‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता

रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.केशव श्रेष्ठ ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका छन् ।
आफ्नो फेसबुकमा ‘सबै जनालाई अलबिदा’ लेखेर उनी सम्पर्कविहिन भएका हुन् । हाल उनको मोबाइल पनि बन्द छ । दुई वर्षभन्दा लामो समयदेखि अस्पतालमा कार्यरत उनले डेढ वर्षदेखि निमित्त मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी सम्हालिरहेका थिए ।
अस्पताललाई उत्कृष्ट बनाउनका लागि दिनरात मेहिनेत गरिरहँदा ‘कामचोर’ कर्मचारीहरु आफ्नोविरुद्ध लागेको उनको भनाइ छ । डा.गगन अधिकारी सरुवा भएर गएपछि पनि अस्पतालका डाक्टर र नर्सलाई आफूविरुद्ध लगाइरहेको श्रेष्ठको आरोप छ ।
‘करिब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्ट भएर चलाउने मौका पाए । दिन–रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे । म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरुको भागमभाग हुन थाल्यो’,उनले लेखेका छन्,‘डा.गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गएपनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरोविरुद्ध लगाई नै राख्यो, तर म डटेर नै काम गरे । एउटा व्यवस्थित अस्पताल बनाएपनि, हरेक कुरालाई सिस्टममा लिएर आए ।’
वडा नम्बर–८ का केदार कार्कीले मागेजति पैसा नदिँदा र आफन्तलाई जागिर नलगाउँदा आफूलाई धम्क्याएको श्रेष्ठले बताएका छन् । उनका अनुसार कार्कीले कारबाहीमा परेका तीन जना पुरुष डाक्टर र दुई जना महिला डाक्टरलाई प्रयोग गरेर आफूलाई अस्पताल छोड्न बाध्य बनाएका हुन् ।
अगाडि थपेका छन्,‘केदारले भनेकोबमोजिम अस्पताल चलाउनुपर्ने, उसले खाएको होटलको बिल तिर्नुपर्ने, विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनुपर्ने । आफ्नो कार्यकक्षमा नबस्ने, आफ्नो बाउको राजनीतिक पावरको दम्भ देखाउने, बाहिर ल्याबसँग सिडी–आरपिडीको कमिशनको डिल गर्ने, पटकटपटक भन्दापनि कार्यकक्षमा नबस्ने गरेको पाएपछि लिखित स्पष्टीकरण सोधे । त्यही स्पष्टीकरण सोधिएकाहरुलाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साँधेर मेरोविरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छाड्न बाध्य बनाइयो ।’
आफूमाथि लगाइएको झुठ्ठो आरोपको विषयमा स्पष्टीकरण दिन खोज्दा स्वास्थ्यमन्त्री र सचिवले सुनुवाइ नगरेको उनको दुःखेसो छ । उनका अनुसार शरीरमा १६ वटा टाँका, दुई वर्षकी छोरी र श्रीमतीलाई लिएर राति ९ बजे रामेछापबाट काठमाडौं आउन बाध्य बनाइएको र हाजिर गर्न नदिई हेटौंडामा अलपत्र पारिएको हो । मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले आफ्नो गाडी खोसेको श्रेष्ठको आरोप छ ।
कतैबाट साथ नपाउँदा विक्षिप्त भएको उल्लेख गर्दै उनले आफूलाई मर्न बाध्य बनाउनेहरुलाई कारबाही गर्न माग गरेका छन् । ‘डा.नरेन्द्र झा, रेवती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाँचे भने न्याय पाउँछुजस्तो लागेन । असत्यको जीत भएको पनि मुर्कदर्शक भएर बस्न पनि मन लागेन । मैले बाँचेर यहीँ सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कारबाही गर्ने, का.स.मूमा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिश गर्ने थिए होलान । म मानसिक रुपमा कमजोर हुन पुगे, अहिले विक्षिप्त हुन पुगेको छु । वान म्यान आर्मी भनेर चिनिएको थिए, अहिले हार खाए’,उनले भनेका छन् ।
त्यसैगरी, उनले आफ्नी आमा, श्रीमती, छोरी, भाइबुहारी, बहिनी र भान्जीसँग माफी मागेका छन् । अस्पतालका एक कर्मचारीका अनुसार उनी दुई–तीन दिनअघि सरुवा भएर काठमाडौं गएका हुन् ।
टिप्पणीहरू