यस्ताे बेला सेनाले कसरी गरोस् जनसेवा ?

प्राकृतिक विपत्ति हुन् कि, भिभिआइपीका नाममा हुने उडान र आपतकालीन सहायता नै किन नहुन्, नेपाली सेनाको हेलिकप्टर पहिलो रोजाइमा पर्छन् । नेतालाई सेनाका हेलिकप्टरमै सयर गर्न सुरक्षित लाग्छ । छोटो दूरीमासमेत नेतालाई सेनाकै हेलिकप्टर नचढी हुँदैन । तर लामो समयदेखि सेनाले हेलिकोप्टरको अभाव झेलिरहँदा भरपर्दो समन्वय गरिदिने भने कोही देखिएनन् ।
वर्षामा उत्पात हुने संकेत आइरहेका बेला नेपाली सेना राहत र उद्दारमा यसपटक पनि चुक्ने खतरा छ । ठूलो हेलिकोप्टर ग्राउण्डेड र दुईवटा एनए ५६ र ५७ भारतमा गएर फसेपछि नेपाली सेनाले फेरि पनि ठूलै अभाव झेल्नुपर्नेछ । विपतको अग्रमोर्चामा खटिनु र जतिखेर पनि अलर्टमा बस्नुपर्ने सेना हेलिकप्टरविहीन हुँदा उत्साहको मुड नभएको उच्च स्रोत बताउँछ ।
‘ग्राउण्डेडबाहेक दुईवटा हेलिकप्टर भारतमा छन् । पैसा पनि फस्यो, समात्न उतै बस्यो,’ सैनिक स्रोत भन्छ, ‘४८ करोड लिएर गयो, कसैले कुरा उठाउँदैन । दोषीलाई कारवाही गर्ने कुरै छैन । किनकि सबैजना फस्ने स्थिति छ ।’ प्रभुरामकै पालामा आरजुसमेत लागेर भुषण–प्रशान्त राणाजस्ता बिचौलियामार्फत् भारतमा दुईवटा हेलिकप्टर फसेपछि तेस्रो मर्मतका लागि टेण्डर निकाले पनि लान कोही अग्रसर हुने स्थिति नै नभएको भन्दै सैनिक स्रोतले चिन्ता जनायो । ‘तेस्रो हेलिकोप्टरको टेण्डर निकालेको छ । तर त्यसमा पनि रसियासँग डलर कारोवार गर्न सकिने स्थिति छैन,’ स्रोतले बतायो ।
अमेरिकामा ट्रम्पको पुनरोदयपछि सबै हायलकायल छन् । ‘अमेरिकाले इरानबाट तेल किन्ने सबैलाई कारवाही गर्छु भन्न थालिसक्यो । रसियासँग कारोबार गरेको भनेर भारतका १३ देखि १५ वटा कम्पनी कारवाहीमा परेका छन््,’ सैनिक स्रोतको भनाइ छ, ‘पहिले गरेका कारोबार कोट्याएर अमेरिकाले खोतलीखोतली कारवाही गरिरहेको छ । त्यसकारण अहिले केही हुनेवाला छैन ।’
अप्ठ्यारो स्थितिमा सरकारले प्रभावकारी समन्वय गर्न नसक्दा पनि उत्तिकै झमेला ब्यहोर्न सैनिक अधिकारीहरू बाध्य छन् । भएकालाई कमिशनको लोभमा बिगार्ने र सडाउने तर नयाँ ल्याउने तयारी छैन । जसले गर्दा ओली सरकारको भविष्यलाई लिएर सेनाभित्रसमेत कुराकानी बढी नै हुन थालेको छ ।
‘अमेरिकाले दिन्छु भनेका हेलिकोप्टर र जहाज पनि दिएन । ट्रम्प आएपछि त सबै क्यान्सिल भयो । एमसिसी नै रद्द गरिसक्यो, हेलिकोप्टर त झन् के देला र ?’ जंगी अड्डास्थित स्रोत भन्छ । डढेलो निभाउने संयन्त्रसमेत सेनासँग छैन । ड्रोन, फायरफाइटर पनि छैन । दुई तीन वर्षअगाडि ठूलो डढेलो लाग्दा फायर फाइटर किन्ने कुरा आएको थियो,’ स्रोत भन्छ, ‘कुरा मात्रै भयंकर भयो । तर त्यत्तिकै सेलायो ।’
खासगरी रक्षा मन्त्रालयले पहल नगर्दा सेना आजित भएको स्रोत बताउँछ । बरु कसरी हुन्छ सेनासँग पैसा झार्ने र दबाबमा राख्ने नीतिमा रक्षामन्त्री देखिएको भन्दै आलोचना ज्यादा हुन थालेको छ । ‘मन्त्री मानवीर राई शुरुमा फाइल आयो कि तीन चार दिन घर्रामा राखेर बस्थे । अहिले तह लागे रे भन्ने सुनेका छौं ।’ सोही स्रोतको कथन छ ।
प्रधानमन्त्री ओलीले पहिलोपटक जुनियर नेतालाई रक्षा मन्त्री बनाएका छन् । २१ मध्ये उनको वरियता १९ नम्बरमा छ । यसैले सेनालेसमेत उनलाई टेर्ने स्थिति छैन । सेनासँग राजनीतिक नेतृत्वले ट्युनिङ मिलाएर काम नगर्दा बिचौलिया भने धेरै नै हावी हुने गरेका छन् । हतियार किन्ने कनेक्सनमा समेत दलका बिचौलियाको रजगज छ ।
‘नयाँ हतियार र नाइटभिजन किन्ने कुरा पनि अघि बढ्यो भयो भन्ने सुनेका थियौं । तर प्रगति देखिँदैन । शम्भु भारतीले भतिजोको नाममा कम्पनी खोलेर काम गर्छन्, मिलाएर खान्छन्’ स्रोत भन्छ, ‘लोकेन्द्र कार्की (कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाइ) दुबई गएर होटल चलाई बसेका छन् । नेपाल आर्मी र सञ्चार मन्त्रालयको बजेट मिलाएर खान्छन् ।’
टिप्पणीहरू