पचास वकिलसहित माधव नेपाल अदालततिर

पचास वकिलसहित माधव नेपाल अदालततिर

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालमाथि प्रतिशोध साँधिएको भन्दै चौतर्फी प्रश्न उठेका बेला व्यावसायिक वरिष्ठ वकिलहरूले पनि यस्तै निश्कर्ष निकालेका छन् । अख्तियारले १३ वर्षअगाडि मन्त्रिपरिषद्का नीतिगत निर्णय नहेर्ने भन्दै तामेलीमा राखिएको विषय झिकेकोमा आलोचना भइरहेको छ । यही बेला वर्षौंदेखि अनुभवले खारिएका वरिष्ठ अधिवक्ताहरूले पनि नेपालमाथि अन्याय भएको निश्कर्ष निकालेका हुन् । 

कतिसम्म भने एमाले अध्यक्षदेखि नेतासम्मले नेपालमाथि खुच्चिङ भनिरहेका बेला सो पार्टीनिकट वरिष्ठहरूले नै उनीमाथि अन्याय भएको बताउन थालेका छन् । नेपालमाथि अकस्मात यस्तो मुद्दा लागेपछि असार ८ गते आइतबार बानेश्वरको अर्याल होटलमा ५० जनाजति कानुनविद् भेला भएको स्रोतको भनाइ छ । जहाँ नेपालमाथि अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाको कसरी निप्ट्यारा गर्ने भनेर पर्याप्त छलफल भएको थियो । 

‘कांग्रेस, एमाले, माओवादी, समाजवादी सबै दलनिकट कम्तीमा ५० जना वकिल आइतबार भेला भएका थिए । यी सबैको निश्कर्ष थियो– माधव नेपालमाथि ज्यादती भयो । उहाँलाई डिफेन्ड गरेर जानुपर्छ भनेर साझा मत बनेको छ,’ छलफलमा सहभागी एक वरिष्ठ वकिलले भने । सो छलफलमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बार एसोसियसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, रमण श्रेष्ठ, शम्भु थापा, गोविन्द बन्दी, दिनमणि पोरखेल, चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विजयकान्त मैनाली सहभागी थिए । त्यस्तै, बारको महासचिव केदार कोइराला, पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, सर्वोच्च बारका पूर्वअध्यक्ष खगेन्द्र अधिकारी पनि थिए । यस प्रकरणमा ९३ जनाको म्याद तामेल गर्न समय लाग्ने स्थिति छ । तर, व्यक्ति व्यक्तिलाई म्याद तामेल हुनुभन्दा अगाडि माधव स्वयं हाजिर भएर बहसमा उत्रिनुपर्ने सुझाव कानुनविद्हरूले दिएका छन् । यसो गर्दा यो मुद्दा ३ महिनामै टुंगिन सक्छ ।

‘वकिलहरूबाट हामी तपाईंको पक्षमा लड्न तयार छौं भनेर साझा कुरा आएको छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, छोरी सवितासमेत उपस्थित थिइन् । नगएका सतिशकृष्ण खरेलहरूले पनि हामी कारणवश आउन सकेनौं तर पक्षमा निर्धक्क बहस गर्छौं भनेका छन्,’ स्रोतले भन्यो, ‘सर्वदलीयजस्तो छलफल भएको थियो ।

म्याद तामेल हुनुभन्दा अगाडि नै हाजिर हुने र बहस गरी छिटो मुद्दालाई टुंग्याउनेतिर जाने सल्लाह भएको छ ।’ यसको लागि नेपाललाई एक हप्ताभित्रै हाजिर हुन सुझाइएको छ । नेपालले पनि आफूले कुनै गलत नगरेकोले मुद्दा फेस गरेरै जाने प्रण गरेको वकिलहरू बताउँछन् । अहिले नेपालमाथि अख्तियारले मुद्दा लगाउँदा केही–केहीले खुच्चिङ भने पनि यसमा ओलीको पनि चासो छ । ‘भोलि मन्त्रिपरिषद््को निर्णयमा ओलीलाई तान्न सकिने आधारसमेत छन् । सर्वोच्चले गिरिबन्धुमा छानबिन गर्नु भनेको छ । प्रचण्डको पनि चासो हुने नै भयो’ स्रोतले भन्यो । प्रधानमन्त्रीहरूले आफ्नो शासनकालमा एक होइन सयौं नीतिगत निर्णय गरेका हुन्छन् । यस्तोमा अरुका पालामा झन् बढी नीतिगत निर्णय भएका छन् । अख्तियारले मुद्दा दायर गरे पनि यो प्रकरणमा नेपालले पैसा खाएको दाबी गरेको छैन । नीतिगत निर्णयमा मात्रै प्रश्न उठाइएको छ । 

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा जग्गा किन्न दिने नीतिगत निर्णय भएको थियो । काभ्रे जिल्लाको साँगामा हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा किन्न दिएको र शालिकराम सिंहहरूले हाउजिङ कम्पनीलाई बढी मूल्यमा बेचेको आरोप अख्तियारको छ । यसैले नीतिगत मुद्दामा अख्तियार विशेष अदालत गएको हो । 

उनी त ज्युँदा छन् । बिडम्वना, त्रिशुलीमा हेलिएर लाशसमेत अझै नभेटिएका पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे र मृत्यु भइसकेका तत्कालीन भूमिसुधारमन्त्री डम्बरकृष्ण श्रेष्ठको परिवारलाई पनि अख्तियारले मुद्दा बोकाएको छ । पूर्वप्रधानमन्त्री नेपाल, निधन भइसकेका डम्बर श्रेष्ठका छोरा सन्तोष, मुख्यसचिव घिमिरेकी श्रीमती कमलालाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ९३ जनालाई प्रतिवादी बनाउँदा १८ करोड ५८ लाख ५० हजार रूपैयाँ बिगो मागदावी अख्तियारले गरेको छ ।
 

टिप्पणीहरू