एमाले छाडेका सल्लाहकारलाई माओवादीको अबिर

एमाले छाडेका सल्लाहकारलाई माओवादीको अबिर

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य भरतप्रसाद साह माओवादीमा लागेका छन् ।

एमाले छोडेर उनी आज माओवादी केन्द्रमा समाहित भएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र रातो टीका लगाएर साहलाई पार्टीमा भित्र्याए ।

माओवादीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाएको छ । उपमहासचिव मातृकाप्रसाद यादवले साहलाई आफ्नो पार्टीमा स्वागत गर्दै सहकार्यको लागि आतुर रहेको जनाएका छन् । 

बाराको कलैया उपमहानगरपालिका–५ साह लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय छन् । अखिल (पाँचौं) बाट राजनीति शुरु गरेका उनी ०३५ सालमा बारा जिल्ला अध्यक्ष भएका थिए । त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय भए ।

२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बाराको अध्यक्षका रूपमा नेतृत्व सम्हालेका साह २०६१ सालमा नेपाल शिक्षक युनियनको जिल्ला अध्यक्ष भए । र, २०७१ सालतिर केन्द्रीय अध्यक्ष बने । शिक्षा क्षेत्रमा परिचित नाम उनी राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साह आफ्नो पार्टीमा आएको माओवादी केन्द्रले जनाएको छ ।

टिप्पणीहरू