श्रद्धाञ्जलीका लागि पूर्वमन्त्री शास्त्रीको शव सानेपामा राखिने

नेपाली काँग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको पार्थिव शरीर केन्द्रीय कार्यालयमा राख्ने भएको छ ।
आज बिहान उपचारका क्रममा बितेका उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भोलि दुई घण्टा ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राख्न लागिएको हो ।
बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा उनको श्रद्धाञ्जली कार्यक्रम रहेको काँग्रेसले जनाएको छ । पूर्व उद्योगमन्त्री एवं काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्यसमेत रहेका ९० वर्षीय शास्त्रीको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको बताएको छ । शास्त्रीले काँग्रेसको राजनीतिमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत शीर्ष नेतासँग निकट रहेर काम गरेका थिए ।
प्रजातन्त्र पुनःस्थापना संघर्षका क्रममा भारतको बनारस र गोरखपुरमा लामो समय प्रवासी जीवन बिताएका उनी २०४८ र ०५१ को आम निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
पालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका क्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँद्वारा लिखित ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ । नेपाल सरकारद्वारा स्थापित “बी.पी. कोइराला राष्ट्रिय पुरस्कार २०७९” (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उहाँ सम्मानित हुनुहुन्थ्यो । स्वर्गीय शास्त्री ‘सहिद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो,’ काँग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू