार्यवाहक तोकिएका डोलप्रसाद उर्फ डिपी अर्यालको कम्पनीले एक दशकदेखि सर्वसाधारणलाई भिजिट भिसामा जापान, थाइल्याण्ड र दुबई पठाएको आवाज उठेको छ । भिजिट भिसा प्रकरणको सुइरो स्वयम् आफूतिर तेर्सिएपछि रास्वपामाथि नैतिकताको प्रश्न उठेको छ । 

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सांसद अर्यालको ट्राभल्स एजेन्सीको नामै उल्लेख गरेर भिजिट भीसा प्रकरणको गम्भीर आरोप लगाएका छन् ।  भिजिट भिसामा हजारौंलाई विदेश पठाएर अर्बौं कुम्ल्याएको बताउँदै खतिवडाले छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

भन्छन्,‘सुमिरे टुर्स एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिई संसदमा प्रतिनिधित्व गर्ने र सांसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भीसामा बदमासी गर्ने काम भएको छ ।’ त्यसैगरी, उनले रास्वपामाथि इंगित गर्दै भिजिट भीसाको धन्दा चलाउनेहरु संसदमा उफ्रिरहेको बताएका छन् । 

अगाडि थप्छन्,‘तिनै मान्छेहरु यदाकदा संसदमा आएर उफ्रिने काम पनि भएको सुन्नमा आएको छ । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाइयोस् भन्ने माग गर्न चाहन्छु ।’ संसद् परिसरमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले अवैध काम गरेर आर्जन गरेको सम्पत्तिले पार्टी कब्जा गरी सांसद बनेकाले अरुलाई कारबाही गर भन्दै कराउनु ठीक नभएको बताए ।

 

‘ट्राभल एजेन्सीको नाम दिए, अब अर्याल हुन् कि डिपी हुन् कि सिपी त्यो छान्ने काम सरकारको हो । तर, अवैध काम गरेर आर्जन गरेको सम्पत्तिले पार्टी कब्जा गर्ने अनि पार्टीबाट सांसद हुने अनि मानव तस्करलाई कारबाही गर भन्दापनि आफूले के गरेको छ भनेर हेर्दा झनै राम्रो हुन्थ्यो’,उनको भनाइ छ ।

साथै, उनले रास्वपाको चन्दा संकलन अभियानबारे पनि प्रतिक्रिया जनाएका छन् । खतिवडाका अनुसार त्यो सरासर ठगी हो । हस्ताक्षर अभियान चलाउन पाइने तर चन्दाको नाममा ठग्न नपाइने उनको जिकिर छ । भन्छन्, ‘हस्ताक्षर गर्न पाइन्छ, ठग्न पाइँदैन । हस्ताक्षर गरौं, तर हस्ताक्षर गर्दापनि चन्दा लिने, सही पनि गर्न लाउने अनि पैसा पनि उठाउने ?’

जो चोर उसैको ठूलो स्वर भनेझैँ भिजिट भिसामा धेरै मान्छे विदेश पठाउने ट्राभल एजेन्सीमध्ये सुमिरे एक भएको पुष्टि भइसकेको छ । उक्त कम्पनी डिपी अर्याल र कबिन्द्र बुर्लाकोटीको संयुक्त नाममा सञ्चालनमा छ । बुर्लाकोटी रास्वपाका महामन्त्री हुन् । मुकुल ढकाल निस्कासनमा परेपछि उनलाई केही समय कार्यवाहकको जिम्मेवारी दिइएको थियो ।

गृहमन्त्री लेखकमाथि छानबिनको माग गर्दै रास्वपाले संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । उनीहरुले कहिले नीलो च्यादर ओढेर, कहिले शीरदेखि पाउसम्म कालो पहिरन भिरेर सदनमा नाराबाजी गर्दै आएका छन् । अरुमाथि औंला उठाइरहेका रास्वपा सांसद्ले आफ्नै पार्टीका कार्यवाहक सभापतिमाथि लागेको आरोपको हकमा अब के गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू