भूपूडिआइजीको फिटनेश विदेशमा

भूपूडिआइजीको फिटनेश विदेशमा

नेपाल प्रहरीको भूपूडिआइजीका छोराले चलाइरहेको एक फिटनेश सेन्टरमा गैरकानुनी रुपमा विदेशी नागरिक राखिएको रहस्य खुलेको छ । ‘रेज फिटनेश’ मा विदेशी नागरिकलाई काममा लगाइएको पाइएको हो । नेपाली सिक्न आएका दुई विदेशी नागरिकलाई सो सेन्टरले ‘ओभर स्टे’ गराएर आफ्ना ग्राहकलाई प्रशिक्षण दिन बाध्य पारेको बताइन्छ ।

डेढ दशकअगाडि खुलेको सो सेन्टरले बक्सिङ, किक बक्सिङ, सेल्फ डिफेन्स, पर्सनल ट्रेनिङ, मिक्स्ड मार्सल आर्टस् (एमएमए), फिटनेश क्लास दिँदै आएको छ । काठमाडौंको नक्साल र ललितपुरको थसिखेलमा सेन्टरको कार्यालय  छ । सेन्टर सञ्चालक सन्देश पालुङ्ग हुन् । उनका दाजु असिम र युवराज दिपेन्द्र शाह बूढानीलकण्ठ स्कूलमा ‘क्लासमेट’ थिए।

सन्देश सञ्चालक भएपनि सेन्टरको हर्ताकर्ता मेघ चेम्जोङ भएको स्रोतले जनायो । सेन्टरका म्यानेजर उनी भूपूडिआइजी हानसिंह चेम्जोङ्गका छोरा हुन् । ‘नेपाली सिक्न आएका उनीहरूलाई त्यहाँ लुकाएर राखिएको छ । उनीहरूसँग श्रम स्वीकृति छैन । गैरकानुनी रुपमा काम लगाएर सेन्टरले सरकारलाई तिर्नुपर्ने राजश्व छली गर्दै आएको छ । पछिल्ला केही महिनायता उनीहरूले नै प्रशिक्षण दिइरहेका छन्’, स्रोतले भन्यो ।  

कम्बोडियन नागरिक रिचर्ड अलेक्जेण्डरले नक्सालमा (एमएमए)  प्रशिक्षण दिँदै आएका छन् । अर्का एक जना भने हाल दुबईमा रहेको बुझिएको छ । उनी फाइटिङ प्रतियोगिताका लागि त्यता गएका हुन् । विदेशी नागरिकले नेपालमा काम गर्नको लागि अनिवार्य गृह मन्त्रालयबाट कार्य सहमति लिनुपर्ने व्यवस्था छ । 

त्यसैगरी, विदेशी नागरिकहरू भिसा अवधि नाघेर नेपालमा बस्न पाउँदैनन् । भिसा अवधि सकिसकेपछि नविकरण नगराई बसिरहेको पाइएमा निष्कासित गर्ने र निश्चित अवधिसम्म नेपाल प्रवेशमा रोक लगाउने कानुनी व्यवस्था छ । अध्यागमन कार्यविधि, २०६५ को दफा ६.३ मा निष्कासनसम्बन्धी व्यवस्था छ । 

त्यसमा अध्यागमन ऐन, नियम वा प्रचलित कानुनविपरीत कार्य गरेबापत विदेशी नागरिकलाई हुने सजायँबारे उल्लेख छ । जसमा एक वर्षभन्दा कम अवधि बिनाभिसा ‘ओभर स्टे’ गरी बसेका विदेशी नागरिकलाई सो भिसा वर्षमा आउन नपाउने गरी नेपालबाट प्रस्थान गराउने भनिएको छ । 

विदेशीलाई गैरकानुनी रुपमा काममा लगाइएको विषयमा सोध्न खोज्दा म्यानेजर चेम्जोङसँग सम्पर्क हुन सकेन । सेन्टरकी एक कर्मचारीले उनीहरू लामो समयदेखि त्यहीँ काम गरिरहेको जानकारी दिइन् । भनिन्, ‘ओभर स्टे गरेर काम गरिरहेको त थाहा भएन । तर, उहाँहरू लामो समयदेखि यहीँ हुनुहुन्छ । एक जनाचाँहि अहिले एउटा प्रतियोगिताको लागि दुबई जानुभएको छ ।’

अध्यागमन विभागका सूचना अधिकारी टीकाराम ढकालले ‘ओभर स्टे’ गराएर विदेशी नागरिकलाई काममा लगाउनु कानुनविपरीत भएको बताए । र सोबारे बुझ्ने जानकारी दिए । ‘यो विषयमा विभागलाई जानकारी थिएन । के रहेछ, हामी बुझ्छौं’, उनले भने ।

 
 

टिप्पणीहरू