माधवद्वारा बुझाइयो ३५ लाखको बैंक ग्यारेन्टी, अदालत के भन्छ ?
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ३५ लाख बराबरको बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट निस्कनुभएको छ ।
दुई नम्बर इजलासका प्रमुख न्यायाधीश तेजनारायण राई,रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले आदेश गरेबमोजिम उहाँ धरौटी बुझाएर निस्कनुभएको हो ।
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनाविरुध्द १८ करोड ५८ लाख बिगो मागदावीसहित भ्रष्टाचारको मुध्दा दर्ता गरेको थियो । आज (बुधवार) आफै अदालतमा उपस्थित भएर तीन घण्टा लामो बयान दिनुभएका नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा,खम्बबहादुर खाती,रमण श्रेष्ठ,९३ बर्षीय कृष्णप्रसाद भण्डारीलगायतले बहस गर्नुभएको थियो । माधवका पक्षबाट बहसको निम्ति १ सय २४ जनाले नाम लेखाएका थिए ।
त्यस्तै, अख्तियार र सरकारको तर्फबाट पनि पाँच जना अधिवक्ता बहसमा थिए । बहस सकिएको करिब साढे दुई घण्टापछि मात्रै इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी प्रतिवादी माधवकुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिकालाई समेत मध्यनजर गरी प्रस्तुत मुध्दाको पुर्पक्षको लागि बिशेष अदालत ऐन ०५९ को दफा ७ खण्ड (घ) बमोजिम नगदै ३५ लाख वा सो बराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नू’,आदेशमा भनिएको छ । ऐनको सो दफामा भनिएको छ,‘तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पूर्पक्ष गर्नुपर्ने नदेखिएमा निजसँग धरौटी या जमानत माग्ने।’




टिप्पणीहरू