सदन खुलाउन तीनदल सहमत, रास्वपा अनिर्णित

सदन खुलाउन तीनदल सहमत, रास्वपा अनिर्णित

दुई सातादेखि जारी सदनको गत्यावरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र तयार भएको छ । सरकारको नेतृत्व गरिरहेको एमाले र सत्तारुढ कांग्रेससँग दुई बुँदे सहमति भएसँगै माओवादी सदन खोल्न राजी भएको हो । 

संसद भवनमा झण्डै डेढ घण्टा चलेको तीन दलको छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गर्न सहमत भएको जानकारी दिए । अर्को विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहमतिमा आइसकेको छैन । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘रास्वपासँग हाम्रो मूलभूत विषयमा केही फरक छैन, तर उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नो ढंगले जानुहुन्छ । तर, हाम्रोबीचमा कुनै विमति छैन र आरोप–प्रत्यारोप पनि हुँदैन ।’

बताइएअनुसार पाँच बुँदे प्रस्तावको अडानबाट पछि नहटेको रास्वपालाई फकाउन सत्तापक्षका नेताहरु प्रयासरत छन् । माओवादीसँगको सहमतिमा रास्वपालाई पनि हस्ताक्षर गर्न ठाउँ राखिने बताइएको छ ।

यस्तो छ दुई बुँदे सहमति 

१. भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।

टिप्पणीहरू