स्वास्थ्यचौकीका कार्यालय सहयोगीले वाइबालाई छप्काए
मकवानपुरको बागमती गाउँपालिका ९ बेतिनीस्थित स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीले स्थानीय अधबैंशे पुरुषको खुर्पा प्रहारबाट हत्या गरेका छन् । बिहान ५ बजे भएको घटनामा स्थानीय ५७ वर्षीय रामबहादुर वाइबाको ज्यान गएको छ ।
खुर्पा प्रहार गर्ने कार्यालय सहयोगी बाराको निजगढ नगरपालिका ३ सिंगोलका ३५ वर्षीय कुमार थापालाई प्रहरीले पक्रेको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते बनाएपछि अन्य कोही आए अरुलाई पनि छप्काउँछु भन्दै घटनास्थलमै बसेका थापालाई पक्रन इलाका प्रहरी कार्यालय फापरबारीबाट टोली पुगेको थियो ।
प्रहरी टोलीले धारिलो खुर्पासहित थापालाई पक्रेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाँटीमा गहिरो चोट लाग्नेगरी खुर्पा प्रहारबाट गम्भीर घाइते बनाइएका वाइबालाई बेतिनी स्वास्थ्य चौकीका चिकित्सकले मृत घोषणा गरेपछि शव पोष्टमार्टमका लागि हेटौँडा पुर्याइएको छ । घटनाको कारण खुलेको छैन ।
टिप्पणीहरू