पुल बेच्दै, मोबाइलमा पैसा तान्दै

पुल बेच्दै, मोबाइलमा पैसा तान्दै

सरकारी सम्पत्ति रक्षा गर्नुपर्ने दायित्व बोकेका काभ्रेका दुई वडाध्यक्ष मिलेर रोशी खोलामा बगेको फलामको पुलका पार्टपुर्जा कवाडीमा बिक्री गरेपछि खियाको सराप लागेको चर्चा चल्न थालेको छ । जिल्ला आएको एक महिना पनि नपुग्दै एसपी कोमल शाहले अराजक समूहलाई नियन्त्रणमा लिने क्रममा वडाध्यक्ष सोमबार पक्राउ परेका छन् । 

माओवादीबाट निर्वाचित वडाध्यक्ष अशोक गौतम पटक–पटक विवादमा तानिने गर्थे । कहिले राजधानीमा वडाबासी नागरिकलाई ललाई फकाई पुर्‍याएको त कहिले आफ्नै पार्टीका कार्यकर्तासँग रकम लिएर काम नगरिदिएको अनेक विषय छन् । केही महिनाअघि उनले फलामको झोलुंगे पुल बिक्री गरेर राजश्व हिनामिना गरेको भन्दै परेको उजुरी पनि ढिसमिस भएको थियो ।

नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षले पुलको सामान विना प्रतिस्पर्धा कवाडीलाई बिक्री गरेका हुन् । बिक्री गरेर कवाडीमा लैजाँदै गरेका दुई ट्रक सामान कटुञ्जे प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । २०८१ असोज १०–१२ मा परेको अविरल वर्षातका कारण पक्की पुल रोशी खोलाले बगाएको थियो । उक्त पुल बगाएपछि खोलामा डाईभर्सन गरी अस्थायी सडक सञ्चालन गरिएको छ । पुल नबन्दा र सामान छरपस्ट हुँदा यात्रुहरूले सास्ति ब्यहोरिरहेका छन् । अनुमतिबिना सरकारी सम्पत्ति बिक्री गरेको अभियोगमा प्रहरीले रोशी खोलाबाट मंगलबार राति दुई ट्रक नियन्त्रणमा लिएको हो । 

कटुञ्जे प्रहरी चौकीमा सई मनु सापकोटा इञ्चार्ज छिन् । उनकै नेतृत्वमा खटिएको टोलीले रोशी पुलका सामग्री कवाडीमा बिक्री गर्न लागेको सूचनाका आधारमा अनुसन्धान गर्दा दुईवटा ट्रक नियन्त्रणमा आएको हो । प्रहरीले बिक्री अनुमति नभएको फेला पारेपछि कवाडी ब्यवसायीले वडाध्यक्षहरूले पत्र दिएको बताएका थिए । रोशी गाउँपालिका–७ का अध्यक्ष गौतम र नमोबुद्धका टीकाबहादुर केसीले वडा कार्यालयको सिफारिस दिएका थिए । कवाडीलाई बिक्री गरेको रकम आफैँ लिने योजना थियो । अन्य तीन ट्रक कटिङ्ग गरिएको अवस्थामा खोलामा तयारी राखिएको छ । उनै वडाध्यक्ष अशोक गौतमले अर्काे पुलको सामान कवाडीमा बिक्री गरी क्यु आरमार्फत मोबाइलमा रकम लिएका थिए । उक्त रकम पनि सरकारी कोषमा जम्मा गरिएको छैन । खुला लिलामी गर्नुपर्नेमा त्यसो पनि गरिएन । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू