माधवको मुद्दाबारे प्रधानमन्त्री नै छक्क

माधवको मुद्दाबारे प्रधानमन्त्री नै छक्क

प्रधानमन्त्री केपी ओलीलाई भेटेर एक काङ्ग्रेसी सांसदले सोधे, ‘माधव नेपाललाई मुद्दा चलाएको किन? के यसले राम्रो सन्देश प्रवाह गरेको छ भन्ने लाग्छ तपाईलाई ?’ ती सांसदका अनुसार जवाफमा ओलीले भन्नुभयो, ‘अख्तियारले खोई किन त्यसो गरेको मलाई थाहा छैन । उनलाई मुद्दै चलाइहाल्नुपर्ने अवस्था त थिएन । फेरि मुद्दा पनि कस्ता कस्ता हुन् ? त्यसो त पूर्व गृहसचिव टीकादत्त निरौला लोकसेवा आयोगको अध्यक्ष बन्न अख्तियारले हालेको मुद्दा जितेर आएका थिए ।’ खास कुराचाहिँ के हो भन्ने अर्को प्रश्नमा ओलीको उल्लेखित जवाफ आएको हो । 

गृहमन्त्रीको राजीनामा माग्दै आन्दोलन गरिरहेका प्रतिपक्षी दलहरूमध्ये माओवादीले सत्तासँग तालमेल मिलाएपछि र राप्रपाले सशक्त ढंगले आफूलाई प्रस्तुत गर्न नसकेपछि एक्लिएको रास्वपा संसद अवरुद्ध गर्ने आन्दोलनमा असहाय बनेको छ । कांग्रेसका एक शीर्ष नेताले हाल जारी रास्वपाको आन्दोलनबारे चर्चा गर्दै भनेका छन्,’ बिचरा सांसदहरू थाकिसके, गलिसके, लखतरान भइसके । राजीनामा दे, राजीनामा दे भन्दाभन्दै बीचबीचमा भोक लाग्यो, खाजा खान जाउँ भन्नुपर्ने अवस्थामा पुगिसके ।’ 

माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र आफूलाई सहयोग गरिरहेका अग्नि सापकोटा अप्ठ्यारोमा नपरुन् भनेर सरकारसँग सम्झौता गरेको बुझाइमा एमाले र कांग्रेसका सांसदहरू देखिएका छन् । एक सांसदले भने, ‘उता जनार्दनलाई आक्रमण गरिरहेका छन् प्रचण्ड । जनार्दनकै गाउँमा गएर कस्ता कस्ताले छोडेर गए । अरु गएर पनि केही हुँदैन भनी नै सके । यता अग्नि अप्ठ्यारोमा परे भने एक्लै हुन्छन् । त्यसैले हात मिलाउन आएका हुन् ।’ त्यसो त माओवादी रास्वपासँग मिलेर आन्दोलन गर्ने काम गल्ती भएछ भन्ने निष्कर्षमा पनि पुगेको बुझाइ धेरैको छ ।

अपरिपक्व रहेछन्, साथ दिएर काम छैन भन्ने प्रचण्डको बुझाइ हो भन्ने पनि धेरैको भनाइ छ । समाचार स्रोत भन्छ, ‘रास्वपामा नेताहरूले गृहमन्त्रीको राजीनामा माग नगर्ने शर्तमा रवि लामिछानेलाई काठमाडौँको चारखाल जेलमा सार्ने माग राखे । गृहमन्त्रीको राजीनामालाई एउटा नेताको जेल सराइमा सम्झौता गर्ने तहमा उनीहरू झर्छन् भने त्यस्ता दलसँग कसले के विश्वासमा सहकार्य र संयुक्त आन्दोलन गर्ने ?’ यही देखेर नै हो । चित्रबहादुर केसीले भनेका, ‘यी कान्छाहरू नराम्ररी फसे ।’

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पारिरहेका दलहरूलाई मनाउन कांग्रेसबाट गगन थापा, रामहरि खतिवडा, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की खटिएका थिए । माओवादी पार्टीका तर्फबाट कहिले वर्षमान पुन त कहिले शक्ति बस्नेत बैठकमा सहभागी हुन्थे । पछिपछि स्वयं प्रचण्ड आफै छलफलमा बस्न थाले ।

एमालेबाट योगेश भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्ले, सन्तोष परियार बसेर छलफल गरेका थिए । शुक्रबार ३ बजेसम्ममा हामी मिलेर आउँछौँ भन्नेहरूले कुनै निर्णय नदिएपछि प्रचण्डकै सक्रियतामा सत्ता पक्ष र माओवादी सचेतक हितराज पाण्डेले हस्ताक्षर गरी सम्झौता भएको थियो ।

 
 

टिप्पणीहरू