विश्वकप लिग-२ मा नेदरल्यान्ड्सको कीर्तिमानी जित

काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग २ अन्तर्गत भएको त्रिकोणात्मक सिरिजमा कीर्तिमानी जित निकालेको छ । बिहीबार राति सम्पन्न अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डमाथि ४ विकेटको कीर्तिमानी जित निकाल्दै नेदरल्यान्ड्सले सिरिजमा पहिलो जित हात पारेको हो ।
जितको लागि ३ सय ७० रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेदरल्यान्ड्सले एकदिवसीय क्रिकेटमा आफ्नो इतिहासको सबैभन्दा ठुलो योगफल सफलताका साथ चेज गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन ओपनर म्याक्स ओडाउडले १३० बलमा १३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक १५८ रनको अविजित इनिङ खेले । यससँगै उनी नेदरल्यान्ड्सबाट एकदिवसीयको एकै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । उनले वेस्ली ब्यारेसीले २०१४ मा केन्याविरुद्ध बनाएको १ सय ३७ रनको कीर्तिमान तोडेका हुन् । यस्तै नेदरल्यान्ड्सका माइकल लेभिटले ४४, कप्तान स्कट एडवार्ड्सले ३२, वेस्ली ब्यारेसी १५, तेजा निणामानिरु ५१ र नोहा क्रसले ५० रनको योगदान गरे ।
स्कटल्यान्डका शफ्यान शरिफले ३, म्याकेन्जी जोन्स र मार्क वाटले १-१ विकेट लिए ।
यसअघि डुन्डेस्थित फोर्टहिलमा भएको खेलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६९ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले १५० बलमा १४ चौका र ११ छक्कासहित १ सय ९१ रनको कीर्तिमानी इनिङ खेले । यस्तै चार्ली टियर २३, ब्रेन्डन म्याकमुलेन २१, लियाम १४, म्याथ्यु क्रस ५९ र माइकल लिस्कले २९ रन बनाए ।
माइकल लेभिट र अर्यान दत्तले २-२ तथा भिभियन किंग्मा र रोलेफ भान डर मर्वेले १-१ विकेट लिए ।
जितसँगै नेदरल्यान्ड्स २४ खेलबाट २८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने चार खेल कम खेलेको स्कटल्याण्ड २४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।
टिप्पणीहरू