पतञ्जली प्रकरणमा १० र १५ हजार धरौटी माग, एकलाई साधारण तारेख

पतञ्जली प्रकरणमा १० र १५ हजार धरौटी माग, एकलाई साधारण तारेख

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको पर्सिपल्ट आज तीन जनाबारे थप आदेश भएको छ ।

अदालत पुगेका तीन जनामध्ये दुई जनासँग धरौटी माग र एक जनालाई साधारण तारिखको आदेश सुनाइएको छ । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरलगायत तीन जनाको इजलासले हाजिर हुन गएका तीन जनामध्ये तत्कालीन नायव सुब्बा ७६ वर्षे रामप्रसाद सत्याललाई साधारण तारेखमा छाडेको छ । अर्का एकजना नासु र नापीका हाकिमलाई क्रमशः १० र १५ हजार रुपैयाँ धरौटीको आदेश दिइएको छ ।

उनीहरु सबैजना कित्ता नम्बर ३२१ को १२ आना ३ दामा जग्गा पासमा संलग्न भएको बताइन्छ । बिगो दाबी नभएका प्रतिवादीलाई भने साधारण तारेखमा छाडिएको हो ।

आजदेखि विशेष अदालतमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दाउपर पनि बहस शुरु भएको छ । सम्भवतः आगामी सोमबारसम्म उक्त मुद्दामा पनि आदेश हुनसक्ने सम्भावना छ । 

त्यस्तै झापाका माओवादी नेता गगन पुरी जोडिएको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दा आजदेखि हेर्दाहेर्दैमा रहेको र सोमबार थप सुनुवाई हुने बुझिएको छ ।


 

टिप्पणीहरू