एबीसी चाउचाउ बन्द हुँदा मजदुरको बिचल्ली

एबीसी चाउचाउ बन्द हुँदा मजदुरको बिचल्ली

स्मार्ट फुड एण्ड स्न्याक्स प्रालिको उत्पादन एबीसी चाउचाउ बन्द भएको छ । चितवनको रत्ननगर–१४ मा रहेको कारखाना बन्द हालतमा पुग्दा चाउचाउ उत्पादन हुन छोडेको हो ।

पछिल्लो २–३ महिनादेखि कामकाज ठप्प हुँदा यहाँ कार्यरत करिब १०० जना मजदुर र कर्मचारीहरु बिचल्ली अवस्थामा छन् । विगत तीन महिनादेखि तलबसमेत नपाएको उनीहरुले बताएका छन् । कारखानामा जाने र हाजिर लगाउने मात्रै भइरहेको छ ।

पहिले यहाँ यम यम चाउचाउको उत्पादन थियो । नयाँ समूहले लिएर एबीसी ब्राण्डको चाउचाउ उत्पादन थाल्दा पनि करिब तीन–चारसय कामदार थिए । कारखाना २४सै घन्टा चल्थ्यो । यसको ५–६ वर्षपछि १६ घन्टामा झर्यो । त्यसपछि आठ घन्टामात्रै चल्दै गर्दा यसै वर्ष वैशाखको तेस्रो हप्तादेखि उद्योग पूर्ण रुपमा बन्द हुन पुगेको २०६७ देखि नै कार्यरत सरस्वती श्रेष्ठले बताइन् । 

बैंकको ऋण तिर्न नसकेर कारखाना बन्द हुन पुगेको बुझिएको छ । कच्चा पदार्थ ल्याउने ठाउँमा पनि लाखौंलाख बाँकी रहेको स्थानीयबाट सुन्नमा आएको छ । अहिले यो चाउचाउ कम्पनीलाई अर्कै साहुले लिन लागेको समेत चर्चा छ । 

रोकिएको तलब देखि लिएर कम्पनीबाट नियमानुसार पाउनुपर्ने उपदान लगायतका सम्पूर्ण सेवासुविधाको पर्खाइमा मजदूर, कर्मचारी छन् । अर्कै साहुले लिएपनि अहिलेकै कामदार राखेर कारखाना चलाइनेमा पनि उनीहरु विश्वस्त छन् । 

बताइएअनुसार तीन वर्षअघि स्थायी कर्मचारीसमेत १२७ जना कामदार निकालिएको थियो । मासिक असुली गर्ने राजनीतिक पहुँचवाला डनहरुको कारखानामा दबदबा रहेको र अलि बोल्न सक्ने कर्मचारीलाई पनि कम्पनी प्रशासनले पकेटमा राख्ने गरेका कारण यहाँ मजदूर युनियनसमेत नभएको स्थानीय बताउँछन् ।

यो हरि न्यौपाने, बद्री मैनालीहरुको पार्टनरसीपमा चलिरहेको कम्पनी हो । कम्पनी ह्यान्डलिङ गर्ने एकजना साहुका आफन्त पनि बित्न पुगे । त्यसपछि कारखाना पनि बन्द हुन पुगेको अवस्था बुझिन्छ । 

कारखाना बन्दबारे जिज्ञासा राख्दा लगानीकर्ता बद्रीले भने, ‘मेसिनले काम नगरेर हो, अब अर्काे मेसिन आउँछ ।’ त्यसलाई १५-१६ करोड पर्ने जनाएका उनले मजदूर, कर्मचारीहरुको सेवा, सुविधाको विषयमा नेपाल सरकारको नियमानुसार हुने बताए । 

‘कारखाना अरुलाई बेचेको वा बेच्न लागेको भन्ने चर्चा छ नि ?’ भन्दा यसबारे उनले ‘पछाडि कुरा गरौं’ भने । म्यानेजर विकास अमात्यले आफूले यो कम्पनी छोडिसकेको बताए । 

साहुहरुकै लापरबाहीले यो कारखाना बन्द हुन पुगेको वडाअध्यक्षको भनाइ छ । रत्ननगर–१४ का वडाअध्यक्ष होमनाथ रानाभाट भन्छन्, ‘लगभग पाँच करोड रुपैयाँ मजदूरहरुले पाउनुपर्ने छ । पहिला मजदूरहरुलाई त्यो भुक्तानी दिनुपर्यो । त्यसपछि मात्रै लिलाम गर्ने हो वा कसैलाई बेच्ने हो, अरु प्रक्रियामा जान्छ’, उनले भने । – अजय गोर्खाली

टिप्पणीहरू